Comments Add Comment

‘न्यारोबडीका सिट गन्हाइसके, नेपाल एयरलाइन्स के गर्दैछ?’


४ भदौं, काठमाडौं । पर्यटन मन्त्रालयले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)लाई ३ वटै टि्वनअर्टर विमान मर्मत गरेर सञ्चालनमा ल्याउन निर्देशन दिएको छ । पाइलट अभावमा चिनियाँ विमानहरु उडाउन नसकिरहेको निगमले आन्तरिक उडानमा प्रयोग हुने टि्वनअर्टर पनि चुस्त ढंगले उडाउन सकेको छैन ।

आइतबार मन्त्रालयमा आयोजित वाषिर्क समीक्षा कार्यक्रममा पर्यटनमन्त्री रविन्द्र अधिकारीले निगमका महाप्रवन्धक सुगतरत्न कंशाकारलाई टि्वनअर्टर विमान मर्मत गरेर उडाउने विषयमा हेलचेक्र्याँइ नगर्न निर्देशन दिए ।

निगमको एउटा टि्नअर्टर विमान थन्किएको एक वर्ष बढी भइसक्यो । इन्जिन फेरि चलाउन सकिने भएपनि निगमले त्यसमा चासो दिएको छैन ।

हाल निगमको तीनमध्ये एउटा मात्रै टि्वनअर्टर विमानले सेवा दिइरहेको छ । मन्त्री अधिकारीले निगमले सेवा दिन थालेपछि विभिन्न आन्तरिक गन्तब्यहरुमा वायुसेवाको भाडा घट्ने गरेको भन्दै देशभित्रका नागरिकलाई सेवासुविधा दिन सकिने विषयमा पनि सोच्न निगमलाई निर्देशन दिए ।

‘अब भएका विमान पनि बेच्नेबारे नसोच्नुस् । हिजो पनि भएका विमान बेच्ने र नयाा नथप्ने गरेकै कारण निगम धरासायी भयो । हामीले काम नलाग्ने भनेर बेचेका विमान अरुले उडाएको उडायै छन्,’ मन्त्री अधिकारीले कंशाकारलाई तोकेरै भने,’तपाइँहरु आन्तरिक उडान भने पछि किन पन्छिनु हुन्छ ? त्यसो नगर्नुस् ।’ उनले अब नयाँ विमान पनि थप्दै जाने र भएकालार्इ पनि उपयोग गर्ने नीति बनाउनुपर्ने बताए ।

उनले साँफेबगरमा तत्काल हवाई सेवा सुरु गर्न निगमलाई निर्देशन दिए । मन्त्री अधिकारीले महिनाको एकपटक उडाएर सेवा दिइरहेका छौं भन्ने रिपोर्ट नगर्न पनि निगमको ध्यानाकर्षण गरे ।

मन्त्री अधिकारीले नयाँ आएका वाइडबडीलाई अधिकतम् प्रयोग गरेर सेवा दिन पनि भने ।

‘नयाँ ल्याउने मात्रै हैन, पुरानो विमानको पनि व्यवस्थापन राम्रोसँग गर्नुस्, न्यारोबडीका सिट गन्हाइसके, सरसफाइ गरेनन् भन्ने छ,’ मन्त्री अधिकारीले भने,’यसो हुन भएन । आवश्यक जनशक्ति नपुगे थप्नुस्। काम नगर्ने खालका छन् भने विदा गरिदिनुस् ।’

उनले राम्रो बिजनेश प्लान बनाएर अन्तर्राष्ट्रिय उडान भर्न निगमलाई भनेका छन् ।

मन्त्री अधिकारीले नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निजी वायुसेवा कम्पनीलाई पनि दुर्गम क्षेत्रमा उडानका लागि बाध्य पार्न निर्देशन दिए ।

वायुसेवा कम्पनीले केही नाफा नहुने ठाउँमा पनि सेवा दिएर बिजनेस विस्तार गर्न प्रयत्न गर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment