Comments Add Comment

नेपालको अबको लक्ष्य एसिया कपः प्रशिक्षक टमाटा

'एकदिवसीयमा अन्तर्राष्ट्रिय स्तरको बलिङ र फिल्डिङ'

२१ साउन, काठमाडौं । बेलायत र नेदरल्याण्ड्सको भ्रमण सकेर स्वदेश फर्किएको राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक जगत टमाटाले अब आफूहरुको ध्यान एसिया कपका लागि केन्द्रित हुने बताएका छन् ।

एसियाका टेस्ट खेल्ने भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानसँगै छनोट प्रक्रियाबाट गएको एक देशले एसिया कप क्रिकेट खेल्नेछ ।

अगष्ट २९ देखि सेप्टेम्बर ६ सम्म मलेसियामा हुने छनोटमा नेपालसँगै हङकङ, युएई, सिंगापुर, ओमान र मलेसिया छन् ।

एकदिवसीय खेलमा नेपालले गरेको प्रदर्शनले एसिया कपका लागि फाइदा पुगेको प्रशिक्षक टमाटाले बताएका छन् ।

उनले नेपाले एकदिवसीय क्रिकेट खेल्छ भन्ने सपना आफूसँग पहिल्यै रहेको र अब यस्तै क्रिकेटलाई निरन्तरता दिन सके १० वर्षभित्र टेस्ट खेल्न सकिने पनि बताए ।

‘नेपालले एकदिवसीय खेल खेल्छ भन्ने सपना त मसँग पहिलेदेखि नै थियो । मेरै पालामा हुन्छ भन्ने कुरा नै त सोचेर बसेको होइन । तर, मेरै पालमा हुनु मेरा लागि खुसीको कुरा हुँदै हो । यसमा सुरुबाट उमेर समूहदेखि जो-जो प्रशिक्षकले काम गरे उनीहरु सबैको योगदान ठूलो छ’ उनले भने, ‘ यस्तै अवसर पाउँदै जाने हो भने आठ दश वर्षमा टेस्ट क्रिकेटसम्म पनि पुग्न सकिन्छ ।’

एकदिवसीयमा गरेको राम्रो प्रदर्शनको निरन्तरता एसिया कपमा दिने पनि उनले बताएका छन् । ‘अब एसिया कपमा पनि हामीले राम्रो क्रिकेटलाई निरन्तरता दिनेछौं’ प्रशिक्षक टमाटाले भने, ‘केही दिन आराम गरेर त्यसको तयारीमा लाग्ने छौ’ । एसिया कपकै तयारीका लागि श्रीलंकामा अभ्यास गर्ने तयारी पनि गरेका छौं ।’

एसिया कपको तयारीका लागि ब्याटिङ प्रशिक्षकका लागि आईसीसीसँग कुरा भइरहे पनि अहिले यसै भन्न नसकिने र थप कुराकानी गर्ने उनले बताए ।

राम्रो क्रिकेटलाई निरन्तरता दिन धेरै भन्दा धेरै खेल खेल्नुको बिकल्प नभएको सुनाउँदै उनले भने, ‘यसका लागि क्रिकेट संघ नभएका कारण अरु सिरिजका लागि कठीनाइ भोग्नु पर्ने हुन सक्छ । आईसीसीसँग अरु सिरिजका लागि कुरा भइरहेकै छ । अवश्य पनि केही महिनामा क्रिकेट संघले निरन्तरता पायो भने धेरै भन्दा धेरै खेल खेल्न पाउँछौँ ।’

ब्याटिङमा पुरानै समस्या देखिए पनि नेपालको बलिङ र फिल्डिङ अन्तर्राष्ट्रिय स्तरको भएको उनले सुनाए । ‘पहिलो खेलमा राम्रो सुरुवात हुँदा हुँदै पनि मध्यमा हाम्रो ब्याटिङ बिगि्रँदा हार्नु पर्‍यो । दोस्रो खेलमा २ सय रन कटाएपछि हामीले जित्छौँ भन्ने विश्वास लिएका थियौँ । त्यस्तै नै भयो’ उनले भने, ‘हाम्रो बलिङ र फिल्डिङ त अन्तर्राष्ट्रिय स्तरकै रहृयो । त्यसमा कुनै टिमभन्दा हामी पछि छैनौँ । अरु यस्तै अवसरहरु पाउँदै गयौँ भने हामी अझ माथि जान सक्छौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment