११ भदौ, महोत्तरी । औरही नगरपालिकाबाट आइतबार अपहरणमा परेकी शिशुको शव हत्या गरेको अवस्थामा फेला परेको छ ।
औरही नगरपालिका १ स्थित मुख्य बजार क्षेत्रबाट अपहरणमा परेकी ८ महिनाकी सोनालीकुमारीको शव सोमबार भंगाह नगरपालिका र औरही नगरपालिका १ को सिमानामा फेला परेको हो ।
शिशुको शव नग्न अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्र खड्काले जानकारी दिए । शिशु मृत्युको कारण पोष्टमार्टम पश्चात मात्र खुल्न सक्ने उनले बताए । ‘टाउकोमा चोटहरु देखिएको छ, शरीरको अन्य भागमा समेत चोटपटक देखिएको छ, थप कुराहरु मेडिकल टेष्टपछि भन्न सकिएला’ उनले भने ।
शिशुको शवलाई पोष्टमार्टमको लागि महोत्तरी सदरमुकामको जलेश्वर अस्पताल पठाइएको छ ।
घटनामा भंगाहा नगरपालिका ६ जमुनियाका भरत साहको संलग्नता रहेको आशंकामा प्रहरीले उनको खोजी गरिरहेको छ । सीसीटिभी फुटेजमा साहले नै शिशुलाई बोकेर लगेको देखिएको प्रहरीको भनाइ छ ।
औरही नगरपालिका १ स्थित मुख्य बजार क्षेत्रबाट घटनास्थल झन्डै दुई किलोमिटर टाढा रहेको छ ।
आठ महिने शिशु मृत फेला परेपछि चौधरीको घरमा रुवाबासी चलेको छ । शिशुको शव फेला परेपछि औरही बजार नै शोकमा डुबेको छ । घटनाको विरोधमा सोमबार उद्योग वाणिज्य संघ औरही शाखाले औरही बजार बन्द गराएको छ ।
कसरी भयो घटना ?
शिशुका बाबु सन्तोष चौधरी औरही बजारमा फेन्सी तथा किराना पसलका सञ्चालन गर्छन् । आइतबार रक्षा बन्धनको दिन पसलमा केही भीड थियो । त्यही भीडको मौका छोपेर साँझ ६ बजेतिर पसल बाहिरबाट शिशु हराएको थियो ।
पसलमा सामान किन्ने मान्छे आएको मौका छोपी सन्तोषलाई चिन्छु, भन्दै छोरीलाई काखमा बोकेको र खेलाउदा खेलाउदै लगेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । ‘यसरी छोरीलाई हत्या गर्ला भनेर सोचेको पनि थिएनौं’ सन्तोषले भने ।
बच्चा चोरी भएलगत्तै स्थानीय र प्रहरी गएरातिदेखि नै खोजतलास गरेका थिए । शिशुको खोजीमा जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय गौशाला र भंगहाको प्रहरी टोली शिशुको खोजीका लागि खटिएको थियो ।
प्रतिक्रिया 4