Comments Add Comment

सडकहरु टालटुलदेखि स्वागतद्वारसम्म, बिमस्टेक बैठकको चटारो (१० तस्वीर)

१० भदौ, काठमाडौं । भदौरे झरीले काठमाडौंका अधिकांश क्षेत्रका सडक हिलाम्य छन् । तर, अहिले तपाईं त्रिभुवन विमानस्थलदेखि तीनकुने-बानेश्वर-थापाली-टेकु-ताहाचलतिर पुग्नुभयो भने मेला वा महोत्सव हुन लागेजस्तै देखिन्छ ।

धुँवा धुलो त छँदैछ, तर साज सज्जाको चटारो देख्दा दशैं पो आएको हो कि जस्तो लाग्न सक्छ । तर, यो दशैं नभएर भदौ १४ र १५ मा हुन लागेको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलन तयारी हो ।

सम्मेलनमा बिम्स्टेकका ६ सदस्य देशका सरकार प्रमुखहरु आउने हुनाले सरकार युद्धस्तरमा तयारीमा जुटेको हो । सम्मेलनको पूर्वसन्ध्यामा त्रिभुवन विमानस्थलदेखि कार्यक्रम स्थल सोल्टी होटेलसम्मका सडकहरु टालटुल र मर्मत गर्ने काम भइरहेको छ ।

शहरलाई आकर्षक देखाउन विमानस्थलदेखि नै स्वागतद्वार बनाइएको छ र त्यस्ता स्वागतद्वार सोल्टी होटेलसम्म नै ठाउँ-ठाउँमा खडा गरिएका छन् । सडक विभाग, काठमाडौं महानगरपालिका, दुरसञ्चार प्राधिकरण, नेपाल बिद्युत प्राधिकरण मातहतका कामदार अहिले सडकमा छन् ।

कतै सडक टाल्दै त कतै झण्डा टाँगिरहेका मजदुरहरु भेटिन्छन् । कतै तार बाँध्दै र कतै झाडु लगाउँदै गरेके दृश्यहरुले काठमाडौंको रौनक बढाएको छ । विमानस्थलदेखि सोल्टी होटलसम्मको गन्तव्यमा पर्ने तीनकुने र माइतीघर मण्डलाको साजसज्जामा सरकारले खास मेहनत गरेको देखिन्छ । तीनकुनेको तीन कुना अहिले फ्लेक्सले घेरिएको छ ।

यसअघि सार्क सम्मेलनमा तीनकुनेलाई घेरिएको जस्तापातालाई छोपेर बाहिरबाट खडा गरिएको रंगीन र आकर्षक देखिने फ्लेक्सलाई भित्रबाट टेको दिइएको छ ।

सिनामंगल, तीनकुने, वानेश्वर, थापाथली, कुपण्डोल, टेकु लगायत ठाउँ-ठाउँमा बनाइएका स्वागतद्वारमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित बिमस्टेक सदस्य राष्ट्रका प्रमुखहरुका तस्वीर टाँगिएका छन् । केहीमा ‘बुद्धको देशमा स्वागत छ’ लेखिएको छ ।

भद्रकाली जाने बाटो र स्वास्थ्य मन्त्रालय जाने बाटोको बिचमा प्रधानमन्त्री ओलीको ठूलो तस्वीरसहितको फ्लेक्स राखिएको छ । माइतीघर मण्डलाको चार किनारमा झिलिमिली बत्ति जडान गरिएको छ ।

मण्डलामा नेपालको ठूलो झण्डा फहराउने उद्देश्यले खाल्डो खन्दै गरेको पनि दृश्य देखियो । अहिलेको भन्दा अझ ठूलो आकारको झण्डा राख्न खाल्डो खनेको त्यहाँ कार्यरत कामदारहरुले बताए ।

एयरपोर्ट, सिनामंगल, तीनकुने, बानेश्वर, माइतीघरमा नेपालसहित बिमस्टेक सदस्य देश भारत, भुटान, बंगलादेश, श्रीलंका, म्यानमार र थाईल्याण्डको झण्डा फहराइएको छ ।

तस्वीरहरु : चन्द्र आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment