Comments Add Comment

आयल निगममा सर्वसाधारणले सेयर हाल्न पाउने


११ साउन, काठमाडौं । नेपाल आयल निगमले बोनस सेयरमार्फत आफ्नो चुक्ता पुँजीमा ब्यापक वृद्धि गर्ने निर्णय गरेको छ । यो सँगै निगमलाई साधारण सेयर जारी गर्ने बाटो पनि खुलेको छ ।

शुक्रबार भएको निगमको साधारणसभाले दुई वर्षको सञ्चित मुनाफालाई सेयरधनीको लागि बोनसको रुपमा वितरण गर्दै चुक्तापुँजीमा रुपान्तरण गर्ने प्रस्ताव पारित गरेको छ । आर्थिक वर्ष २०७२/७३ र २०७३/७४को सञ्चित मुनाफालाई चुक्तापुँजीमा परिवर्तन गरिएको हो ।

योसँगै निगममा २९ करोड लगानी गरेको सरकारको सेयर हिस्सा १० अर्ब ९४ करोड बराबर पुगेको छ । सेयर होल्डरहरुलाई बोनस सेयर दिने निर्णय गर्दै साधारणसभाले सञ्चित मुनाफालाई चुक्तापुँजी बनाउने निर्णय गरेको हो ।

निगममा नेपाल सरकारको ९९ प्रतिशत सेयर छ भने अर्थ मन्त्रालयसहित आपूर्ति मन्त्रालय, आपूर्ति व्यवस्थापन विभाग, नेशनल ट्रेडिङ, राष्ट्रिय बिमा संस्थान, नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकको १ प्रतिशत सेयर छ ।

यो चुक्तापँजी वृद्धिको निर्णयले निगममा साढे ७ लाख रुपैयाँ लगानी गरेको नेशनल ट्रेडिङको सेयर २ करोड ८२ लाख पुगेको छ । अन्य कम्पनीको पनि सेयर हिस्सा बोनसका रुपमा थपिएको छ ।

सरकारले चाहे सर्वसाधारणलाई सेयर

निगमको पुँजीवृद्धिका लागि गठन भएको समितिले निगमको पुँजी २० अर्ब पुर्‍याउनुपर्ने सिफारिस गरेको थियो । सरकारको ५५ प्रतिशत सेयर स्वामित्व राखेर ३० प्रतिशत सेयर भने सर्वसधारणका लागि साधारण सेयर (आईपीओ) जारी गर्न सुझाव दिएको थियो ।

निगमका कार्यकारी निर्देशक सुशिल भट्टरलाई समितिको सिफारिसअनुसार निगमको चुक्तापुँजीमा सरकारको ५५ प्रतिशत हिस्सा सुरक्षित भएको बताउँछन् । अब सरकारले निगममा सर्वसधारणको लगानी होस् भन्ने चाहेमा कुनै बाधा नपर्ने उनले बताए ।

समितिले २० अर्ब पुर्‍याउन ११ अर्ब चुक्तापुँजी सरकारका तर्फबाट लगानी गरेर ६ अर्ब सर्वसाधारणबाट उठाउन सिफारिस गरेको थियो । नपुग पुँजी भने रणनीतिक साझेदार भित्र्याएर लगानी गराउन सुझाव दिएको थियो ।

कार्याकारी निर्देशक भट्टराई सरकारले निर्णय गरेमात्र निगमले आईपीओ जारी गर्न सक्ने बताउँछन् । ११ अर्ब चुक्तापुँजी पुगेपछि सरकारले चाहेको अवस्थामा कुनै अप्ठेरो भने नरहने निगमको भनाइ छ ।

भट्टराईकाअनुसार निगमलाई तत्कालै कम्तिमा पनि १६ अर्बको चुक्तापुँजी अत्यावश्यक छ ।

‘हामी महिनामा भारतबाट १६ अर्ब बराबरको तेल भित्र्याउउँछौं । एकै किस्तामा तिर्न नसकेकाका कारण तेत्ल बेच्दै दुई किस्ता गरेर तिर्छौं,’ उनी भन्छन्,’आर्थिक वर्ष २०७४/७५को खुद मुनाफालाई पनि चुक्त पुँजीमा रुपान्तरण गर्न प्रयास गर्छौं ।’
गत वर्ष निगमले ३ अर्बभन्दा बढी खुद मुनाफा कमाएको अनुमान छ ।

निगमले यसअघि नै आफ्नो अधिकृत र जारी पुँजी ३० अर्ब पुर्‍याउन कम्पनी रजिष्ट्ररको कार्यालयबाट अनुमति पाइसेकेको छ । निरन्तर नाफामा गएकाले पनि पुँजी वृद्धि गर्न खासै समस्या नहुने देखिएको छ । कम्पनी ऐन २०६३ अनुसार निगमले साधारण सेयर जारी गरे ३० प्रतिशत सर्वसाधारणका लागि छुट्याउनुपर्छ ।

तर, निगमले साधारण सेयर जारी गर्ने गरी तीब्र तयारी गरेको छैन । सरकारले पनि यसमा खासै गृहकार्य नगरेकाले पब्लिक सेयर आउने विषयम लम्बिने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment