Comments Add Comment

बसन्तपुर डबलीको आवाज : प्रधानमन्त्री जनताका नोकर हुन्

७ घण्टे सत्याग्रहमा ब्यापारीदेखि जग्गा कारोबारीसम्म


६ साउन, काठमाडौं । अनसनरत डा. गोविन्द केसीको समर्थनमा आइतबार काठमाडौंको वसन्तपुर डबलीमा करिव सयजना ‘सामुहिक अनसन’ मा बसे । सोलिडारिटी फर डा. केसी अलायन्सको अगुवाइमा बिहान १० बजे शंख बजाएर सुरू भएको सामुहिक अनसन साँझ ५ बजेसम्म चल्यो ।

सात घण्टे अनसनमा वकिल, र व्यापारीदेखि जग्गा कारोबारीसम्म सहभागी थिए । ४० को दशकमा नेपाली कांग्रेसले आयोजना गरेको ‘सत्याग्रह’ कै ढाँचामा आयोजना गरिएको नागरिक समाजको सत्याग्रहमा युवा, विद्यार्थीहरु पनि उल्लेख्य सहभागी थिए ।

एक दिनका लागि सत्याग्रहमा बसेका उनीहरुले तत्काल चिकित्सा शिक्षा विधेयक सदनमा पेस गर्नुपर्ने माग गरेका छन् । डा. केसीको ज्यान जाने स्थिति आउन दिन नहुनेमा उनीहरुको जोड छ ।

अनसनमा बसेकाहरुले प्रधानमन्त्री केपी ओली जनताका नोकर हुन् भन्दै उनले या त गोविन्द केसीको माग पूरा गर्नुपर्ने, या राजीनामा दिनुपर्ने मागसमेत गरे ।

अन्यथा, नागरिक आन्दोलनबाटै जननिर्वाचित सरकार ढल्ने अनसनकारीहरुले चेतावनीसमेत दिए । एकदिने सत्याग्रहमा बसेका केही व्यक्तिसँग हामीले संक्षिप्त कुराकानी गरेका छौंः

मदन रिसाल जनकपुर चुरोट कारखाना, पूर्वअध्यक्ष

डा. गोविन्द केसी विधिको शासनका निम्ति अनसन बस्नुभएको हो । सरकारको कुरो सरकारले जानोस् । कांग्रेसको कुरो कांग्रेसले जानोस तर, डा. केसीको माग पूरा हुनुपर्‍यो ।

सर्वसुलभ र गुणस्तिरीय शिक्षा र स्वस्थ्यका कुरा संविधानमै छ । डा. केसीले त्यसैको प्रतिवद्धता त खोजेका हुन । पूरा नगरी सुखै छैन ।

वालकृष्ण लम्साल, अधिवक्ता

अब एउटै विकल्प भनेको सरकारले चिकित्सा शिक्षा अध्यादेश जस्ताको त्यस्तै संसदमा पेस गरेर समस्याको समाधान गर्ने हो । सरकारले जबसम्म यो काम गर्दैन, तबसम्म डा.केसीको माग पूरा हुदैन भन्ने लागेर सरकारलाई दबाब दिन आएको हुँ ।

त्यो अध्यादेश नै विधेयकका रुपमा पारित भयो भने चिकित्सा क्षेत्रको सुधामा कोशेढुङ्गा सावित हुन्छ । यो सरकारकै लोकप्रियता  बढ्छ । यसतर्फ सरकार गम्भीर बन्नुपर्छ र डा. केसीको माग बमोजिम मन्त्रिस्तरीय अधिकारसम्पन्न वार्ता टोली बनाउनुपर्ने हुन्छ ।

नोमिका श्रेष्ठ, मानवअधिकारकर्मी

नेपालको संविधानले समाजवादको यात्रा तय गरेको छ । यसलाई भेट्टाउन गरिव र धनीबीचको खाडल पुरिनुपर्छ । त्यसका निम्ति यो सरकार कति जिम्मेवार ? म के भन्न चाहन्छु भने, प्रधानमन्त्री ओलीले आफ्नो विगत सम्झिउन् ।

उहाँ आफैँ कुन धरातलबाट आउनु भएको हो र अहिले कसको सपोर्ट गरिरहनुभएको छ भनेर । यत्ति भयो भने डा. केसीको माग पूरा हुन्छ र ओलीको हाइहाइ हुन्छ ।

सुवोध प्रधान, व्यापारी

शिक्षा र स्वास्थ्य जस्तो क्षेत्रमा रहेको अनियमिततालाई निरन्तरता दिने प्रयास हुँदैछ । डा.केसीले त्यो रोक्नुपर्छ, दुर्गम क्षेत्रमा मेडिकल कलेज खोल्नुपर्छ भन्दा के बिगारेका छन् र यत्रोविधि नाटक गरिरहेको ?

काठमाडौंमा थप कलेज खोल्न नदिने पनि माग हुन्छ भन्दै कतिपयले उडाउँदैछन् । कहाँ कति मेडिकल कलेज आवश्यक छ, त्यसको अध्ययन गर्नुपर्‍यो । त्यसै बिद्यार्थी नभएका कलेजलाई सम्वन्धन दिन त भएन नि ।

महेन्द्र यादव, धनुषाधाम नगरपालिका-७

प्रधानमन्त्री केपी ओली जनताका नोकर हुन् । मालिकले भनेको नोकरले मान्नुपर्छ । जनताको करबाट उठाएको करबाट तलबभत्ता खाएपछि नुनका सोझो गरुन् भन्ने आम जनताको माग हो ।

आमजनताले अहिले अनसनरत डा. गोविन्द केसीको माग पूरा गर्न दबाव दिइरहेका छन् । जनताको यहि चाहनालाई छिटो पूरा गराउन् म आफैं पनि अनसन बस्न आएको हुँ । डा. केसीले माग्नुभएको सर्वसुलभ र गुणस्तरीय शिक्षा भन्नुभएको छ । यो गएको निर्वाचनमा सबै दलले आफ्नो घोषणापत्रमा लेखेका कुरा हुन् । मेरो एउटै माग छ, कि ओलीले राजीनामा दिउन् कि डा. केसीका माग जस्ताको त्यस्तै पूरा गरुन् ।

अनुस्का अधिकारी, विद्यार्थी

डा.केसीले जनताको पक्षमा शिक्षा र स्वास्थ्यका कुरा उठाउनुभएको छ । उहाँका मागहरु युवाका लागि अझ धेरै महत्वपूर्ण छ भन्ने लागेको छ ।

हामीले साथ नदिए कसले दिन्छ भन्ने लाग्यो र उहाँको आन्दोलनलाई सुरुदेखि नै समर्थन गर्दै आएकी छु । एक थुकी सुकी, सय थुकी नदी भन्छन् । हामी सबै मिलेमात्र नेताहरुले भनेको जस्तो समृद्ध र विकशित नेपाल बन्न सक्छ ।

रामहरि खड्का, घरजग्गा व्यवसायी

डा. केसीले उठाएका माग अहिले चिकित्सा शिक्षा विधेयक सदनमा पेस हुँदैम्ाा वा पारित हुदैमा सकिन्न । उहाँले किस्ता-किस्तामा माग उठाइरहनुभएको छ, र उठाइहनुहुन्छ । तर, उहाँलाई वे-वास्ता गर्ने वा कमजोर ठानियो भने त्यो ठूलो भुल हुनेछ ।

अहिले सरकारले तत्काल डा.केसीको माग पुरा गरेन र तलमाथि हुने स्थिति आयो भने ठूलो आन्दोलन हुन्छ र यो सरकारलाई उडाएर लैजान्छ । त्यो परिस्थिति नआओस् भन्नका निम्ति सरकारलाई दबाव दिन म अनसन बस्न आएको हुँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment