Comments Add Comment

मधेसमा मनाइयो राखी पर्व

१० भदौ, वीरगञ्ज । पर्सा, बारालगायत तराई मधेसका जिल्लामा धुमधामका साथ राखी पर्व मनाईदैछ । दिदीबहिनी तथा दाजुभाइको प्रेमको प्रतीक मानिएको राखी पर्व तराई मधेसका जिल्लामा जनैपूर्णिमाका दिन मनाइन्छ ।

पर्वका दिन दिदी-बहिनीले दाजु-भाइलाई नाडीमा राखी बाँधिदिएका छन् । पहिला पहिला धागोको मात्रै राखी हुने गरेकोमा हिजोआज विभिन्न खाले आर्कषक राखी बजारमा आएका छन् । दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर आफ्नो रक्षाका लागि प्रतिबद्धता माग्ने चलन छ । यसबाट दिदी-बहिनी र दाजु-भाइका बीचमा प्रेमसम्बन्ध अझै बढ्छ भन्ने सामाजिक मान्यता छ ।

तराई मधेसका जिल्लाहरुमा रक्षाबन्धनको दिन दिदी बहिनीले आफ्ना दाजुभाइहरुका नाडिमा दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै स्नेहको प्रतीक राखी बाँधेर पर्व हर्सोउल्लासका मनाउने चलन रहेको वीरगञ्जका राजेन्द्र पण्डित बताउँछन् ।

राखी बाँधेर दिदी बहिनीहरुले दाजुभाइहरुलाई मिठामिठा परिकारहरु खुवाउँछ भने दाजुभाइहरुले उपहार स्वरुप, गच्छेअनुसार बिभिन्न उपहारहरुको साथै गहना र नगदी दिने गर्दछन् । भाइले सधैं दिदीबहिनीहरुलाई अप्ठेरोमा सहयोग गर्ने अपेक्षा राखिन्छ ।

यसैबीच आफ्नो दिदीबहिनी नभएका र दिदीबहिनीहरु भएको ठाउँमा जान नभ्याएकाहरुले पनि विभिन्न तरिका अपनाएर राखी पर्व मनाएका छन् । विभिन्न स्थानमा सामूहिक रुपमा राखी बाँधेर पनि पर्व मनाइएको छ ।

वीरगञ्जको छपकैयामा रहेको ब्रम्हकुमारी राजयोग सेवा केन्द्रका ब्रम्हकुमारी दिदिबहिनीहरुले चिकित्सक, प्रहरी, आर्मी तथा विभिन्न सरकारी कार्यालय कर्मचारीहरुलाई रक्षा बन्धन बाँधेका छन् । त्यसैगरि नारायणी उपक्षेत्रिय अस्पतालका विरामीहरुलाई समेत ब्रम्हकुमारीहरुले राखी बाँधेका छन् ।

वीरगञ्जको रानिघाटमा रहेको क्षिरेश्वर महादेव मन्दिरका पुजारी सुरेन्द्र तिवारी परम्परादेखि नै बहिनीले रक्षाबन्धनका दिन भाइलाई रक्षाबन्धन बान्ने चलन रहेको बताउँछन् । द्वापर युगमै देवी लक्ष्मीले राजा बलीलाई रक्षाबन्धन बाँधेर खुशी पारेकी थिइन् । त्यसपछि बलिले खुशी भएर के माग्छौं माग भनेर भन्दा उनले द्वारपालको रुपमा रहेका विष्णु भगवानलाई मागेर लिएर बैकुण्ठ गएको कथन रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment