Comments Add Comment

आन्तरिक वायुसेवा कम्पनीलाई अन्तर्राष्ट्रिय उडानको लाइसेन्स पाउन सजिलो


२१ साउन, काठमाडौं । आन्तरिक उडान गरिरहेका वायुसेवा कम्पनीले अन्तर्राष्ट्रिय उडानका लागि अनिवार्य रुपमा खुला प्रतिस्पर्धा गर्नुनपर्ने भएको छ । अब देशभित्र पाँच वर्ष आन्तरिक उडान गरिसकेका स्वदेशी कम्पनीले चाहेको खण्डमा सोझै अन्तर्राष्ट्रिय उडानको अनुमतिपत्र पाउनेछन् । ५ वर्ष सेवाअवधि नपुगेका कम्पनीलाई खुला प्रतिस्पर्धामा जाने बाटो पनि खुला नै राखिएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अन्तर्राष्ट्रिय उडानको अनुमतिपत्र दिन सम्बन्धमा बनेको नयाँ कार्यविधिमा यस्तो प्रस्ताव गरिएको हो ।

‘२०६६ सालको कार्यविधि समयसापेक्ष भएन । त्यसैले व्यवस्थाहरु समयसापेक्ष बनाउन नयाँ कार्यविधि ल्याउन लागेका हौं,’ मन्त्रालयका एक अधिकारीले भने,’अब अनुभवी कम्पनीलाई अन्तर्राष्ट्रिय उडानका लागि अनुमतिपत्र पाउन सहज हुन्छ ।’

अबको पाँच वर्षमा नेपालबाट हुने अन्तर्राष्ट्रिय उडानमा नेपाली वायुसेवा कम्पनीको हिस्सा ६० प्रतिशत पुर्‍याउने लक्ष्यअनुसार यस्तो व्यवस्था गर्न लागिएको उनले बताए । अहिले अन्तर्राष्ट्रिय उडानमा लागि खुला प्रतिस्पर्धा गर्नुपर्ने नियम छ ।

अब विदेशी एयरलाइन्सको नेपाली बजार हिस्सा घटाउँदै लैजाने रणनीति सरकारको छ । अहिले हिमालय, नेपाल एयरलाइन्स र बुद्ध एयरले मात्रै अन्तर्राष्ट्रिय उडान भरिरहेका छन् । श्री एयरलाइन्सले पनि चासो देखाएको छ । अनुमतिपत्र लिएर पनि बीबी एयरवेज सेवामा छैन ।

सरकारले प्रस्ताव गरेको नयाँ कार्यविधिमा ५ वर्ष उडान भरेर अनुभव बटुलेका कम्पनीलाई सरकारले आवश्यक अध्ययन गरेर उचित ठरिएमा अनुमति दिन सक्ने व्यवस्था प्रस्ताव गरिएको छ ।

अन्तर्राष्ट्रिय उडानका लागि अनुमति पाउन कम्पनीसँग ५० करोडदेखि १ अर्बसम्मको चुक्ता पुँजी हुनुपर्ने छ । विभिन्न वर्गामा लाइसेन्स विभाजन गरिएकाले फरक-फरक वर्गका लागि फरक-फरक चुक्तापुँजीको सीमा तोकिएको छ ।

यस्तो वर्ग निर्धारणका लागि विभिन्न मापदण्ड तोकिएका छन् । विभागका एक अधिकारीले अनुमतिपत्र लिएर सेवा सुरु नगर्ने कम्पनीको नवीकरण शुलक र जरिवाना पनि बढाउन कार्यविधिमा प्स्ताव गरिएको छ ।

यसो गर्दा झोलामा लाइसेन्स हालेर हात बाँधेर बस्ने वायुसेवा कम्पनीले सेवा सञ्चालनमा तत्पपरता देखाउने विश्वास मन्त्रालयको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment