Comments Add Comment

प्रदेश ७ को राजधानी दिपायलमा बनाउन माग गर्दै मुख्यमन्त्रीलार्इ ज्ञापनपत्र

२२ साउन, कैलाली । प्रदेश ७ को राजधानी दिपायल हुनुपर्ने माग राख्दै आन्दोलनरत संघर्ष समितिको टोली मंगलबार धनगढी पुगेको छ ।

डोटी उद्योग वाणिज्य संघका अध्यक्ष नरेन्द्र  खड्काको नेतृत्वमा रहेको टोलीले प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्ट, सभामुख अर्जुनबहादुर शाह, प्रतिपक्षदलका नेता डा. रणबहादुर रावल र प्रदेशको स्थान र नामाकरणका लागि गठित बिशेष कार्यदलका संयोजक तारालामा तामाङ्गलाई भेटेर ज्ञापन पत्र बुझाएका छन् ।

ज्ञापनपत्र बुझाउनुअघि धनगढीको ट्राफिक चौराहाबाट ब्यानरसहितको र्‍याली विभिन्न कार्यालयहरुमा पुगी ज्ञापनपत्र बुझाएर फर्केको छ । ज्ञापन पत्र बुझदै नेताहरुले आश्वासन दिएपनि आफूहरु ढुक्क नभएको आन्दोलनका अगुवाहरुले बताएका छन् ।

देउवा सरकारले अस्थायी राजधानी तोक्नुभन्दा पहिला देखि नै आन्दोलनमा रहेको डोटीका जनताहरुले प्रदेशको राजधानी डोटी नभए कडा आन्दोलन गर्ने भनेपनि देउवा सरकारले धनगढीलाई अस्थायी राजधानी तोकेको थियो ।

धनगढी अस्थायी राजधानी भएपनि स्थायी राजधानी डोटी हुने कुरामा भने डोटीका जनताहरु ढुक्क हुन सकेनन् र आन्दोलन जारी राखे ।

गत पौष १२ गते देखिको आन्दोलन अहिलेसम्म निरन्तर रहेकेा आन्दोलनका अगुवा दीपक खड्काले बताए ।

उनले अहिले आन्दोलनको स्वरुप परिवर्तन गरिएको भन्दै आन्दोलन नै बन्द नभएको र आन्दोलन डोटी राजधानी नभएसम्म जारी रहने बताए ।

प्रदेशको अस्थायी राजधानी धनगढी तोकिएपछि सुरु भएको आन्दोलन यहाँका नेताहरु आएर आश्वास दिएपछि स्वरुप परिवर्तन गरिएको डोटी उद्योग बाणिज्य संघका अध्यक्ष नरेन्द्र खड्काले बताए ।

उनले यसै क्षेत्रबाट निर्वाचिन नेता प्रेम बहादुर आले, भरत खड्का र अहिलेका मुख्यमन्त्री त्रिलोचन भट्टले समेत डोटी राजधानी नभए आफूहरुले राजीनामा दिने बताएपछि आन्दोलनको स्वरुप परिवर्तन गरिएकेा बताए ।

प्रदेश सरकारले प्रदेशको राजधानी र नामाकरणका लागि विशेष समिति नै गठन गरेको छ ।

उक्त समितिले साउन २१ गतेसम्म प्रतिबेदन बुझाउने म्याद दिईएपनि सो अवधिमा काम पूरा नभएको भन्दै पुनः सातदिनको म्याद थप गरिएको छ ।

सोही कुरालाई मध्यनजर गर्दै दवाव दिनका लागि डोटीबाट अगुवाहरु धनगढी नै आएर ज्ञापन पत्र दिएको बताइन्छ ।

प्रदेश सरकारले स्थायी राजधानी तोक्न र नामाकरणका लागि प्रतिबेदन पेश गर्न प्रदेश सांसद तारा लामा तामाङको संयोजकत्वमा ५ सदस्यीय संसदीय समिती गठन गरेको छ ।

समितिमा संयोजक तारा लामा तामाङ, प्रदेश सांसद बलदेब रेग्मी, श्यामलाल राना, प्रेमप्रकाश भट्ट र चुनकुमारी चौधरी सदस्य रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment