Comments Add Comment

पहिलो एकदिवसीय जित कोेशेढुंगा नै होः पारस खड्का

दर्शकले घरै बसेर हेर्न पाउनु खुसीको कुरा

२१ साउन, काठमाडौं । ऐतिहासिक एकदिवसीय क्रिकेट खेलेर फर्किएको नेपाली टोलीका कप्तान पारस खड्काले यो जितले नेपाली क्रिकेटको आगामी दिनका लागि मद्दत गर्ने बताएका छन् ।

लर्डस्  मैदानमा त्रिकोणात्मक टी-२० सिरिज खेलेको नेपालले नेदरल्याण्ड्समा एकदिवसीयको डेब्यू सिरिज खेल्यो ।

पहिलो खेलमा ५५ रनले पराजित भएको नेपाल दोस्रो खेलमा रोमाञ्चक रुपमा १ रनले विजयी भएको थियो, जसमा अन्तिम ओभर कप्तान खड्काले बलिङ गरेका थिए ।

एकदिवसीय यात्रा थालेको दोस्रो खेलमा जित हात पारेको नेपाली टोली सोमबार स्वेदश फर्किएको छ । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टलगायतले खादा तथा माला लगाएर स्वागत गरे्का छन् ।

कप्तान पारसले यस्ता सिरिज अझै खेल्ने अवसर पाउँदा नेपाली क्रिकेटको विकासमा थप सहयोग पुग्ने बताए । प्रस्तुत छ, कप्तान खड्कासँग गरिएको कुराकानीः

पहिलो एकदिवसीय जितको महत्व नेपाली क्रिकेटका लागि कस्तो रहन्छ ?

पहिलो एकदिवसीय जित हाम्रा लागि ऐतिहासिक थियो । सबै जनाले घरमा बसेर त्यो जित हेर्न पनि पाउनुभयो । नेपालले बाहिर खेलेका खेल यसरी हेर्न पहिले पाइँदैनथ्यो । सबै दर्शक त्यो जितको साक्षी प्रत्यक्ष हुन पाउनु पनि खुसीको कुरा हो ।

हाम्रो लागि पहिलो एकदिवसीय जित कोेशेढुंगा नै हो । अब आशा गरौं, नेपालले यस्ता सिरिजहरु अझ धेरै खेल्न पाउने छ । जति धेरै खेल्न पाउँछौं, त्यति नै नेपाली क्रिकेटलाई अघि बढाउन सहयोग पुेछ । समर्थकसँगै हामीमा पनि उत्साह बढ्दै जानेछ ।

यसपटक थप दबाव महसुश भएको थियो ?

राष्ट्रको लागि खेल्दा दबाव त सधैं भइहाल्छ तर, सबै दबाव व्यवस्थापन गर्ने बानी परिसक्यो । हरेक पल्ट राम्रो गरेर जित्न कोशिस गर्ने हो । अझै माथिल्लो स्तरमा नेपालले जित हासिल गर्दै जाओस् भन्ने हामी सबैको चाहना हो ।

नेदरल्याण्ड्सविरुद्ध सिरिज नै जित्ने बलियो सम्भावना थियो ?

पहिलो खेलमा हाम्रो मध्यक्रममा ब्याटिङ चल्न सकेन । सुरुवात खराब हुने हाम्रो कमजोरी त्यो दिन सुधार भएको थियो तर, सुरुवातमा भएको ब्याटिङको निरन्तरता पछि हुन सकेन ।

यो लेभल नै त्यस्तो हो सोचेजस्तो सजिलो हुँदैन । पहिलो खेलमा २० ओभरपछि हामी कमजोर बनेकै हौं ।

दोस्रो खेलको अन्तिम ओभर गर्दा र त्यो अन्तिम बलमा लिइएको निर्णय कस्तो रहृयो ?

खेल हो कहिले जितिन्छ, कहिले हारिन्छ । दोस्रो खेलको अन्तिम ओभर पनि त्यही खेलको निरन्तरता मात्रै हो ।

जितले खुसी लागेको छ । लास्ट बलमा मैले लिएको निर्णय पनि खेलको निरन्तरतामा आउने कुरा हो । खेलमा एक्कासी आइपर्ने अवस्थामा हाम्रो निर्णय पनि तत्काल नै हुन्छ । त्यो जितका लागि अग्रसर भएर खेल्दा सधैं दिमागमा आइहाल्छ । त्यसमा खासै धेरै कुरा सोच्ने भन्दा आफ्नो पक्षमा हरेक क्षण होस् भनेरै सोच्ने हो ।

नेदरल्याण्ड्स टिममा पहिले भन्दा केही फरक पाउनुभयो ?

नेदरल्याण्ड्स टिमका केही खेलाडी परिवर्तन हुनुबाहेक अरु खासै नयाँ कुरा केही थिएन । पहिला र अहिले उस्तै हो । नेदरल्याण्ड्सले नेपालमा आएर पनि सिरिज खेल्ने इच्छा देखाएको छ । आईसीसी र नेपाल क्रिकेट बोर्ड कसरी बढ्छन् त्यसमा नै निर्भर हुनेछ ।

एसिया कपमा पनि समर्थकहरुले ठूलो आश राखेका छन्, यो भ्रमणले त्यसमा केही मद्दत पुर्‍याउँछ ?

हो, यो महिनाको अन्त्यमा एसिया कप क्वालिफायर हुँदैछ । त्यो पनि हाम्रा लागि महत्वपूर्ण नै छ ।

हेर्दै जाऔं, हामी राम्रो गर्दै जाने आशमा छौं । हामी एकपछि अर्को राम्रो नतिजाको लागि नै बढ्दै जाने हो । एसियामा सबै देशले सबैलाई चुनौती दिन सक्छन् । त्यसैले हाम्रा लागि निकै चुनौती पनि छ । भारत पाकिस्तानसँग खेल्न पाउनु हाम्रा लागि ठूलो अवसर भएकाले पनि छनोटमा जित्न उच्च मनोबल राख्ने छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment