Comments Add Comment

गजुरियल कुरा : प्रधानमन्त्रीले हँसाएपछि हाम्रो के काम !

आदरणीय दर्शक/पाठकहरु, गाईजात्रे अभिवादन ! धेरैले सोध्नुभएको छ- यसवर्ष गाईजात्रा किन गर्नुभएन ? सही जवाफका लागि यो लेख पढ्नुपर्ने हुन्छ-

कुरो के पर्‍यो भने, लामो समयको राजनैतिक अस्थिरतापछि बहुमतको सरकार बन्यो । बलियो प्रतिपक्ष तयार भयो । वामपन्थीहरु एक भए । प्रजातान्त्रिकहरु जोडिए । ‘चेक एण्ड ब्यालेन्स’का आधार निर्माण भयो । समृद्धिको ढोका खुलेर आयो । व्यंग्यको जरुरत नपर्लाजस्तो भयो । किनकि सरकारले यस्तै सम्भावना देखाइरहेको थियो ।

हामी प्रधानमन्त्रीका मीठा सपनामा रमाइरहेका थियौं । मन्त्रीहरुका गुलिया योजनामा भुलिरहेका थियौं । सरकारको प्रचार-प्रसार, आश्वासन र योजना सुन्दा लागेको थियो- अब गाईजात्राका दिन गए, व्यंग्य गर्नेहरु बेरोजगार हुने भए । तर…

तर, सरकार जनताको अविभावक हो । अविभावक आफ्ना सन्ततिप्रति कहिल्यै कृतघ्न हुन सक्दैन । अन्ततः सरकारले हास्यव्यंग्यकर्मीलाई बेरोजगार हुन दिएन । बरु प्रधानमन्त्री स्वयम् हास्यव्यंग्यमा लागेर गाईजात्रालाई सहयोग गरिरहनुभएको छ, यो हाम्रा लागि दुःखको कुरा हो र ?

‘घरघरमा ग्यास’को कुरालाई व्यंग्यको छुरा हानौंला भन्ने योजना थियो, तर गाईजात्राको पूर्वसन्ध्यामा प्रधानमन्त्रीज्यूले गोबरग्यास उद्घाटन गरेर बिटुलो बनाइदिनु भएको हो, विषयको अभाव हैन

तपाईंहरु भन्नुहोला, हँसाउनेलाई विषयवस्तुको अभाव भयो ! कुरो त्यस्तो हैन । विषयवस्तु टन्नै छन् । तर, हँसाउने सबै विषय प्रधानमन्त्रीज्यूले भ्याइदिएपछि हामीले ‘रेष्ट’ मा बस्नु परेकोमात्र हो ।

‘घरघरमा ग्यास’को कुरालाई व्यंग्यको छुरा हानौंला भन्ने योजना थियो, तर गाईजात्राको पूर्वसन्ध्यामा प्रधानमन्त्रीज्यूले गोबरग्यास उद्घाटन गरेर बिटुलो बनाइदिनु भएको हो, विषयको अभाव हैन ।

काठमाण्डौंका अल्छी मेयरको गियर डाउन गर्ने तयारी थियो । तर, उनको अन्तरवार्ता सुनेपछि ‘जले पे नमक’ छर्न मन लागेन । जुन मेयरलाई आफ्नो नगरले के-के गर्दैछ भन्ने थाहा छैन, तिनको विषयमा हाँसेर व्यंग्यकै बेइज्जत गर्न मन लागेन । विषय त कति छन् कति !

‘सडक पोखरी’माथि व्यंग्यको पौडी खेल्ने प्रयास हुँदैथियो तर ‘बिमस्टेक’ले पुर्न थालेपछि हास्यव्यंग्य टालटुलमात्र भएको हो, दीर्घकालीन समाधान भएको हैन ।

‘मुर्गा प्रसाई’ को फुर्फुर र ‘मार्सी चामल’को चुरफरमाथि दनक दिने विचार थियो । ‘प्रसाईंका पाहुना’हरुमाथि व्यंग्यवाण बर्साउने नाममा मार्सी चामलमाथि अन्याय गर्न हुन्न भन्न लागेकोमात्र हो, ‘मार्सी काण्ड’ भुलेको हैन र भुल्ने पनि छैनन् ।

प्रदेशदेखि लिएर संघसमेतका मन्त्रीहरुको दोहोलो काड्ने ईच्छा पनि कम भयो । ‘शिशु प्रजातन्त्र’ भनेजस्तो ‘शिशु संघीयता’लाई खतरा होला भनेर एकछिन मौन बसेको मात्र हो, देशले भोग्नुपरेको करको पीडा सानो विषयवस्तु हैन ।

सुन काण्डका अदृष्य तस्वीर बाहिर आउलान् र क्यारिकेचर गर्ने ठूलो माछो फेला पर्ला भन्ने लागेको थियो । त्यो काण्डलाई पनि सुनपानी छर्किएर छोपछाप पारेपछि माछा पत्ता लगाउन अप्ठेरोमात्र भएको हो

अराजक करनीतिलाई व्यंग्य गर्ने तयारीमा थियौं । तर, नगरपालिका र गाउँ पालिकाहरुको ‘निःशुल्क’ विज्ञापन आउन थालेपछि एकछिन पर्खिएको हो । जनताको दबाव र व्यंग्यको प्रहार कमजोर भएको हैन ।

सुन काण्डका सारा अदृष्य तस्वीरहरु बाहिर आउलान् र त्यसबाट क्यारिकेचर गर्ने ठूलो माछो फेला पर्ला भन्ने लागेको थियो । त्यो काण्डलाई पनि सुनपानी छर्किएर छोपछाप पारेपछि माछा पत्ता लगाउन अप्ठेरोमात्र भएको हो, विषय नै नभएको हुँदै हैन ।

यातायातको सिण्डिकेट तोड्न पहल गर्ने महानिर्देशकको सकारात्मक नक्कल गर्न सोच्दै थियौं । बिचरा तिनलाई पनि भुत्ते बनाएर लुते मन्त्रालयतिर मुन्ट्याइदिएपछि यसपटकको गाईजात्रा यस्तै भएछ भनेर जान्नोस् ।

‘चुच्चे रेल’ र ‘पाइपको तेल’पनि राम्रै बिक्ने विषय थिए । मीठा सपनालाई व्यंग्यको जालमा पारिहाल्नु हुन्नझैं लागेको छ । तर, मनोवैज्ञानिकहरु भन्छन्- ‘धेरै सपना देख्नुहुन्न, ब्युँझनुपर्छ, नत्र कोमामा पुगिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment