Comments Add Comment

विद्यालयको साढे ४ रोपनी जग्गा गायब, खोजिदिन हारगुहार

१८ साउन, पोखरा । बैदामको तालवाराही माविको लालपुर्जामा रहेको करोडौं रुपैयाँको जग्गा फिल्डबाट हराएको छ । तालवाराही माविको डिहिकोपाटनमा रहेको साढे ४ रोपनी जग्गा हराएको भन्दै विद्यालयले गुहार मागेको छ ।

२०३७ सालमा तत्कालीन नगर पञ्चायतले तालवाराहीलाई डिहिकोपाटनमा उपलब्ध जग्गा हालसम्म सडकदेखि विभिन्न व्यक्तिले हडप्दा फिल्ड नदेखिएको विद्यालयको भनाइ छ ।

लालपुर्जामा ११ रोपनी ५ आना रहेको विद्यालयको जग्गा २०७२ सालमा नापी गर्दा ६ रोपनी पाँच आनामात्रै देखिन आयो । विद्यालय व्यवस्थापन समिति नभएको तथा निश्क्रिय रहेको विषम समयमा विद्यालयको जग्गामा एकोहोरो मापदण्ड लगाएर सडक निर्माण र विभिन्न व्यक्तिले मिचेको विद्यालयको दाबी छ ।

विद्यालयको जग्गा मिचेर घरको कम्पाउन्डदेखि केही घरसमेत बनाइएको विद्यालय सञ्चालक समिति अध्यक्ष परशुराम शर्मा पहारीले बताए । ‘लालपुर्जामा रहेको करोडौं रुपैयाँको जग्गा फिल्डमा नदेखिएपछि वडा नम्बर ६ का जनप्रतिनिधि र मेयर मानबहादुर जिसीलाई पटकपटक यथार्थ विवरण खोजी गरिदिन आग्रह गरिएको थियो,’ अध्यक्ष पहारीले भने, ‘तर, विद्यालयको जग्गा ६ रोपनी १५ आना जग्गामा सीमित राख्न वडाध्यक्ष जगत पहारी नै सक्रिय रहँदा हामीलाई शंसय उत्पन्न भएको छ ।’

लालपुर्जामा रहेको जग्गा कायम गर्न खोज्दा वडाध्यक्षले जग्गा त्यति नै हो भनेर दबाव दिएको विद्यालयको आरोप छ । विद्यालयले व्यापारिक भवन पछाडिको भागबाट ३० फिट चौडाइ र १ सय ३० लम्बाइमा अस्थायी ट्रस्ट निर्माण गर्ने र व्यावसायिक भवनको छतमा ट्रस्ट निर्माण गरी व्यवसाय सञ्चालन गर्न दिन लाग्दा विद्यालयको जग्गा मिच्नेहरुबाटै विरोध भएको विद्यालयको भनाइ छ ।

विद्यालयको बाँकी रहेको जग्गा संरक्षण गर्न तारबार लगाउने, आवश्यकताअनुसार खेलकुद मैदान या पार्कको रुपमा विकास गर्न कोटेसन आहृवान गरी पिपुल कन्स्ट्रक्सन प्रालिले काम सुरु गर्दा स्थानीयले अवरोध गरेको अध्यक्ष पहारीले बताए ।

टेन्डरअनुसार निर्माण कार्य अगाडि बढाउन अवरोध नगर्न जनप्रतिनिधि तथा स्थानीयको रोहबरमा छलफल गरेर बिहीबार काम सुरु गर्दा वडाध्यक्ष पहारीले अवरोध गरेको विद्यालयको आरोप छ । विद्यालयको यो जग्गाका विषयमा वडाध्यक्ष र सदस्यहरुमा विभाजित भएका छन् । वडाध्यक्ष हालको जग्गा नै विद्यालयको बास्तविक जग्गा भएको बताउँछन् भने वडा सदस्य साढे ४ रोपनी जग्गा विद्यालयबाट गुमेको बताउँछन् ।

२०४१ सालमा जिल्ला मालपोत कार्यालयमार्फत कित्ता नम्बर ३२१० को ११ रोपनी ५ आना ३ पैसा क्षेत्रफल भएको जग्गा धनी पुर्जा विद्यालयले पाएको थियो । त्यसको ३३ वर्षपछि जग्गा नापी गर्दा विद्यालयको साढे ४रोपनी जग्गा गायब भएको पाइएको थियो । ‘२०४१ सालमा कित्ता नम्बर ३२१० मा विद्यालयको ११ रोपनीभन्दा बढी जग्गा थियो । पछि २०६२ सालमा जग्गा नापी गर्दा ४५ नम्बर कित्तामा त्यसलाई परिवर्तन गरियो । अहिले त्यो कित्ताको ठूलो क्षेत्रफल गुमेको छ’ अध्यक्ष पहारीले भने ।

तत्कालीन वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष रमेशबहादुर भट्टराईको कार्यकालमा प्रेमराज पहारी, रामराज पहारी, सिद्धिबहादुर पहारी, गोविन्दकुमार श्रेष्ठ लगायतको पहलमा जग्गाको लालपुर्जा विद्यालयलाई प्राप्त भएको व्यवस्थापन समिति अध्यक्ष पहारीले बताए ।

२५, ३०, ३९, ४१ १०७, १०८, ११०, १११, ११४ र ११५ कित्ता नम्बरकोे जग्गा र त्यसमा बनेका संरचनाले समेत विद्यालयको जग्गा अतिक्रमण गरेको नापीबाट देखिएको अध्यक्ष पहारीले जानकारी दिए । २०७२ भदौ १२ गते नापी कार्यालयबाट प्राविधिक बोलाएर जग्गा नाप्दा झन्डै ५ रोपनी हराएको भेटिएको हो ।

२०५८ सालमै विद्यालयले १२ सटर भएको व्यापारिक भवन बनाएको छ । वडा नम्बर ६ का सदस्य विष्णुबहादुर भट्टराईले अर्बौं मूल्य पर्ने विद्यालयको जग्गा अरुकै कब्जामा पुगेको बताए । सार्वजनिक जग्गामाथि धावा बोल्ने काम हुँदा सबैले चासो र सहयोग गर्नुपर्ने भट्टराईको भनाइ थियो ।

विद्यालयको जग्गा फिर्ता गराउन पहल गरिदिन विद्यालयकी प्रधानाध्यापक भद्रकाली लामिछानेलेे आग्रह गरिन् । ‘विद्यालय सबैको साझा हो । विद्यालयको जग्गा सबैको साझा सम्पत्ति हो । यस्तो मिच्ने अधिकार कसैलाई छैन,’ लामिछानेले भनिन्, ‘विद्यालयको जग्गा खोज्दा हामीले धेरै अपमान खेप्नुपरेको छ ।’

सडक निर्माण तथा टोल विकास संस्थाले विकास निर्माणका काम गर्ने बेलामा विद्यालयलाई सहभागी नै नगराएको उनले बताइन् ।

छलफलबाट सहमति खोजौं भनेको हुँः वडाध्यक्ष पहारी

विद्यालयलाई असहयोग गरेको नभई प्याकेजमै सहमति गरेको जाऔं भन्ने आˆनो धारणा रहेको वडाध्यक्ष जगतबहादुर पहारीले बताए ।  ‘विद्यालयले पनि त्यहाँका स्थानीयलाई बुझाउन सकेनन् । विद्यालयको जग्गा ओभरल्यापिङ भएको साँचो हो तर स्थानीयले पनि आफ्नो जग्गा नपुगेको बताउँछन्,’ वडाध्यक्ष पहारीले भने, ‘त्यसो भए जग्गा कहाँ गयो त ? यसको खोजी राज्यले गर्नुपर्छ । राज्यले निर्देशन दियो भने खोजी गर्न सकिन्छ ।’

स्थानीय र विद्यालयबीच सहमति जुटाउन प्रयास गरेको वडाध्यक्ष पहारीले बताए । ‘बारम्बार छलफल गराएका हौं । कम्तिमा सहमति गरेर जाऔं भनेर लागेको हुँ । एउटालाई सम्झायो अर्को आउँछन्,’ पहारीले भने, ‘विद्यालयलाई पनि टहरा बनाउन स्थायी स्विकृति चाहिन्छ । हालसाविक र स्विकृबिनान हुँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment