Comments Add Comment

कान्द्रा नदीमा पुल नबन्दा भजनीवासीलार्इ सास्ती

२२ साउन, कैलाली । जब पानी पर्न थाल्छ, खोलापारी बसोवास गर्नेहरुको मनमा त्रास फैलिन्छ । कारण, खोलावारीपारी गर्न डुंगाको विकल्पै छैन।

वर्षायाम सुरु भएसँगै भजनी नगरपालिकाका वडाहरु ५, ७ र ९ मा बसोबास गर्नेहरुको दिनरात त्रासमै वित्ने गरेको छ ।

ती वडामा बसोबास गर्नेहरुको ज्याला मजदुरीदेखि औषधिमुलो र शैक्षिक गन्तब्य हो भजनी बजार । जहाँ आउनजान डुंगाको प्रयोग अनिवार्य छ ।

पुरानो र पानी फालिरहनु पर्ने डुंगाबाट ओहोरदोहर गर्दा कतिबेला के हुने हो भन्ने चिन्ताले सधै पिरोल्ने गरेको भजनी नगरपालिका ५ की कल्पना साउँदले बताइन् । उनी उच्च शिक्षाका लागि हरेक दिन यही खोला यही डुंगाबाट तर्न बाध्य छन् ।

उनी कक्षा ८ मा पढ्दै गर्दा कान्द्रा नदीमा पुल बन्दैछ भनेर सुनेपछि कम्ता धेरै खुसी भएकी थिइन् । तर, पुल बन्ने सुनेको पनि ६/७ वर्ष भैसक्यो, ठेकेदारले पुल त के पिल्लरसम्म पनि न उठाएको देख्दा सरकार नभएको महशुस भएको कल्पनाले सुनाइन् ।

उनले अघि थपिन – ‘के हाम्रो पुल तरेर वारीपारी गर्ने सपना पूरा होला ।’ ‘के साच्चै समयमा काम न गर्ने ठेकेदारलाई कारवाही गर्ने कुनै निकाय छैन ?’ उनी प्रश्न गर्छिन ।

कान्द्रा नदिमा समयमा पुल नबन्नुमा स्थानीय जनप्रतिनिधि र यस क्षेत्रका राजनैतिक दलका नेताकार्यकर्ताहरु दोषी देख्छन भजनीका पत्रकार जय बुढा ।

‘आफ्नो क्षेत्रमा भएगरेका विकास निर्माण हुन वा अरु कुनै काम उनीहरुले (स्थानीय जनप्रतिनिधि र राजनैतिक दलका नेताकार्यकर्ता) चासो दिनु पर्दैन ?’ उनले प्रश्न गर्दै भने, ‘ ७/७ वर्षसम्ममा पनि जाबो एउटा पुल बनाउन नसक्नेबाट यहाँका जनताहरुले अरु के अपेक्षा गर्ने ।’

अलपत्र अवस्थामा रहेको कान्द्रा नदीको निर्माणाधीन पुल ।

नदीमा पुल नहुँदा सबैभन्दा बढी मार विद्यार्थीहरुलाई पर्ने गरेको स्थानीय शिक्षक मानबहादुर साउँदले बताए ।

उनले वर्षातको ३ महिनासम्म विद्यार्थीहरु पढाइबाटै बञ्चित हुने अवस्था रहेको बताए । पानी परिरहेको बेलामा डुंगा समेत नचल्ने हुँदा खोला किनारमा बसेर घर र्फकनुको विकल्प विद्यार्थीहरुसंग नरेहेको उनले सुनाए ।

पुलका बारेमा आवाज उठाईदिनु पर्‍यो भनेर स्थानिय जनप्रतिनिधी लगायत राजनितिक दलका नेताहरुलाई पटक/पटक समस्या राखेपनि कसैले सुनुवाई नगरेको शिक्षक साउँदले गुनासो गरे ।

भजनी नगरपालिकाकी उपमेयर छायाँ देवकोटाले वर्षा सुरु भएपछि धेरै समस्या हुने गरेको सुनाइन् ।

उनले कान्द्रा नदिमा निर्माणाधीन पुलका विषयमा आफुले पटक-पटक कुरा उठाएको भएपनि सम्बन्धित पक्षले चासो नदेखाएको बताइन् ।

उता हुलाकी सडक आयोजनाका प्रमुख मनिषकुमार झाले पुल निर्माणमा ठेकेदारले लापरवाही गरेको स्वीकार गरे ।

उनले पुलको डिजाइन परिवर्तन भएका कारण केही समय ढिलो भएपनि असार मसान्तसम्म पुल निर्माण सम्पन्न गर्ने गरी म्याद थप गरिएको बताए ।
यद्यपि, असार मसान्त पनि सकिएको बताउँदै उनले ठेकेदारले सोझै केन्द्रमा म्याद थपका लागि निबेदन दिएको सुन्नमा आएको बताए ।

२ बर्षको ठेक्का लिएर २०६८ जेठ ३१ गतेदेखि काम सुरु गरेको लामा शेर्पा जेभी प्रालीले २०७० मंसिर मसान्तसम्ममा पुलको काम सम्पन्न गरिसक्नु पर्ने हो तर बिभागबाट पटक पटक म्याद थप गरेपनि ठेकेदारले अहिलेसम्म पुलको २५ प्रतिशत काम मात्रै सम्पन्न गरेको आयोजनाले जानकारी दिएको छ ।

हुलाकी सडक आयोजना अन्तर्गत ३ करोड ४५ लाख २० हजारको लागतमा २०६८ साल जेठ ३१ गते २ वर्षमा निर्माण सम्पन्न गर्नेगरी ठेक्का सम्झौता गरेको लामा शेर्पा जेभीले सम्झौता मिति सम्पन्न गर्दासम्म कामको सुरुवातनै नगरेको स्थानियहरु बताउँछन् ।

पहिलो मिति सकिएपछि म्याद थप गरी निर्माण सुरु गरेको लामा शेर्पा जेभीले थपेको समय पुरा भई अरु ५ वर्ष बित्दासम्म २५ प्रतिशतपनि काम गर्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment