Comments Add Comment

कञ्चनपुरमा गोली चलाएकोमा कांग्रेस र राप्रपाद्वारा बिरोध

प्रहरीको गोली लागेर घाइते भएका एक व्यक्ति ।

७ भदौ, काठमाडौं । कञ्चनपुरमा बलात्कारपछि हत्यामा संलग्नमाथि कारबाहीको माग गर्दै आन्दोलनमा उत्रिएकामाथि प्रहरीले गोली चलाएकोमा नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीले विरोध जनाएको छ ।

१३ वर्षकी निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्नलाई उन्मुक्ति दिन खोजेको भन्दै प्रहरी कार्यालयबाहिर प्रदर्शनमा उत्रिएकाहरुमाथि बिहीबार प्रहरीले गोली चलाएको थियो ।

कांग्रेस र राप्रपाले बिहीबार विज्ञप्ति जारी गरी प्रहरीको कदमप्रति विरोध जनाएको हो ।

जघन्य अपराधको गहिरो र गम्भीर छानविन गरेर अपराधीलाई कडा सजाय दिनुपर्ने दायित्व भएको सरकारले अनुसन्धानमा ढिलाइ गरेका कारण सर्वसाधारणमा आक्रोश बढेको भन्दै कांग्रेसले पीडित पक्षको आक्रोशलाई संयमितपूर्वक आत्मसात गर्नुपर्नेमा उल्टै बल प्रयोग गरेको बताएको छ ।

‘कुनै निर्दोषलाई दोषी भनेर करार गरिएको आशंका हुँदा त्यसले झनै विद्रोह जन्माउँछ । आजको जनप्रदर्शन पछिल्तिरका भावनाहरुलाई सरकारले संयमित पूर्वक आत्मसात गर्नु पर्नेमा उल्टै बल प्रयोग गर्ने, गोली चलाउने, दर्जन भन्दा बढीलाई घाइते बनाउने र कफ्र्युकै अवस्था सृजना गर्ने कर्मको हामी घोर निन्दा एवं भत्र्सना गर्दछौं’ कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्राद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

कांग्रेसले उच्चस्तरीय छानविन समिति मार्फत समग्र घटनाको गहन र निष्पक्ष छानविन गर्न माग गरेको छ ।

घटना निन्दनीय : राप्रपा

राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि शान्तिपूर्ण प्रदर्शन गर्न पाउने संवैधानिक अधिकारको उपभोग गरिरहेका सर्वसाधारण नागरिकमाथि प्रहरीले दमन गरेकोमा विरोध जनाएको छ ।

राप्रपाले बलात्कार पछि हत्या भएको घटनाको सत्य तथ्य छानबिन गर्न, अपराधीलाई लुकाउने काम नहोस् भन्दै खबरदारी गर्न, घटनाको दोषीलाई कानुन बमोजिम कारबाही गर्न र महिला सुरक्षाको प्रत्याभूति दिलाउन माग गर्दै प्रदर्शन गर्दा लाठीचार्ज र गोली प्रहार गर्नु निन्दनीय भएको बताएको छ ।

‘यो घटनाले नागरिकको प्रदर्शन गर्न पाउने संवैधानिक अधिकारको हनन मात्र गरेको छैन, लोकतन्त्रकै उपहास गरेको छ प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment