+
+

सेती जलविद्युत आयोजनाअघि बढाउन स्थानीय वासिन्दासँग १४ बुँदे समझदारी

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन १८ गते १३:३३


१८,साउन बुटवल । कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा सेती नदीबाट २५ मेगावाट जलविद्युत निकालिने भएको छ ।

बुटवलमा केन्द्रीय कार्यालय रहेको भिजन लुम्बिनी लिमिटेडको बहुलक्षित परियोजना अन्तर्गत पोखरामा रहेको सार्दी खोलामा सेती नदी जलविद्युत आयोजना निर्माण शुरु गरिएको हो ।

आयोजना निर्माण अघि बढाउन सेती नदी जलविद्युत आयोजना र माछापुच्छ्रे गाउँपालिका २ बीच १४ बुँदे समझदारी भएको छ ।

माछापुच्छ्रे गाउँपालिका २ कार्यालयमा वडाध्यक्ष बिक्रम गुरुङ र भिजन लुम्बिनीका अध्यक्ष जगतबहादुर पोखरेलबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

समझदारी पत्रमा स्थानीयले शेयर खरिद गर्न चाहेमा १ घर १ शेयर, स्थानीयको सीप क्षमताको आधारमा रोजगारी, उचित मुआब्जा, माछापुच्छ्रे माध्यमिक विद्यालयको आर्थिक अवस्थामा सुधार ल्याउन भिजन लुम्बिनीले दश लाख आर्थिक सहयोग दिने पनि सहमति भएको छ ।

५ सय करोडको डि्रम प्रोजेक्टलाई ३६ महिनामा पूर्वाधार सकिने गरी काम हुने भिजन लुम्बिनीका अध्यक्ष जगतबहादुर पोखरेलले बताए । कागजी प्रक्रिया सकेर अब जलविद्युत उत्पादनका लागि पूर्वाधारको काम शुरु गरिने उनले बताए ।

‘२५ मेगावाटको विद्युत उत्पादन गर्ने स्वीकृति पाएसंगै हामीले, अहिलेसम्म कागजी प्रकृया सबै सक्यौं र पिपिए डाफ्ट पनि सकेका छौं’ पोखरेलले भने ।

२५ हजारदेखि २ करोडसम्म शेयर खुलाएर रकम संकलनको कामसमेत संगसंगै अघि बढाइने उनको भनाइ छ ।

सहमतिपत्रमा हस्ताक्षरपछि माछापुच्छे गाउँपालिका २ का वडाध्यक्ष बिक्रम गुरुङले परियोजना सञ्चालनमा आएपछि यस क्षेत्रको विकास हुनेमा आफू आशावादी रहेको बताए ।

‘सम्झौताअनुसार नै काम गर्नुस्, हाम्रो सबै प्रकारको सहयोग रहन्छ’ वडाध्यक्ष गुरुङले भने ।

२५ हजार महिलाहरुबाट एकताबद्ध गराएर माइक्रोफाइनान्स हुदै उर्जामा लगानी गराउन सफल भएकामा उनले भिजन लुम्बिनीलाई धन्यवादसमेत दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?