Comments Add Comment

नारायणगढ–मुग्लिन सडकखण्डका पुल निर्माणमा ढिलाइ


१ भदौ, चितवन । मुग्लिन सडकखण्डको पुल निर्माणमा ढिलाइ भएको छ । सडक खण्डमा निर्माण हुन लागेका १८ पुलमध्ये ४ वटाकाे निर्माण शुरू भए पनि गति  लिन सकेकाे छैन ।

सडक खण्डको दासढुङ्गा, खानी, मौरी र २९ किलोमिटरको जलवीरेको पुल निर्माणमा ढिलाइ भएको हो ।

ती पुल निर्माण गर्न सोही सडक निर्माण गरेका २ ठेकेदार कम्पनीलाई ठेक्का दिइएको हो । जलवीरे पुल निर्माणको ठेक्का रौताहा कन्ष्ट्रक्सनले गरिरहेको छ भने अन्य ३ पुल निर्माणको ठेक्का लामा कन्ष्ट्रक्सनले पाएको छ ।

नारायणगढ मुग्लिनसडकखण्ड निर्माणका तीन ठेकेदार कम्पनीमध्ये रौताहा सबैभन्दा ढिलो काम गर्ने कम्पनी हो । जलवीरे पुलको लम्वाइ ८० मिटर हुनेछ । निर्माण लागत रू. १४ करोड छ । मौरीपुल ३० मिटर, खानीपुल ३० मिटर र दासढुंगा पुल २० मिटर लम्बाइका छन् । सवै पुलको चौडाइ ११ मिटर हुने छन् ।

साना ३ पुलको कूल निर्माण लागत रु १३ करोड छ । पुलको दुवै छेउमा १ दशमलव ५ मिटरका दरले फुटपाथ रहने छन् । सन् २०१७ को अक्टोवर १७ मा निर्माण सम्झौता गरिएका पुल निर्माण २१ महिनाभित्र गरिसक्ने उल्लेख छ ।

ठेक्का सम्झौताको १० महिना बितिसक्दा २० प्रतिशत मात्रै काम भएको छ । पुल डिजाइन सम्बन्धमा केही समस्या भएकोले खानी पुल र जलवीरे पुल निर्माणमा ढिलाइ भएको नारायणगढ मुग्लिन सडक आयोजनाका सूचना अधिकारी शिव खनालले बताए ।

सडक विभागको वैदेशिक महाशाखाले पुल निर्माणको अनुगमनको जिम्मेवारी नारायणगढ–मुग्लिन सडक आयोजनालाई नै दिएको छ । मौरी पुल र दासढुंगा पुलको भौतिक प्रगति ३१ प्रतिशत छ । अब ६ महिनाभित्र यी दुवै तयार हुने सूचना अधिकारी खनालले दाबी गरे । खानी पुल र जलवीरे पुलमा भने समय बढी लाग्ने देखिएको छ ।

जलवीरे पुलको खाल्डो खन्नेबाहेक अन्य काम भएको छैन् । यसको भौतिक प्रगति जम्मा ७ प्रतिशत मात्रै छ । अबको ११ महिनामा पुल निर्माणको काम नसक्ने अवस्था देखिएको छ । अहिले बर्खा भएकाले काम गर्न समस्या भएको सूचना अधिकारी खनालको भनाइ छ ।

सो सडकमा १८ वटा पुल रहेका छन् । अन्य पुलको निर्माणका लागि भने विश्व बैंकले चासो दिएकाले सडक विभागको वैदेशिक महाशाखाले गृहकार्य गरिरहेको छ । सडकखण्ड विस्तार भए पनि साँघुरा पुलका कारण दुर्घटना बढाएको छ । जामको समस्या पनि उत्तिकै छ । मुख्यगरी मुग्लिनदेखि जलवीरेसम्मको सात किलोमिटरमा अझै सास्ती छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment