Comments Add Comment

ताराद्वारा राष्ट्रिय कीर्तिमानमा सुधार

१० भदौ, काठमाडौं । इन्डोनेसियमा भइरहेको १८ औं एसियाली खेलकुदअन्तर्गत भारोत्तोलनको महिला ७५ केजीमा नेपालकी तारादेवी पुनले आइतबार ३ नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छन् ।

जेआई एक्सपो हल एमा १२ औं दक्षिण एसियाली खेलकुद (साग) की कांस्य विजेता ताराले आफ्नै नाममा रहेको कीर्तिमानमा सुधार गर्ने क्रममा स्न्याचमा ७४ केजी, क्लिन एन्ड जर्कमा १०१ केजी र कुलमा १७५ केजीको भार वहन गरिन् ।

यसअघि स्न्याचमा ताराको नाममा ७३ केजीको कीर्तिमान थियो । ताराले स्न्याचमा तेश्रो लिफ्टमा कीर्तिमान रचेकी हुन् । पहिलो लिफ्टमा ७० केजी उठाएकी तारा दोश्रो लिफ्टमा ७४ केजी भार वहन असफल रहिन् । तेश्रो लिफ्टमा मात्र तारा ७४ केजी वजन उचाल्न सफल भएकी थिइन् ।

क्लिन एन्ड जर्कमा ९७ केजी र कुलमा १७० केजीको कीर्तिमान पनि ताराकै नाममा थियो । तीनै कीर्तिमान ताराले नेपालगन्जमा गत जेठमा भएको एसियाली खेलकुदको छनोटमा राखेकी थिइन् । क्लिन एन्ड जर्कमा ताराले तीन लिफ्टमा क्रमशः ९३ केजी, ९८ केजी र १०१ केजी भार वहन गरेकी थिइन् । ताराले दोश्रो लिफ्टमै आफ्नो ९७ केजीको कीर्तिमानमा सुधार गरिसकेकी थिइन् ।

भारोत्तोलनमा नेपालको प्रतिस्पर्धा सकिएको छ । तारासहित ४ खेलाडीले भारोत्तोलनमा प्रतिस्पर्धा गरेका थिए । त्यसमा सन्जु चौधरी र कमलबहादुर अधिकारीले पनि राष्ट्रिय कीर्तिमान बनाए भने विकास थापा राष्ट्रिय कीर्तिमान बनाउन असफल रहे ।

टेबलटेनिसः टिममा पराजय

टेबलटेनिसको पुरुष/महिला दुवैको टिम इभेन्टमा नेपाल पराजित भएको छ । जेआई एक्सपो हल बीमा पुरुषमा नेपाल चीनसंग ३-० को सोझो सेटमा पराजित भयो । महिलामा नेपाल मलेसिया र सिंगापुरसंग समान ३-० को सीधा सेटमा हार्‍यो ।

पुरुष टोलीमा नेपालबाट अमरलाल मल्ल, श्यान्टु श्रेष्ठ र दीप साउनले प्रतिस्पर्धा गरेका थिए । महिलामा नवीता श्रेष्ठ, स्वेच्छा नेम्वाङ र रविना महर्जनले खेलेका थिए ।

बक्सिङ: विष्णु र प्रेम पराजित

बक्सिङको पुरुष ६९ केजीमा नेपालका विष्णुप्रसाद घले गुरुङ पराजित भएका छन् । विष्णुलाई कतारका थुलासिमारान थारुमालिङगमले ५-० ले पराजित गरे । पुरुष ५२ केजीमा नेपालका प्रेम चौधरीलाई फिलिपिन्सका रोगन लादोनले ५-० ले स्तब्ध पारे ।

करातेः पहिलो चरणमै हार

करातेमा आइतबार तीन खेलाडीले प्रतिस्पर्धा गरेका थिए । तीनै खेलाडी पहिलो चरणमै पराजित भए । जेसीसी प्लेनरी हलमा भएको पुरुष ६० केजीमा नेपालका सोनाम लामा भियतनामका हाइभान नुयेनसंग ३-० तथा ६७ केजीमा नेपालका विजय लामा जापानका सिनोहारा हिरोतोसंग १-० ले पराजित भए । महिला ६१ केजीमा थाइल्यान्डकी आर्म सुक्कीआउले नेपालकी सुनीता महर्जनलाई ४-१ ले निराश पारिन् ।

सोमबार नेपालका २ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । पुरुषमा दिवस श्रेष्ठ र महिलामा अनु अधिकारीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । पहिलो दिन शनिबार तीन नेपाली खेलाडी पराजित भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment