+
+

सञ्चार मन्त्रालयको एकीकृत कार्ययोजना सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन २१ गते १८:३९

२१ साउन, काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चालु आर्थिक वर्ष २०७५/०७६ मा सञ्चालन गर्ने कार्यक्रमहरु कार्यान्वयनको एकीकृत कार्ययोजना सार्वजनिक गरेको छ ।

सोमबार मन्त्रालयमै पत्रकार सम्मेलन गरी मन्त्री गोकुल बास्कोटाले मन्त्रालय अन्र्तगतका सबै विभागीय प्रमुखहरुको उपस्थितिमा कार्ययोजना सार्वजनिक गरेका हुन् ।

उनले मन्त्रालयको एक मात्र उद्देश्य पारदर्शी ढङ्गले तय गरिएको तालिका अनुसार समयमै योजना सम्पन्न गर्नेतर्फ केन्द्रित रहने बताए । ‘कार्ययोजना सार्वजनिक गर्नु परम्परा मात्रै होइन’ मन्त्री बास्कोटाले भने, ‘सबै निकायले ‘समृद्ध राष्ट्र र सुखी नेपाली’को सपना पुरा गर्ने गरि काम गर्नेछन् भन्ने विश्वास छ ।’

उनले विभागीय प्रमुखहरुलाई स्पष्ट र गर्न सक्ने योजना मात्र तय गर्न र छलकपट गर्न सकिन्छ कि भन्ने नसोच्न चेतावनी दिए । ‘जुन उद्देश्यका लागि जुन समयसीमाभित्र काम गर्नेगरी योजना बनाइएको छ, त्यहि अनुसार काम हुनुपर्छ’ मन्त्री बासकोटाको निर्देशन छ, ‘सबै विभागीय प्रमुखहरुलाई मेरो आग्रह, आफैंले बनाएका योजनाका कारण स्पष्टीकरण र कारबाही भोग्ने अवस्था नबनाउनुहोला ।’

डिजिटल नेपाल अहिले राष्ट्रकै प्रथमिकतामा रहेको र डिजिटल अडिट मन्त्रालयको मुख्य प्राथमिकतामा भएको उनले बताए ।

के के छ कार्ययोजनाको प्राथमिकता ?
·       यहि वर्षदेखि ‘सेक्युरिटि प्रेस’ लागू गर्ने
·       हुलाक सेवालाई नयाँ ढङ्गले अघि बढाउने
·       सञ्चार क्षेत्रका लागि डाटा सेन्टरको स्थापना
·       रेडियो, टीभीको लाइसेन्स दिनेबारे नयाँ व्यवस्था लागू र निरन्तर निगरानी
·       प्रत्येक तीन/तीन महिनामा विभागीय प्रमुखहरुको प्रगति विवरणसहित रिर्पाट माग, अध्ययन र निर्देशनको सुरुवात,
·       टेक्निकल अडिटको सुरुअात
·       सूचना प्रविधिमा सबै नागरिकको पहुँच सुनिश्चितता
·       सबै स्थानिय तहसम्म अप्टिकल फाइबर विच्छ्याउने कार्यमा तिव्रता
·       ‘नागरिक अधिकार मोबाइल एप्स’ निर्माण, परिक्षण गरी प्रयोगमा ल्याउने
·       सामुदायिक विद्यालय, अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा उच्च गतिको इन्टरनेट सुविधा,
·       पत्रकार दुर्घना विमा र पत्रकार वृत्ति कोष परिचालन
·       इलेक्ट्रोनिक टिकेटिङसहित चलचित्र वितरण र प्रदर्शन गर्न बक्स अफिस लागू गर्ने

कार्ययोजनामा उल्लेखति सबै प्राथमिकतालाई प्रभावकारी ढङ्गले पुरा गर्नेतर्फ जिम्मेवार हुने र हुनुपर्नेमा मन्त्रालयले जोड दिएको छ ।

मन्त्री बास्कोटाले सरकारको मुख्य लक्ष्य आर्थिक बृद्धि भएकाले त्यहि अनुसार मन्त्रालयले आफ्नो कामलाई व्यवस्थित र मर्यादित बनाउनका लागि प्राथमिकता निर्धारण गरेको बताए । ‘हामीले प्राथमिकता मात्र निर्धारण गरेका छैनौं’ उनले भने, ‘त्यहिअनुसार कार्यायोजना तय भएको छ ।’

काम ढिला गरेर बजेट आएन भन्ने तर्क नगर्न आग्रह गर्दै उनले समयमै काम गरेर समयमै बजेट लिन विभागीय प्रमुखहरुलाई निर्देशन दिए ।

यस्ता छन् कार्यक्रम कार्यान्वयनका आधारहरु

·       नियमित अनुगमन र खबरदारी
·       चौमासिक समिक्षाभन्दा पहिले ३ महिने प्रगति पूर्व-समिक्षाको सुरुवात
·       नीतिगत त्रुटीमा सुधार र व्यबहारिक कार्यान्वयनको थालनी
·       जनशक्ति व्यवस्थापनमा पारदर्शीता र सम्वन्धित क्षेत्रका विज्ञलाई प्राथमिकता

सार्वजनिक गरिएको कार्यक्रम कार्यान्वयनको कार्ययोजना आपसी समन्वय र छलफलबाट तयार गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सह-सचिव रामचन्द्र ढकालले कार्ययोजनाको प्रभावकारी कार्यान्वयन आफुहरुको प्राथमिकतामा रहेको बताए । ‘कार्यान्वयन गर्न समयबद्ध तालिका तय गरिएको छ’ ढकाल भन्छन्, ‘तय गरिएअनुसार समयमै जिम्मेवारी पुरा गर्नेतर्फ दृढतापुर्वक लाग्ने विश्वास दिलाउन चाहन्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?