Comments Add Comment

ललितपुर महानगरले चार मिटरभन्दा सानो सडक कालोपत्र नगर्ने

उपभोक्ता समिति परिचालनमा कडा नीति अख्तियार


३२ असार, ललितपुर । ललितपुर महानगरपालिकाले अब चार मिटरभन्दा सानो सडक कालोपत्र नगर्ने भएको छ ।

साथै पूर्वाधार निर्माणमा संलग्न उपभोक्ता समिति परिचालनमा कडा नीति लिएको छ । समयमा काम नगरे उपभोक्ता समितिहरु नै खारेज गर्ने महानगरले बताएको छ ।

महानगरपालिकाले सोमबार ल्याएको आगामी वर्षको बजेटमा४ मिटरभन्दा फराकिला सडकलाई मात्र पिच गर्ने नीति लिइएको छ । ४ मिटरभन्दा कम चौडाइ सडकमा ब्लक वा ढुंगा छापिनेछ भने कंक्रिट ढलान सडक बनाइने छैन ।

यसले शहरमा भूमिगत पानीलाई रिचार्जमा महत्वपूर्ण भूमिका खेल्ने महानगरको विश्वास छ ।

पछिल्लो समय सबै सडकलाई पिच र कंक्रिट ढलान गर्दा आकाशबाट परेको पानी जमिनमुनि जान पाएको छैन । त्यसका कारण काठमाडौंको भूगर्भमा पानीको सतह घट्दै गएर हिँउदयाममा निकै संकट पर्न थालेको छ ।

नगरको घनावस्ती, सम्पदा क्षेत्र र पर्यटकीय क्षेत्रमा पनि ईटा, ढुंगा वा ब्लक विछ्याइनेछ ।

उपभोक्ता समितिप्रति कडा नीति

स्थानीय उपभोक्ता समितिहरुले महानगरसँग मिलेर सडक, ढल, पानी निर्माण गर्दै आएका छन् ।

तर, पछिल्लो समय बजेट पारेपछि समयमै काम नगर्ने लगायतका समस्या देखिएको छ । ललितपुर महानगरले बजेटमार्फत त्यसलाई सम्बोधनको प्रयास गरेको छ ।

बजेटमा आर्थिक वर्ष २०७३/७४सम्म सम्झौता भएर काम सञ्चालन नगर्ने उपभोक्ता समिति खारेज भएको घोषणा गरिएको छ । त्यसपछि सम्झौता भएका आयोजनाहरुको हकमा आगामी आर्थिक वर्षको दोस्रो चौमासिकसम्म म्याद थपिनेछ । यो अवधिमा काम नगर्ने उपभोक्ता समिति खारेज हुनेछन् ।

मेयर चिरिबाबु महर्जनका अनुसार अब जुन आर्थिक वर्षका लागि उपभोक्ता समितिले कार्यक्रम सम्झौता गर्छन्, त्यही वर्षमा सम्पन्न गर्नुपर्ने नीति लिइएको छ । काम सम्पन्न नभए अर्को आर्थिक वर्षमा दायित्व नसार्ने नीति लिइएको छ ।

ललितपुर महानगरपालिकाले योजना स्वीकृति भएपछि कार्यस्थलको प्रि-फोटो, नक्सा, कार्यातालिका संकलन गरेर मात्रै उपभोक्ता समितिसँग समझौता गर्ने बताएको छ ।

उपभोक्ता समितिले सम्झौता अघि नै आफ्नो लागत सहभागिता दाखिला गर्नुपर्ने नियम ल्याइएको छ ।

शहरी सडकहरुको पिच गर्दा परामर्शदताबाट डिजाइन लिएर सुपर भिजन गर्दै गुणस्तर कायम गर्ने नीति पनि लिइएको छ ।

अब सडक, ढल, खानेपानी लगायतका पूर्वाधारलाई शहरी विकासको अवधारणाबाट मात्रै निर्माण गर्ने घोषणा मेयर महर्जनले गरेका छन् । सडक कालोपत्र गर्दा खानेपानी, ढल र बिजुलीको पोल व्यवस्थापन भइसकेेका सडकलाई प्राथमिकता दिइने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment