Comments Add Comment

प्रधानमन्त्री ओली र डा. केसीका प्रतिनिधिबीच मध्यरातमा वार्ता

डा. गोविन्द केसी । फाइल तस्वीर

१० साउन, काठमाडौं । बुधबार साँझ असफल भएको भनिएको सरकार र डा. गोविन्द केसी पक्षको वार्ता मध्यरातपछि पुनः ट्रयाकमा आएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली आफैंले डा. केसी पक्षधर वार्ता टोलीसँग बिहान २ बजेसम्म छलफल गरेका थिए । करिब ३ घन्टा चलेको वार्तामा प्रधानमन्त्रीले केसीको जीवनरक्षा पहिलो प्राथमिकता रहेको भन्दै उनका मागमा सकारात्मक प्रतिक्रिया दिएका थिए ।

प्रधानमन्त्री ओलीसँग वार्ता गर्न केसीका तर्फबाट वार्ता टोलीका डा. अभिषेक सिंह र अधिवक्ता सुरेन्द्र भण्डारी राति ११:३० बजे बालुवाटार पुगेका थिए ।

यसको पहल प्रधानमन्त्रीका निजी चिकित्सक समेत रहेकी डा. दिव्यासिंह शाहले गरेकी हुन् । त्रिवि शिक्षण अस्पतालकी डा. शाह गोविन्द केसीको समर्थक पनि हुन् ।

बुधबार मध्यरातको वार्तामा चिकित्सा शिक्षा विधेयकको अन्तरवस्तुमा बुँदागत छलफल भएको एक वार्ताकारले बताए । विधेयक संसदको प्रक्रियामा गइसकेकाले फिर्ता तलिने तर, त्यसमा डा. केसीले उठाएका विषय समेटेर संशोधन गर्न नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले सकारात्मक देखिएको स्रोतले बताएको छ ।

प्रधानमन्त्रीसँग नजिक रहेर वार्ता समन्वय गरिरहेका उनले भने,  ‘सम्भवतः आजै सकारात्मक परिणाम दिनेछ । प्रधानमन्त्रीले डा. केसीको जीवनरक्षालाई मुख्य शर्त बनाउनु भएको छ । विधेयकमा संशोधनमार्फत् केसीले उठाएका विषय सम्बोधन गर्न सहमत हुनुहुन्छ ।’

उनले अघि भने, ‘तर, डा. केसी अझै पनि राजनीतिक दबावमा हुनुहुन्छ कि भन्ने हाम्रो आशंका छ । केही राजनीतिक दलले सहमति हुन नदिने प्रयास गरेको हाम्रो बुझाइ छ ।’

वार्ता टोलीका सदस्य डा. सुरेन्द्र भण्डारीले मध्यरातमा भएको वार्ता सकारात्मक रहेको बताए । उनले भने, ‘डा. केसीले उठाएका मुद्दाहरुमा प्रधानमन्त्री सैद्धान्तिक रुपमा सहमत देखिनु भएको छ । हेरौं, आज लिखित सहमति गर्दा उहाँहरु कसरी आउनुहुन्छ ?

स्रोतका अनुसार डा. केसीका माग समेटेर विधेयकमा सहमति जुटाउने जिम्मा डा. केदारभक्त माथेमा, मेडिकल काउन्सिलका डा. धर्मकान्त बास्कोटा र निजी चिकित्सक डा. दिव्यासिंह शाहलाई दिइएको छ । तीन जनाले गरेको सहमतिलाई विधेयकमा मिलाउने भन्ने जिम्मा नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङलाई दिइएको छ ।

विधेयकको अन्तरवस्तुमा सहमति जुटे प्रधानमन्त्रीका तर्फबाट नेम्बाङ सम्भवतः आजै डा. केसीलाई भेट्ने छन् र लिखित सहमति गरेर २६ दिन लामो अनशन तोडिनेछ ।

प्रधानमन्त्रीले डा. केसीको जीवन तलमाथि भएमा सरकारलाई दोष दिएर उनका समर्थक तथा वार्ताकारहरु उम्किन नसक्ने बताएका थिए । केसीको मागलाई राजनीतिकरण गरेर पार्टी र सरकारविरुद्ध घेराबन्दी गर्ने र सत्ता ढाल्ने असंवैधानिक धम्की दिइएको भन्दै ओलीले विपक्षी दलको राजनीतिकरणबाट केसी जोगिनुपर्ने बताएका थिए ।

उनले केसीका अधिकांश मागमा आफू सकारात्मक रहे पनि संसदको प्रक्रिया सरकारले मिच्न नसक्ने भन्दै संसदीय प्रक्रियाबाटै टुंगो लगाउन सकिने बताएका छन् ।

यसैबीच, माथेमा सहितले आज बिहान प्रधानमन्त्रीलाई भेटेका छन् । केसी पक्षले विधेयकमा परिमार्जनका लागि दिएका सुझावमध्ये १० वर्षसम्म काठमाडौंमा मेडिकल कलेज खोल्न नपाइने बाहेकका प्रावधानमा सरकार सहमत भएको स्रोतले जनाएको छ ।

प्रधानमन्त्रीको प्रतिनिधिका रुपमा वार्ताको संयोजन गरिरहेका नेम्वाङले केसीका वार्ताकारहरुमाथि सरकार विरोधी दलहरु हाबी भएनन् भने विधेयकमा सहमति हुने दाबी गरे । प्रधानमन्त्री तत्काल केसीको अनशन टुंगो लगाउन गम्भीर रहेको उनले बताए ।

‘धेरै कुरामा सकारात्मक प्रगति भएको छ । बाहिरबाट साथीहरुको राजनीति घुसेन भने डा. केसीको माग सम्बोधन हुन्छ र आजै दुवै वार्ता टोलीबीच सहमति हुनसक्छ’ नेम्वाङले अनलाइनखबरसँग भने, कथंकदाचित वार्ता सफल भएन भने बुझ्नुस् कि भाँड्न चाहने राजनीतिक दलका साथीहरु सफल हुनुभयो । तर म त्यो सम्भावना देख्दिनँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment