Comments Add Comment

पुरानो ‘ब्वाईफ्रेन्ड’ ले दिक्क लगायो, अब के गर्ने ?

करुणा मेम नमस्कार, म तपाईंकी नियमित पाठक भएकी छु । मेरो प्रश्न केही लामो छ । आशा छ झर्को नमानी मेरो समस्या समाधान गरिदिनु हुनेछ ।

धेरै समयअघिको कुरा हो । त्यो बेला म १७ वर्षकी मात्र थिएँ । त्योबेला म एउटा युवकलाई प्रेम गर्दथें । त्यो चञ्चले उमेरमा मेरो प्रेमीसँग पटकपटक यौनसम्पर्क भयो । बिस्तारै म उसको एडिक्ट भएँ । यही कारण जुन बेला हाम्रो फुर्सद हुन्थ्यो, हामी सम्पर्क गर्दथ्यौं । सचेत हुँदा हुँदै पनि कुन बेला गर्भ बस्यो, थाहै भएन । मैले गर्भपतन गराएँ । गर्भपतन गराएपछि मात्र म कति गलत काम गरिरहेकी रहेछु भन्ने महसुस भयो । तीन–चार महिनापछि म पूर्ण स्वस्थ भएँ । हिजो जे गलत भयो, अब यतातिर लाग्दिनँ, बरु करियरतिर ध्यान दिन्छु भनेर मनमनमा कसम खाएँ ।

तर, मेरो प्रेमीले मेरो समस्यालाई सामान्य रुपमा लियो र जहिल्यै यौनसम्पर्कको प्रयास गरिरह्यो । जुन बेला म एक्ली हुन्थें, त्योबेला उ मेरो कोठामा पस्दथ्यो र मिठा मिठा कुरा गरेर मलाई यौन सम्पर्कका लागि राजी गराउँथ्यो । जुनबेला उ मेरो शरीरका लागि मात्र मसँग सम्पर्क राख्छ भन्ने कुरा महसुस गरेँ, उसँग ब्रेकअप गरें । त्यसपछि ऊ टाढा भयो ।

अहिले मेरो विवाह भइसकेको छ । सानो सुखी परिवार छ । तर, त्यही युवक आजभोलि पुनः मसँग यौन सम्पर्कका लागि प्रयास गरिरहन्छ । बेलाबेलामा फेसबुकमा मलाई पच्छ्याइरहन्छ । मैले हुँदैन भन्यो भने तेरो घरमा पुरानो कुरा भनिदिन्छु भनेर ब्ल्याकमेल गर्ने प्रयास गर्छ । यसले मलाई साह«ै तनाव दिएको छ । म के गरौं ?

–छोरीकी आमा

तुरुन्तै प्रहहरी कार्यालयमा जानोस्

सुरुमै तपाईंलाई सुझाव दिन चाहन्छु, आजभोलि साइबर कानुन निकै गम्भीर भएर आएको छ । तपाईंलाई पुरानो प्रेमीले घरमा भनिदेला भन्ने जुन डर छ, त्यो डर हटाइदिनू होला । किनभने कानुनले तपाईंको कुरा गोप्य राखिदिने अधिकार पनि दिएको छ । यसका लागि आजै नजिकको प्रहरी चौकीमा गएर त्यहाँको हाकिमलाई भेटेर गोप्यरुपमा आफ्ना कुरा राख्नुस् ।

यदि यसो गर्न सम्भव छैन भने कुनै कानुन बढेको विस्वासिलो मानिसलाई सम्पर्क राखेर उनीमार्फत नै प्रहरी चौकी जानुहोस् । यसो गर्न पनि सम्भव छैन भने एकजना विस्वासिलो साथीलाई साथ लिएर कुनै पनि कानुनी व्यक्तिलाई सम्पर्क राख्नुहोस् । महिलाको संवेदनशीलतामा अहिले निकै प्रश्न उठेकाले र कानुनले नै गोपनीयताको ग्यारेन्टी गरेकाले उसले घरमा भन्नुअघि नै उसलाई प्रहरीमार्फत कानुनी कठाघरामा ल्याउन सकिन्छ ।

कुनै पनि युवालाई एकपल्ट कानुनी अपराध गरेको ठहर भएमा उसको सम्पूर्ण जीवनमा ठूलो दाग लाग्छ । यसले सरकारी लगायत धेरै प्रकारको जागिर वा सार्वजनिक काम गर्ने अधिकारबाट बञ्चित हुन्छ । काुननी वा प्रशासनिक माध्यमबाट उसलाई कानुनमा भएका यस्ता बुँदा बुझाउने बित्तिकै उसले तपाईंलाई कुनै गलत काम गर्ने हिम्मत गर्नेछैन ।

खासमा महिला कमजोर हुन्छन्, इज्जतका लागि सबै कुरा सहन्छन् भन्ने सामाजिक धारणाका कारण तपाईंको पूरानो प्रेमीले तपाईंलाई ब्लाकमेलिङ् गर्ने हिम्मत गरेको हो । अलिकति निडर भएर त्यसको प्रतिवाद गर्ने बित्तिकै यस्ता समस्या समाधान हुन्छ ।

जहाँसम्म तपाईंलाई श्रीमान्को डर छ, त्यो पनि आजको युगमा पुरानो कुरा भैसक्यो । आजका पढेलेखेका पुरुषहरुले श्रीमतीको बिगतको कुनै कुरा पक्रेर त्यही आधारमा पारिवारिक समस्या खडा गर्छन् भने बुझ्नुपर्छ, उ असल श्रीमान् होइन ।

सम्बन्ध भनेको विस्वासका आधारमा अडिएको हुन्छ । हिजो भएका कुनै गल्तीलाई आधार बनाएर आजको जीवनमा समस्या ल्याउनु मुर्खता हो भन्ने कुरा सबैले बुझ्नु पर्छ । तपाईंका श्रीमान् यस्ता कुरा बुझ्न सक्नु हुन्न भने गोपनीयताको प्रयास गर्नु राम्रो हो । तर प्रेमीले समस्या खडा गर्नु अगावै श्रीमान्लाई पूराना कुरा भनेर उनको बिस्वास जित्नु नै बुद्धिमानी हुन्छ ।

१९ वर्षभन्दा कम उमेरमा विपरीत लिंगप्रति आकषिर्त हुनु स्वभाविक हो । यो उमेरमा हामीलाई धेरै कुरा थाहा पनि हुँदैन । कसैप्रतिको आकर्षण र वास्तविक प्रेमसम्वन्ध फरक कुरा हुन् । यो उमेरमा तपाईंसँग घटेको घटना अस्वभाविक होइन, तर प्रेम र यौनका गतिविधिहरूमा हामीले देश, समाज र परिवेशले निर्धारण गरेको मापदण्डअनुसार आफूलाई समायोजन गर्नुपर्ने हुन्छ । यसअन्तर्गत आफ्ना व्यक्तिगत मापदण्ड बनाउन सकिन्छ ।

प्रेम र यौनका सम्बन्धमा आफैंले पनि एकपटक गम्भीर भएर चिन्तन गरे अगाडि बढ्ने कि नबढ्ने भन्ने परिपक्व निर्णय गर्न मद्दत पुग्छ ।

जहाँसम्म पुराना घटनाप्रति पश्चातापको कुरा छ, यसरी समस्यामा पर्ने तपाईं एक्लो हुनुहुन्न । त्यो उमेरमा आफूले गरेको गल्तीेमा धेरैलाई पश्चाताप हुन्छ नै । त्यसमाथि पनि गलत मान्छेसँग त्यस्तो सम्बन्ध भएको घटनाप्रति पश्चाताप मान्नेहरूको सूची लामै छ । उक्त घटनाले तपाईंलाई पटक–पटक घचघच्याउनु स्वभाविक पनि हो । त्यसमाथि त्यो बेला प्रेम गरेको व्यक्तिले नै आज आएर ब्लाकमेलिङ् गर्छ भने यसले दिने पीडा म महसुस गर्न सक्छु । तर, यस्तो बेलामा चिन्ता गर्नुभन्दा कानुनी उपचारतिर लाग्नु नै हितकर हुन्छ ।

जहाँसम्म मनोबैज्ञानिक क्षतिको कुरा छ, तपाईंले उक्त घटनाबाट शिक्षा लिनुभएको छ कि छैन भन्ने पक्ष निकै महत्त्वपूर्ण हो । मनोविज्ञानका हिसाबले आफ्नो पुरानो घटनालाई छलफलमा ल्याएर समाधान खोज्नु नै एक कदम अगाडि बढ्नु हो । त्यसबाट पाठ सिकेर आगामी दिनमा त्यस्ता घटना रोक्नुभयो भने त्यसलाई शिक्षाकै रूपमा लिनुपर्ने हुन्छ । घटना दोहोर्‍याइरह्यो भने मात्र समस्या बढ्दै जान्छ ।

त्यसमाथि पनि माथि भनिएजस्तै गलत व्यक्तिसँग आफ्नो कौमार्य गुमाएकोमा महिलाहरुलाई बढी पश्चाताप हुने गरेको छ । युवकहरू अनौपचारिक यौनसम्पर्क मन पराउँछन् । अल्पकालीन सम्बन्ध मन पराउँछन् । यसको विपरीत महिलाहरू जीवन बिताउन पुरुषसँग दीर्घकालीन प्रतिबद्धता चाहन्छन् । पुरुष यौनसम्पर्कपछि प्रेम गर्ने खालका हुन्छन् भने महिलाहरू प्रेमपछि यौनसम्पर्क चाहन्छन् । महिलाहरू यौनसम्पर्कमा छनौटपूर्ण हुन्छन् । किनभने शिशु जन्माउनु, हुर्काउनु र उनीहरूसँग समय बिताउनु महिलाका लागि जैविक, भावनात्मक एवं प्रजननजन्य कुरा हुन् ।

यी सबै कारणबाट म तपाईंको समस्यालाई गम्भीररुपमा मनन गर्दै तुरुन्तै विश्वासिलो मानिसबाट कानुनी सल्लाह लिनका लागि आग्रह गर्छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment