Comments Add Comment

फर्निचर नाप्ने निहुँमा परीक्षा नियन्त्रण कार्यालयको कम्प्युटर हृयाक

८ भदौ, पोखरा । नाटकीय हिसाबले पोखरा विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयको कम्प्युटर हृयाक भएको छ । राती फर्निचरको नापजाँच गर्न लागि भन्दै पुगेका व्यक्तिले पोखरा विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयमा हजारौं विद्यार्थीको डाटा रहेको कम्प्युटर हृयाक गरेको हो ।

घटना ५ गते राति ७ बजेको हो । तीन जना व्यक्ति परीक्षा नियन्त्रण कार्यालयमा पुगे । त्यहाँ सुरक्षा गार्डले उनीहरुको सोधपुछ गरे । तीमध्ये एक जना विश्वविद्यालयकै अधिकृत स्तरका कर्मचारी थिए भने अर्का पूर्व विद्यार्थी र एक जना कार्यालय सहयोगी थिए । अधिकृत स्तरका कर्मचारीले फर्निचरको नापजाँच गर्नुछ भनेपछि सुरक्षा गार्डले परीक्षा नियन्त्रण कार्यालय इन्जिनियरिङ शाखा गोप्यको चाबी खोलिदिए ।

इन्जिनियरिङ शाखाको गोप्य कक्षमा पूर्व विद्यार्थीलाई छोडेर सुरक्षा गार्ड र अधिकृतस्तरका कर्मचारी बाहिर निस्के । सुरक्षा गार्ड ढोकाबाहिर बसे भने अधिकृतस्तरका कर्मचारी कार्यालयको तलमाथि गरिरहे । एक घन्टापछि मात्रै अधिकृतस्तरका कर्मचारी बाहिर निस्के । भोलिपल्ट मात्रै थाहा भयाे फर्निचरको नापजाँच गर्न भन्दै छिरेका व्यक्तिले इन्जिनियरिङ गोप्य शाखाको कम्प्युटर हृयाक गरेका रहेछन् ।

यसरी खुल्यो पोल

भोलिपल्ट बिहान कार्यालयमा कर्मचारी पुगे । परीक्षा नियन्त्रक डा. भरतराज ढुंगानाका अनुसार सबै कम्प्युटरमा पासवर्ड राखिएको थियो । तर, पासवर्डबिना कम्प्युटर खुलेपछि कर्मचारीलाई कम्प्युटर अरुले नै चलाएको शंका लाग्यो । त्यो शाखामा ४ वटा कम्प्युटरथिए ।

पासवर्डबिना चार वटै कम्प्युटर खुलेपछि कार्यालयमा हल्लाखल्ला भयो । तत्कालै कार्यालयका कर्मचारीसहितको बैठक बस्यो । परीक्षा समितिको बैठक बस्यो । सुरक्षा गार्डलाई बोलाएर सोधपुछ गरेपछि उनले अघिल्लो दिनको घटनाको बेलिबिस्तार लगाए । ‘गार्डले सबै अघिल्लो दिनको कुरा सुनाए,’ परीक्षा नियन्त्रक ढुंगानाले भने, ‘फर्निचरको नापजाँच गर्न भनि फिता लिएर भित्र छिरेका रहेछन् ।’

कार्यालयका सबै ठाउँमा सिसी क्यामेरा जडान गरिएको छ । राति साढे ७ बजे गोप्य कक्षमा छिरेका व्यक्तिले कम्प्युटर चलाइरहेको सिसी क्यामराको फुटेजमा देखियो ।

एक जना पक्राउ, दुर्इ फरार

हजारौं विद्यार्थीको डाटा रहेको कम्प्युटर हृयाक भएपछि परीक्षा समितिले प्रहरीलाई खबर गरिएको थियो । प्रहरीले केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले टोली नै खटाएको छ ।

प्रहरीले सहयोग गर्ने कार्यालय सहयोगीलाई प्रक्राउ गरेको छ । स्कुल अफ इन्जिनियरिङमा कार्यरत अधिकृतस्तरका कर्मचारी र कम्प्युटर हृयाक गर्ने पूर्वविद्यार्थी अहिले फरार छन् । हृयाक भएको भनिएको कम्प्युटर शुक्रबार अनुसन्धान व्युरोले लगेको छ ।

‘प्रहरीले अनुसन्धान गरिरहेको छ । घटनाको यथार्थ पत्ता लाग्ला,’ इन्जिनियरिङ शाखा गोप्यका इन्चार्ज उदयराज ढुंगानाले भने, ‘उसले केके लिएर गयो । वा कम्युटरमा रहेको टाडा गडबढी गर्न के भएको छ भन्ने प्रहरी अनुसन्धानले देखाउला ।’

किन गरियो कम्प्युटर हृयाक ?

त्यो शाखामा ४ वटा कम्प्युटरथिए । पोखरा विद्यालय र सम्बन्धन दिएका इन्जिनियरिङ कलेजका अहिलेसम्मका हजारौं डाटा थिए । विद्यार्थीको मार्कसिटदेखि प्रश्नपत्रसम्म कम्युटरमा छन् । १० हजार भन्दा बढी त इन्जिनियरिङ पढिरहेका विद्यार्थीको डाटा छ ।

यो कम्प्युटर किन भयो त हृयाक ? परीक्षा नियन्त्रक डा. भरतराज ढुंगाना भन्छन्, ‘१६ गतेबाट इन्जिनियरिङ स्नातक तहको परीक्षा छ । प्रारम्भिक अध्ययनले प्रश्नपत्र बाहिर ल्याउनका लागि कम्प्युटर हृयाक भएको हुनसक्ने देखिएको छ ।’

प्रश्नपत्रमात्र नभइ यसको उद्देश्य नै गम्भीर खालको हुनसक्ने धेरैको अनुमान छ । विद्यार्थीको प्राप्तांक नै तलमाथि नै गर्न कम्प्युटर हृयाक भएको हुनसक्ने अनुमान धेरैको छ । ‘पोखरा विश्वविद्यालयमा यस्ता घटना भइरहन्छन् । यसपटक पनि सुनियोजित रुपमा कम्प्युटर हृयाक भएको हो । यो घटना बाहिर आएपछिमात्रै थाहा भएको हो नत्र सहमतिमै मिल्थ्यो बाहिर आउँदैनथ्यो,’ त्यहीँका एक प्राध्यापकले भने, ‘शाखा तथा परीक्षा नियन्त्रण कार्यालयकै मिलोमतोमा घटना भएको हुन सक्ने र केही कुरा नमिलेपछिमात्रै घटना बाहिर आउन सक्छ । त्यो अनुसन्धानले बताउला ।’

हृयाक गर्ने व्यक्ति ४ वर्षअघिसम्म पोखरा विश्वविद्यालयकै विद्यार्थी थिए । उनी र अधिकृतस्तरका व्यक्तिले त्यहाँको वातावरण, समय सबै हेरेर कम्प्युटर हृयाक गर्न जाने समय मिलाएका हुन् ।

कम्युटरमा पूर्व विद्यार्थीले आफ्नो डाटा तलमाथि नगरेका कारण उनी प्रश्नपत्र आउट गर्नकै लागि कम्प्युटर हृयाक गरेको हुनसक्ने अनुमान गरिएको इन्जिनियरिङ शाखाका उदयराज ढु्ंगानाले बताए । कम्प्युटर हृयाक गर्ने व्यक्तिले सिसी क्यामरातिर भने ध्यान नदिएको देखिन्छ । सिसी क्यामरा बिगार्ने वा त्यसमा कैद हुने फुटेजतिर उनको ध्यान नजानुले थप आशंका पैदा गरेको विद्यार्थी संगठनका नेताहरुले बताएका छन् ।

परीक्षा नियन्त्रण कार्यालयबाट सबै डाटा उडेको हल्ला फैलिएको छ । तिसौं हजार विद्यार्थी पोखरा विश्वविद्यालयसँग सम्बन्धित छन् । विद्यार्थीका सबै डाटा उडेको भनेर विद्यार्थी र परिवारमा चिन्ता बढेको छ ।

क्याम्पसले भने विद्यार्थीका सबै डाटा सुरक्षित रहेको जनाएको छ । ‘कम्युटरमा रहेका अभिलेखहरु चोरी, नष्ट वा हेरफेर गरिएको हुनसक्ने भएता पनि अभिलेखका सम्पूर्ण ब्याकअप सुरक्षित छन्,’ क्याम्पसले भनेको छ, ‘सबैको पेपर प्रिन्ट फाइल पनि सुरक्षित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment