Comments Add Comment

सिक्टाको गुणस्तर छानविन गर्न गाउँपालिकाको माग

२४ साउन, नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिकाले सिक्टा सिंचाइ आयोजनाको गुणस्तर छानविन गर्न संघीय र प्रदेश सरकारसँग माग गरेको छ ।

गाउँपालिका अध्यक्ष लाहुराम थारुको अध्यक्षतामा बुधबार बसेको गाउँ कार्यपालिका बैठकले राष्ट्रिय गौरवको यस आयोजनाको अवस्था नाजुक हुन पुगेको निस्कर्षसहित गुणस्तर छानविन गर्नुपर्ने निर्णय गरेको हो ।

सरकारले विशेष प्राथमिकतामा राखेको सिक्टा सिंचाइ आयोजनाले बाँकेको कृषि क्षेत्रलाई कायापलट गर्ने अपेक्षा राखिएको छ । तर, परीक्षणकै क्रममा पटक पटक भत्किएपछि यसको गुणस्तरमा प्रश्न उठेको छ । नहर पहिलो पटक परीक्षण गर्दा २०७३ असार १४ गते र दोस्रो पटक परीक्षण गर्दा यही साउन ७ गते ढकेरीस्थित चंगाई नाला नजिक भत्किएको थियो ।

काम गुणस्तरीय नभएकाले भत्किएको भन्दै स्थानीयबासीले दोषीलाई कारवाहीको माग गर्दै आएका छन् ।

राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ अगैयामा आयोजनाको हेडवर्क्स र वडा नम्बर २, ८ र ९ हुँदै पश्चिम मुल नहरको संरचना निर्माण भएको छ । राज्यको अर्वौ रुपैयाँ लगानी लागेको आयोजनाको पश्चिम मुल नहर पटक-पटक भत्किने गरेको र सोही नहरका कारण वडा नम्बर २, ८ र ९ का जनता असुरक्षित हुन पुगेकाले गुणस्तर छानविन गर्न माग गरिएको बैठकपछि गाउँपालिका अध्यक्ष लाहुराम थारुले बताए । ‘सिक्टाको गुणस्तर छानविन गर्न बैठकबाट हामीले माग गरेका छौं,’ उनले भने, ‘बैठकको निर्णय संघीय र प्रदेश सरकार समक्ष पठाउने, सिक्टा सिंचाइ आयोजना कार्याललाई बोधार्थको रुपमा जानकारी गराउने निर्णय भएको छ ।’

गाउँपालिकाका अध्यक्ष थारुले स्थानीय स्तरबाट उठिरहेको आवाजलाई संघीय र प्रदेश सरकारले तत्काल सम्बोधन गर्नुपर्ने बताए ।

सिक्टाको गुणस्तरका विषयमा उठेको प्रश्नबारे संघीय सरकारले तत्काल अध्ययन गरी समस्या समाधानको पहल गर्नुपर्ने बैठकमा सहभागी कार्यपालिका सदस्यहरुले माग गरेका थिए ।

बैठकको सुरुमा गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्री, वडा नम्बर २ का वडाअध्यक्ष मदन ओली र वडा नम्बर ९ का अध्यक्ष महाबीर ओलीले सिक्टा सिंचाइ आयोजनाको काम तथा गुणस्तर र गाउँबस्तीमा निम्त्याएको जोखिमका विषयमा अवगत गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment