७ साउन काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी राष्ट्रपति हसन रुहानीलाई अमेरिकालाई धम्क्याउन नछोडेमा त्यसको गम्भीर नतिजा भोग्नुपर्ने चेतावनी दिएका छन् ।
राष्ट्रपति ट्रम्पले सोमबार इरानी राष्ट्रपतिको लागि भन्दै टि्वटरमा यस्तो चेतावनी दिएका हुन् । ‘अबदेखि कहिल्यै पनि संयुक्त राज्य अमेरिकालाई धम्की नदिनू, होइन भने यसको गम्भीर नतिजा भोग्न पर्नेछ जुन इतिहासमा पनि कमैले भोगेका छन् ।’
यसअघि आइतबार इरानी राष्ट्रपति रुहानीले इरानसँग नजिस्कन चेतावनी दिएपछि ट्रम्पको यस्तो प्रतिक्रिया आएको हो । ट्रम्पको टि्वटले इरान र अमेरिकाबीच तनाव धेरै बढेको प्रष्ट रुपमा देखिएको छ ।
ट्रम्पले टि्वटमा भनेका छन्, ‘हामी त्यस्तो देश होइन जसले तिम्रा हिंसा र मृत्युको विकृत शब्दहरुलाई समर्थन गर्छ ।’
इरानी राष्ट्रपतिले एक कार्यक्रममा अमेरिकालाई लक्षित गर्दै भनेका थिए ‘इरानका दुश्मनहरु को हो राम्रोसँग विचार गरेर इरानसँग शान्तिपूर्ण रुपमा काम गर्नु । हामीसँगको युद्ध भयो भने त्यो अरु युद्धभन्दा धेरै ठूलो हुनेछ ।’
कार्यक्रममा उनले अमेरिकी राष्ट्रपति टम्पलाई चेतावनी दिँदै भनेका थिए ‘बाघको पुच्छर चलाउन नखोज, होइन भने तिमीहरुले धेरै पछु्ताउन पर्ला ।’
अमेरिकाले गत मेमा इरानसँगको परमाणु सम्झौता बन्द गरेको थियो तर, अहिले उसले इरानमाथि अगस्टबाट सुरु हुने गरी नयाँ ढंगले प्रतिबन्ध लगाउने तयारी गरिरहेको छ ।