
३ साउन, जुम्ला । सरकारले आमरण अनसनरत डा. गोविन्द केसीलाई काठमाडौं ल्याउन झुटको सहारा लिएको छ ।
डा. केसीलाई नेपाली सेनाको हेलिकोप्टरमा काठमाडौंतर्फ ल्याइएको छ । काठमाडौं आउन तयार भए पनि डा. केसीले सेनाको हेलिकोप्टरमा नजाने अडान लिएका थिए ।
तर, झडपका क्रममा घाइते भएका प्रहरीको मृत्यु भएको खबर सुनाएपछि केसी विक्षिप्त भए । उनी रुँदै ‘म काठमाडौं जान्छु’ भन्दै आफैं बेडबाट झरेका थिए ।
तर, मृत्यु भएका भनिएका प्रहरी जवान कमल उपाध्यायको उपचार चलिरहेको थियो । ‘बल प्रयोग गरेर डा. केसीलाई बाहिर निकाल्दा थप तनाव हुने भएपछि यस्तो गर्नुपरेको हो’ स्थानीय प्रशासन स्रोतको दाबी छ ।
तर, डा. केसीलाई सुनाइएको प्रहरीको मृत्यु भएको खबर सञ्चार माध्यमहरुमा पनि आयो ।
त्यसपछि स्थानीय प्रशासन आफैंले प्रहरी जवानको मृत्यु भएको खबर खण्डन गरेको छ ।
प्रहरी जवानको मृत्यु हल्लामात्रै
कर्णाली प्रदेशका प्रहरी प्रमुख नायब महानिरीक्षक (डीआईजी) सुरेशविक्रम शाहले जुम्लामा गोली चल्दा प्रहरी जवानको मृत्यु भएको कुरामा कुनै सत्यता नभएको बताएका छन् ।
विद्यार्थीले सीसा प्रहार गर्दा जवान कमल उपाध्याय गम्भीर घाइते भएको बताउँदै शाहले उनको मृत्यु नभएको बताएका हुन् । अनलाइनखबरसँग कुराकानी गर्दै शाहले भने, ‘उनको मृत्यु भएको हल्ला कसरी फैलियो थाहा भएन । तर, उनको मृत्यु भएको होइन । गोली चलेको कुरा पनि गलत हो ।’
यद्यपि, उनले घाइते प्रहरी उपाध्यायको अवस्था गम्भीर भएको बताए । हाल उपाध्यायको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
‘अहिले उनलाई शल्यक्रिया कक्षमा राखिएको छ’ शाहले थपे, ‘हामीले हेलिकोप्टरमार्फत उनलाई काठमाडौं ल्याएर उपचार गराउने तयारी गरेको थियौं । तर, चिकित्सकहरुले यो अवस्थामा लैजानु खतरायुक्त हुने बताएपछि हामी रोकिएका थियौं ।’
घाइते जवानको छातीमा सीसा लागेको छ । ‘अस्पताल ४ तलाको छ । डा. केसी भएतिर जाने क्रममा विद्यार्थीहरुले सिसा र बेञ्च भाँचेर किलासहित प्रहरीतर्फ प्रहार गरेका थिए’, उनले थपे, ‘चिकित्सकहरुले शरीरभित्र पसेको सीसाहरु निकालेका छन् ।’
शाहका अनुसार सीसा निकालिए पनि रक्तश्राव नरोकिएपछि चिकित्सकहरुले शल्यक्रिया गर्ने तयारी गरेका थिए । ‘विद्यार्थीले प्रहार गरेको किला मुटुसम्म गयो कि भन्ने हाम्रो डर हो’, डीआईजी शाहले भने ।
गृहमा सुरक्षा निकायका प्रमुखको बैठक
जुम्लामा डा. केसीलाई ल्याउन बल प्रयोग गरिएको बेला गृह मन्त्रालयमा भने गृह मन्त्री रामबहादुर थापा ‘बादल’ सहित सुरक्षा निकायका प्रमुखहरुको बैठक चलिरहेको थियो ।
वैठक अझै जारी रहेको स्रोतको भनाइ छ । त्यसबीच सुरक्षा निकायका अधिकारीहरुलाई जुम्लाका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखले फोन गरेर जवानले मृत्यु नभएको जानकारी समेत गराएका थिए ।