Comments Add Comment

तस्करी रोकिँदा तीजको बेला सुन अभाव !


७ भदौ, काठमाडौं । मागअनुसार कच्चा सुन आपूर्ति नभएको भन्दै चितवन र रुपन्देहीका व्यवसायीले पसल बन्द गरे । काठमाडौं उपत्यकाका व्यवसायीहरु पनि सुन छैन भन्न थालेका छन् ।

उनीहरुका अनुसार तत्काल आपूर्ति व्यवस्थामा सुधार नआए काठमाडौंमै पनि पसल बन्द गर्नुपर्ने हुन्छ ।

विगत दुई हप्तादेखि बजारमा सुनको अभाव सुरु भएको हो, जुन पछिल्ला दिनमा चर्किंदै गएको व्यवसायी बताउँछन् । तीज अघि सुनको माग बजारमा ह्वात्तै बढ्छ । तर, त्यही बेला सुन नपाएपछि व्यवसायीले स्वतःस्फूर्त रुपमा पसल बन्द गर्न थालेको नेपाल सुन चाँदी व्यवसायी महासंघले बताएको छ ।

‘गोल्डेन ब्ल्याक मार्केट’

राष्ट्र बैंकले अहिले दैनिक २० केजीसम्म सुन आयात गर्न दिन्छ । यो भनेको १७ सय १५ तोला हो । तर, यसले देशभरको माग दैनिक माग धान्न नसकेको सुनचाँदी व्यवसायीहरु बताउँछन् ।

पछिल्ला वर्षहरुमा बैधानिक रुपमा ल्याइने सुन २० केजी नै हो । यसले नेपाली बजारको माग धानेकै थियो ।

अहिले एकाएक पसल नै बन्द गर्नुपर्ने अवस्था किन आयो ? सुरक्षा अधिकारीहरुका अनुसार पछिल्लो समय सुन तस्करीमा कडाइ भएको छ ।

चुडामणि उप्रेती (गोरे) समूह, जसले चार वर्षमात्र ३८ क्लिन्टल सुन तस्करी गरेको सरकारी छानविन समितिले देखाएको छ । त्रिभुवन विमानस्थलबाटै सुन तस्करी गर्ने गोरे समूह अहिले छिन्नभिन्न भएको छ ।

विदेशबाट फर्किनेहरुलाई भरिया बनाएर सुुन ल्याउनेहरु पनि प्रहरीको निशानामा परेका छन् । साथै रसुवागढी सीमा नाकामा गरिएको कडा निगरानीका कारण ‘गोल्डेन ब्ल्याक मार्केट’ बन्द जस्तै भएको छ ।

गोरे समूहको अध्ययन गरिरहेका सुरक्षा अधिकारीहरुका अनुसार तस्करीको धेरै सुन भारत जाने भएपनि केही नेपालमा पनि खपत हुन्थ्यो । त्यही बन्द भएपछि सुनको अभाव सुरु भएको हो ।

‘देशभरका ३३ प्रतिशत सुनचाँदी पसल अझै भ्याटमा दर्ता छैनन् । उनीहरुले ब्ल्याक मार्केटबाट सुन उठाउँथे र बेच्थे । त्यसैकारण अघिल्ला वर्षहरुमा सरकारले उपलब्ध गराउने सुनले माग धानेको जस्तो देखिन्थ्यो,’ एक व्यवसायी भन्छन्, ‘यो वर्ष त्यस्तो अवस्था रहेन । सबैले सुन वैधानिक रुपमै लिन थालेपछि सरकारले दिएको सुनको कोटा निकै कम भयो ।’

तर, भ्याटमा दर्ता नभएका मात्र होइन, ठूला व्यवसायीले पनि ८५ प्रतिशतसम्म सुनको स्रोत देखाउन नसकेको महालेखाको प्रतिवेदनमा उल्लेख हुनुले अवैध सुनको बजार हिस्सा प्रष्टै हुन्छ ।

व्यवसायीका आफ्नै दावी

महासंघका पूर्वअध्यक्ष मणिरत्न शाक्य पनि मागअनुसारको कच्चा सुन नपाउँदा व्यवसाय चलाउनै नसकिने अवस्था आएको बताउँछन् ।

बजारमा दैनिक ३५ केजी कच्चा सुन नदिए पसल खोलेर बस्न सक्ने अवस्था नरहेको उनको दावी छ । उनका अनुसार अहिले एउटा पसलले हप्तामा ५० ग्राम कच्चा सुन पाउँछ, जुन अपर्याप्त हो ।

विदेशबाट फर्किनेले ल्याउने ५० ग्रामसम्मको भन्सार नलाग्ने झिटीगुन्टा सुन रोकेका कारण पनि यस्तो अवस्था आएको शाक्यले बताए । विदेशबाट फर्किनेले तयारी गरगहाना ल्याउन चासो नदिएको व्यवसायहरु बताउँछन् ।

नयाँ गहना दिन नसक्ने अवस्था रहेको भन्दै पूर्वअध्यक्ष शाक्यले बजारमा प्रयोगकर्ताले फिर्ता गर्ने गहना लिएर पसल चलाउनुपर्ने अवस्था आएको सुनाए । ‘धेरै ग्राहकलाई त रित्तै फिर्ता गर्नुपरेको छ । कच्चा सुन छैन भने गहानाको डिमान्ड लिएर मात्रै भएन,’ उनले सुनाए, ‘यो वर्ष अवस्था धेरै नै जटिल छ । सरकारले सुनेन भने काठमाडौंमा पनि पसल बन्द गर्नुपर्ने अवस्था आउँछ ।’

दैनिक कोटामा १० केजी बढ्दै

राष्ट्र बैंक चाडपर्वका बेला दैनिक थप १० केजी सुन ल्याउन तयार देखिएको छ । तर, यसका लागि कार्यविधि संशोधन गर्नुपर्ने हुन्छ ।

सुनको आयात तथा बिक्री वितरणको छुट्टै कार्यविधि छ । त्यसमा संशोधनका लागि उद्योग मन्त्रालयका सहसचिव संयोजकत्वको एक समिति छ । त्यसले सिफारिस गरेपछि कार्यविधि संशोधन हुन्छ ।

राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेल भन्छन्, ‘हामीले उद्योग मन्त्रालयमा लेखेर पठाएका छौं । सिफारिस आएपछि कार्यविधि संशोधन गरेर १० केजी कोटा थप्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment