Comments Add Comment

प्रदेश ५ को नेकपा अध्यक्षमा दलवहादुर र गणेशमान पुनको नाम सिफारिस

एकीकृत जिल्ला कमिटीका सबै अध्यक्षको नाम सर्वसम्मत

३१ साउन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रदेश ५ कमिटीको अध्यक्षमा दलबहादुर राना मगर र गणेशमान पुन मगरको नाम सिफारिस भएको छ ।

प्रदेश र जिल्ला कमिटी एकीकरण गर्न गठित कार्यदलले विहीबार महासचिव विष्णु पौडेललाई अध्यक्षहरुको नाम सिफारिस सहितको प्रतिवेदन बुझाएको हो ।

प्रदेश अध्यक्षमा सिफारिस भएका दलबहादुर रानामगर पाल्पा १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा तत्कालिन एमालेका प्रदेश ५ सहसंयोजक हुन् । त्यस्तै गणेशमान पुन तत्कालिन माओवादी जनमुक्ति सेनाका डिभिजन कमाण्डर तथा पूर्वमन्त्री हुन् ।

कार्यदलले सर्वसम्मत रुपमा प्रतिवेदन तयार पारेर बुझाएको नेकपा स्थायी कमिटी सदस्य तथा कार्यदल सदस्य मणि थापाले बताए । प्रदेश कमिटीको अध्यक्ष पूर्वएमालेको भागमा परे दलबहादुर रानाले नेतृत्व गर्नेछन् भने पूर्व माओवादीको भागमा परे गणेशमानले नेतृत्व गर्नेछन् ।

कार्यदलले प्रदेश ५ का जिल्ला नेतृत्व पनि सर्वसम्मत रुपमा सिफारिस गरेको छ । प्रदेश ५ का १२ जिल्लामध्ये तत्कालिन एमालेले ७ र माओवादीले ५ जिल्लाको नेतृत्व पाउनेछन् ।

जसअनुसार पूर्वएमालेबाट दाङमा शिव आचार्य, प्युठानमा तुलसीराम शर्मा, अर्घाखाँचीमा पिताम्बर भुसाल, कपिलबस्तुमा छबिलाल पोखरेल र रुपन्देहीमा गोपाल भट्टराई अध्यक्ष सिफारिस भएका छन् ।

त्यस्तै पूर्व एमालेले अध्यक्ष पाएको गुल्मीमा बालसिंह काउछा मगर र पाल्पामा राधाकृष्ण कँडेल सिफारिस भएका छन् । पूर्व माओवादीले जिल्ला अध्यक्ष पाएको बर्दियामा भुवन थारु, नवलपरासीमा घनश्याम यादव, बाँकेमा अक्कलबहादुर बम, पूर्वी रुकुममा होमप्रकाश श्रेष्ठ र रोल्पामा सुरेन्द्र घर्ती मगर अध्यक्षमा सिफारिस भएका छन् ।

कार्यदलमा पूर्व एमालेबाट शंकर पोखरेल, दलबहादुर राना र भूमिश्वर ढकाल र पूर्व माओवादीबाट मणि थापा र गणेशमान पुन थिए । यो प्रदेशबाट नेकपाका धेरै प्रभावशाली नेताहरु प्रतिनिधित्व गर्छन् ।

वरिष्ठ नेता बामदेव गौतम, महासचिव विष्णु पौडेल,शंकर पोखरेल, प्रदीप ज्ञवाली, घनश्याम भुसाल, वर्षमान पुन, गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, मणि थापा, टोपबहादुर रायमाझी, सभामुख कृष्णबहादुर महरालगायतका नेता यही प्रदेशबाट प्रतिनिधित्व गर्छन् ।

अन्य प्रदेशमा पनि सहमति हुँदै

सातै प्रदेशको एकीकरण प्रक्रिया टुंगोमा पुगेको नेकपा स्रोतले जनाएको छ । सबै प्रदेशका संयुक्त कार्यदलले एकीकरणको टुंगो लगाएर सिफारिस सहितको प्रतिवेदन आजै साँझसम्म महासचिव विष्णु पौडेल समक्ष पेश गर्दैछन् ।

प्रदेश कमिटीमा रहने सदस्यहरुको संख्या, जिल्ला कमिटी बाँडफाँटलगायतका मुख्य काम अन्तिम चरणमा पुगेको र प्रदेश अध्यक्ष तथा सचिवको नामसमेत कतिपय प्रदेशले सर्वसम्मत रुपमा सिफारिस गर्न खोजेका छन् ।

प्रदेश कार्यदलको सिफारिस अनुसार जिल्ला र प्रदेश कमिटीहरुको गठन गरिने र भदौ ८ गते बस्ने स्थायी कमिटी बैठकले एकीकरणलाई अन्तिम रुपम दिने नेकपा केन्द्रीय सदस्य विष्णु रिजालले बताए । कार्यदलको सिफारिसका आधारमा केन्द्रीय सचिवालयले स्थायी कमिटीमा प्रस्ताव लैजाने उनले जानकारी दिए ।

नेकपा स्रोतका अनुसार केही प्रदेशका कार्यदलले सहमति जुटाउन नसकेकाले प्रतिवेदन बुझाउने साउन मसान्तको म्याद थप्न आग्रह गरेका छन् । विहीबार विहानैदेखि सातै प्रदेशका कार्यदलका बैठक बसिरहेका छन् ।

प्रदेश १ को कार्यदलका सदस्य तथा मुख्यमन्त्री शेरधन राईले अबेरसम्म कार्यदलले आफ्नो सिफारिस सहितको प्रतिवेदन बुझाउने बताए । उनले सर्वसम्मत रुपमा जिल्ला र प्रदेशको एकीकरण हुने दावी गरे ।

स्रोतका अनुसार प्रदेश १ को कमिटीमा पूर्व एमालेबाट १२२ र पूर्व माओवादीबाट ८५ सदस्य रहने सहमति भइसकेको छ । प्रदेशको नेतृत्व पूर्व एमालेले गर्नेछ । प्रदेश अध्यक्षका लागि जगन्नाथ खतिवडा, राजेन्द्र राई, घनेन्द्र बस्नेत, देवराज घिमिरे, राजेन्द्र गौतम र गुरु बरालको दाबी रहेको छ ।

यसैबीच जिल्ला कमिटी तलबाटै सर्वसम्मत भएर आएपछि प्रदेश कार्यदलले जस्ताको तस्तै केन्द्रीय सचिवालयलाई पेश गर्ने भएका छन् । पहिलो बैठक बस्ने भदौ १५ गते अगाडि प्रायः सबै जिल्ला कमिटी सर्वसम्मत चयन हुने सम्भावना रहेको स्रोतले जनाएको छ ।

प्रदेश २ को कार्यदलले प्रतिवेदन तयार गर्न सकेको छैन । जिल्ला चार चारवटा बाँड्ने सहमति भए पनि कुन जिल्ला पूर्वएमालेले र कुन पूर्वमाओवादीले लिने भन्ने अझै टुंगो नलागेको स्रोतले जनाएको छ । प्रदेश अध्यक्षमा पूर्वमाओवादी नेताहरु विश्वनाथ साह र प्रभु साहमध्ये एकको सम्भावना छ ।

प्रदेश ३ को कार्यदलले सबै टुंगो लगाएर प्रस्ताव पेश गर्ने तयारी रहेको कार्यदल सदस्य अष्टलक्ष्मी शाक्यले जानकारी दिइन् । प्रदेश अध्यक्षमा निवर्तमान कानुनमन्त्री शेरबहादुर तामाङ र पूर्वपर्यटनमन्त्री आनन्द पोखरेलको दावी छ ।

प्रदेश ३ का १४ जिल्लामध्ये पूर्वमाओवादीले ५ र पूर्वएमालेले ९ जिल्लाको नेतृत्व गर्ने सम्भावना छ । पूर्वमाओवादीले चितवन, सिन्धुली, रामेछाप र रसुवाको अध्यक्ष पाउने स्रोतले जनाएको छ । यद्यपि सिन्धुपाल्चोकको दावी पूर्वमाओवादीले छाडेको छैन ।

पूर्वएमालेबाट अध्यक्ष पाउने सहमति भएकामध्ये ललितपुरमा हरिकृष्ण ब्यञ्जनकार र दोलखामा भीम दाहाल सर्वसम्मत सिफारिस भएका छन् । सिन्धुपाल्चोकमा झम्क नेपालको सिफारिस भए पनि दुवैतिरबाट विवाद आएकाले अन्तिम टुंगो नलागेको स्रोतले जनाएको छ ।

प्रदेश ४ को कार्यदलले टुंगो लगाउन बाँकी रहेको कास्की र मनाङमध्ये कास्की पूर्वएमालेले पाउने भएको छ । यसअघिनै नवलपुर, तनहु, लम्जुङ, बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङको अध्यक्ष पूर्वएमालेले पाउने सहमति भएको स्रोतले जनाएको छ ।

प्रदेश अध्यक्षमा पूर्वमाओवादीबाट हरि अधिकारी र पूर्वएमालेबाट तुलबहादुर गुरुङको दावी रहेको छ । प्रदेश ६ को कार्यदलले आफ्नो प्रतिवेदन गत सातानै बुझाइसकेको छ ।

प्रदेश ७ को कमिटीले नेतृत्वको नामबाहेक अरु टुंगो लगाएको कार्यदल सदस्य कर्णबहादुर थापाले बताए । जस अनुसार कञ्चनपुर, दार्चुला, बझाङ र डडेलधुराको नेतृत्व पूर्वमाओवादीले पाएको छ । पूर्वएमालेले कैलाली, वैतडी, डोटी, अछाम र बाजुराको नेतृत्व पाएको छ ।

अध्यक्षमा पूर्वएमालेबाट कर्णवहादुर थापाको सम्भावना छ । पूर्वमाओवादीले अध्यक्ष लिने अवस्थामा लेखराज भट्ट अध्यक्ष र भीम रावल इन्चार्ज बन्ने विकल्पमा पनि छलफल भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment