Comments Add Comment

बालुवाटारमा प्रधानमन्त्रीको वयानः ‘नेपालविरुद्ध गम्भीर षडयन्त्र भइराखेको छ’

११ भदौ, काठमाडौंं । आइतबार अपरान्हतिर प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयबाट फोन आयो- ‘प्रधानमन्त्रीज्यूले विभिन्न मिडियाका सम्पादकसँग भेट्न खोज्नुभएको छ, भोलि बिहान साढे ८ बजे बालुवाटार आउनुहोला ।’ सोही निम्तो मान्न हामी सोमबार बिहान बालुवाटार पुग्दा प्रधानमन्त्रीले मुलुकको वर्तमान परिस्थितिका बारेमा मात्रै बताएनन्, ‘मनको पोको’ समेत खोले ।

नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीप्रति आशा र अपेक्षा राख्ने देमा ठूलै पंक्ति छ भन्ने कुरा त चुनावमा उनले पाएको बहुमतबाटै पुष्टि भैसकेको विषय हो । तर, पछिल्लो समयमा प्रधानमन्त्री ओलीको लोकपि्रयता खस्किइरहेको छ । सरकारविरुद्ध आलोचनाको स्वर झन-झन चर्को बनिरहेको छ । यस्तोबेलामा प्रधानमन्त्री ओली के सोचिरहेका होलान् ? यसबारे पत्रकारलाई मात्र होइन, आम नेपालीजनमा समेत जिज्ञासा र कौतुहल बढेको छ ।

सञ्चारकर्मीहरु सूचनाका सम्वाहक हुन् भन्ने मान्यताका आधारमा यहाँ हामीले बालुवाटारमा प्रधानमन्त्रीद्वारा व्यक्त विचारलाई अनलाइनखबरमार्फत सकेसम्म जस्ताको त्यस्तै पाठकसमक्ष पस्कने प्रयास गरेका छौं ।

प्रधानमन्त्री ओलीले पत्रकारसँग केही घण्टा बिताए । सुरुमा उनले आफ्ना कुराहरु राखे । त्यसपछि पत्रकारका टिप्पणी धैर्यतापूर्वक सुने । त्यसपछि उठेका प्रश्नहरुको जवाफसमेत दिए । यसक्रममा प्रधानमन्त्रीले माइतीघर मण्डलाको निशेधाज्ञा प्रकरण, मुलुकी संहिता, आशन्न बिमस्टेक बैठक, सार्कको महत्व, कञ्चनपुर घटना, उपकुलपति र पूर्वलडाकूलाई एयरपोर्टबाटै फर्काएको प्रकरण, ट्रमा सेन्टरका डाक्टरलाई गृहमन्त्रालय झिकाइएको प्रकरण आदिको जवाफ दिने प्रयास गरे । नेपाली समाज अपराधीकरणतर्फ अघि बढेको भन्दै प्रधानमन्त्रीले चिन्ता व्यक्त गरे । मिडियाले जनतामा आशा जगाउने काम गर्नुपर्ने सुझाव दिए ।

राजनीतिक परिस्थितिको कुरा गर्दाखेरि प्रधानमन्त्रीले अहिले विभिन्न तत्वहरुले अस्थिरता बढाउन र डेमोक्रेसीविरुद्ध षडयन्त्र गरिराखेको मात्रै बताएनन्, नेपालकैविरुद्ध गम्भीर षडयन्त्र भैराखेको विश्लेषण सुनाए ।

प्रधानमन्त्री ओलीको भनाइ उनकै शब्दमाः

भ्रष्टाचारः मैले अलिकति कदम चाल्नुपर्ने हुन सक्छ

होला, हामी संविधान जारी गरेका भोलिपल्ट धनी भैहालेनौं । समानताको संविधान जारी गरेका भोलिपल्ट सामाजिक न्याय र समानताको सैद्धान्तिक विषयलाई व्यवहारिक वितरणमा बराबर भैहालेन होला । अब मैले अलिकति कदमहरु चाल्नुपर्ने हुन सक्छ ।


भ्रष्टाचारको मामलामा म कडा छु । त्यसमा भोलि देखिने स्थिति बन्न सक्छ । मैले भ्रष्टाचार फेला पारें भने म अनुहार हेर्दिनँ, व्यवहार हेर्छु । कसले गर्‍यो, यो मेरो परिभाषभित्र पर्दैन । म नातागोता हेर्दिनँ । तपाईहरुले समाउनुभए हुन्छ नि त नातागोता, आफन्तवाद, कृपावाद, सामीप्यतावाद केजातिवाद । अथवा, तपाईहरुले यो भन्न सक्नुहुन्छ, राजनीतिकरण गर्‍यो भनेर । अहिलेको समस्या के हो भने राजनीतिकरण । राजनीतिकरण गर्नुहुन्न ।

योग्य मान्छेलाई योग्य ठाउँ दिनुपर्छ । राम्रो काम गरेको छ भने पुरस्कृत गर्ने । राम्रो काम गर्दैन भने हटाउनुपर्छ । तर, मैले नियुक्ति दिन्छु, नियुक्ति दिएको मान्छेले राम्रो काम गरेन भने हटाउनेवित्तिकै नजिकै छ, अदालत फुत्त जान्छ । अनि मलाई ‘यी लिएर आएँ’ भनेर आइहाल्छ । अब तपाईले मलाई चलाउन सक्नुहुन्न भनेर मैलाई भन्छन् । गर्ने के ?

तर, देशलाई काम चाहिएको छ । एउटा मान्छेको पेसाको ग्यारेन्टीले देशको विकासमा बाधा पार्ने कुरा वा भ्रष्टाचार -मान्य हुँदैन) ।
अण्डर पास । हिजो एउटाले भन्दै थिए कलंकीलाई के पहिलो अण्डरपास भनेको ? अपिसैपिच्छे त्यस्ता अण्डरपास कति हो कति भनेर लेख्याथ्यो । कलंकीको अण्डरपास भन न, पहिलो अण्डरपास भन्ने ? टेबलैमुनि, टेबलैपिच्छे अण्डरपास छ भनेर सिस्नोपानीका गामनाङेले च्यालेञ्ज गर्नुभएको छ ।

मैले त्यस्तो छैन नै भन्दिनँ । मैले देखेको चाहिँ छैन । तर, मैले देख्ने भनेको मेरै आँखाले देख्नुपर्छ भन्ने होइन । प्रमाणबाट मैले देख्नुपर्‍यो । यहाँहरुले भनेर पनि मैले देख्न सक्छु । यहाँहरुले भनेर देखें भने पनि त्यसप्रति मेरो आक्रामकता हुन्छ । मैले दोहोर्‍याइरहनुपर्छ जस्तो लाग्दैन । कमसेकम हामी कमिसन खाँदैनौं । घुस खाँदैनौं । अनि सिरक ओढेर, बर्को ओढेर लुकेर केही खाने त्यस्तो हाम्रो चलन छैन ।

र, कमसेकम म प्रधानमन्त्रीको हैसियतले यहाँहरुलाई अहिले भन्न सक्छु- हरिभक्तको कविता । देखे भन्नोस् । गाईजात्रामा मुसड्नेहरुको बेग्लै कुरा हो । आजकल गाईजात्रा त्यति चल्दैन, त्यसकारण गाईजात्राका नाममा रत्यौली खेल्छन् केहीले । त्यो बेग्लै कुरा हो ।

नेकपा निकटका कतिपयले स्कुल चलाएका छन्, कतिपयले खेती गरेका छन्, विभिन्न पेसा व्यवसायका मान्छे, कतिपय मिलवाला छन्, कतिपय कपडा पसले छन्, यिनीहरुसँग एमालेको साँठगाँठ भएको हुनाले सरकारले स्वतन्त्ररुपमा काम गर्न सक्दैन भन्ने पनि पत्रिकाले लेखेको देखें । तिनले पसल नचलाएर, हलो नजोतेर के, मागेर खान्छन् ? कल्ले दिन्छ तिनलाई ? हामीसँग व्यवसायीहरु छन्, हामी मानिसहरुलाई उद्यमी होऊ भनिरहेका छौं ।

हामी अलिकति सतर्क हुन जरुरी छ । यदि प्रोजेक्टको खोजीमा लागेको, कमाउ धन्दामा लागेको पाइयो भने मलाई कुनै मोलाहिजा गर्नुछैन । कुनै लाभ लिनु छैन । त्यसकारण मैले यस्ता कुराप्रति कञ्चित सहिष्णुता अपनाउन सक्दिनँ । अपनाउन मिल्दैन पनि र विल्कुलै अपनाउन्न पनि ।

सूचनाका स्रोतहरुको कमी हुन सक्छ । तर, मसँग जुन टीमले काम गरिरहेको छ, या मसँग सहयोगी साथीहरुले गरिराखेका छन्, त्यसभित्र आशंका सबैलाई गरे पनि हुन्छ । तर, म तपाईहरुलाई ढुक्कसँग भन्छु- आशंका नगरे पनि हुन्छ । कमाउ धन्दामा लाग्नेमान्छे मेरो समीपमा त्यत्तिसाह्रो टिक्दैन, अड्दैन । त्यो गाह्रो हुन्छ । किनभने मैले थाहा पाइहाल्छु । शरीरमा अत्तर दलेपछि बास्ना त आइहाल्छ । त्यसकारण त्यो कहाँ लुक्छ र ? थाहा भैहाल्छ । त्यसकारण यसमा एस्क्युज हुन सक्दैन ।

सीमाहरु हुन सक्छन् । साथीहरुले मलाई अध्ययन गर्न सुझाव दिनुभएको छ । मैले भ्याएसम्म, सकेसम्म पढ्ने गरेको छु । यहाँहरुलाई बताऔं, मेरो यस्सो रमाइलो गर्नेमा समय बित्दैन । खानपिनमा समय बित्दैन । खाना खाँदैगर्दा दुई/तीनजनासँगको मिटिङ सिध्याउँछु । डि्रङ्समा चिया र पानी खाने गरेको छु, अरु डि्रङ्समा समय बित्दैन । त्यसो भएर मैले सकेसम्म कुरा सुन्छु, ध्यान दिन्छु र पाएसम्म अध्ययन पनि गर्छु ।

तपाईहरुलाई थाहा होला, म आजका पत्रिका, हिजोका पत्रिकाहरुको पनि भन्दिन सक्छु अलिअलि । सबै अद्योपान्त विज्ञापनसहित पढ्छु भन्ने त होइन । तर, मोटामोटी पढ्छु ।

कञ्चनपुर घटनाः पुलिसमाथि भर परियो

कञ्चनपुर केसमा म पनि भर परें । तपाईहरु पनि त भर पर्नु भो नि । त्यो घटना भएपछि पहिले त पुलिसमाथि भर पर्नुपर्‍यो, छानविन गर्छ कि भनेर । सबै ठाउँमा हामी पुलिसमाथि नै भर पर्छौं नि । हाम्रो राज्य संयन्त्र छ, त्यसले राम्ररी काम गर्नुपर्छ, हाम्रो अपेक्षा त्यही हो । हाम्रो त्यही विश्वास हो ।


अदालतले न्याय दिन्छ भन्ने हामी विश्वास गर्छौं । पुलिसले शान्ति सुरक्षा गर्छ भन्ने विश्वास गर्छौं । त्यही हो नि गर्ने त । जुन संस्था छ, त्यसले ठीकै गर्छ, विश्वविद्यालयले ठीकै पढाउँछ, स्कुलले ठीकै पढाउँछ भन्ने ठान्नुपर्‍यो । अस्पतालले ठीकै उपचार गर्छ भन्ने ठान्नुपर्‍यो । डाक्टरकहाँ जाँदा ठीकै उपचार गर्छ भन्ने नै ठानेर जानुपर्‍यो । ज-जसको जे-जे काम हो, त्यसमाथि विश्वास गर्न थालिन्छ । ।

त्यहाँ (कञ्चनपुरमा) अपि्रय घटना भयो । दुःखद घटना भयो । निन्दनीय घटना भयो । त्यसपछि भर केमा परियो भन्दा पुलिसको । के भएको हो, राम्ररी गर्नू भनियो । काम हुँदैछ, हामी गर्दैछौं भनेपछि होला भनियो । जनताको अलिकति आवाज सुनियो । यो त चित्तबुझ्दो रिजल्ट आइराखेको छैन भनेपछि सीआइबीको अर्को टोली पठाइयो । त्यसको निश्कर्ष नआउँदै पुलिसले एकजना गिरफ्तार गर्‍यो । त्यसलाई गिरफ्तार गरेपछि बल्ल यो छानविन ठीक भएन भन्ने आयो । नत्र हामीले कहीँ ढाकछोप त भएको छैन ? भनेर हामीले सीआइबी पठाएका थियौं । त्यसलाई ढाकछोप गर्न हुनसक्छ वा त्यस्तै भएको पनि हुन सक्छ वा अरु केही निश्कर्षमा पुग्नुभन्दा अगाडि भन्न सकिन्न ।

तर, सीआइबीको रिपोर्ट आउनुभन्दा अगाडि प्रहरीले एउटा मान्छे गिरफ्तार गर्‍यो । केही कुराहरु बनावटी जस्ता देखिए । त्यहाँ जनताले आवाज उठाए । त्यहाँ जनताले आवाज उठाएको भन्दा बढी हामीले बुझ्दाखेरि अलिकति संदिग्ध गतिविधि देखियो । मृतक निर्मला पन्तका बुबालाई बोलाएर जेखालको प्रश्न र व्यवहार भयो भन्ने सुनियो, त्यसले सन्ध्या पैदा गर्‍यो । त्यसपछि हामीले एसपी फिर्ता गर्‍यौं । डीएसपी फिर्ता गर्‍यौं । सिडियो फिर्ता गर्‍यौं । अर्को टीम पठायौं । सहसचिवको नेतृत्वमा तीनजना डीआइजी राखेर उच्चस्तरीय छानविन टोली पठायौं ।

तपाई-हामी कसैले पनि जबसम्म सत्यतथ्य बाहिर आउँदैन, सबै शंकाको घेरामै हुन्छन् । तर, अपराध भयो भने त्यसको प्रहरीले खोजी गर्दै होला भन्ने हुन्छ । गर्दैछु भनेर उसले भनेपछि गर्दैछ भन्ने ठानिन्छ । त्यसमा केही दिन त लाग्ने नै भो । यसमा कुनै पनि प्रकारको लापरवाही सरकारको तर्फबाट भएको होइन । पहिले पुलिसमाथि भर परियो । त्यसमा सन्देह भएपछि सीआइबी पठाइयो । त्यसपछि एसपीलाई फिर्ता पठाइयो । त्यसमा पनि उच्चस्तरको छानविन समिति पठाइयो र अब एसपीलाई निलम्बनै गरियो । र, अरुलाई पनि, जो जोमाथि आवश्यक पर्छ, सबै तहमा अनुसन्धान गर्नुहोस् भनियो ।

अर्को, नेकपाको मिटिङ बोलाएर पार्टी संयन्त्र सबैतिर हामी यसो गर्दैछौं भनेर जानकारी गराइयो । बैठक बोलाएर पार्टीलाई बि्रफिङ गरिएको हो । पार्टीलाई जानकारी गराउनुपर्छ, सञ्चारमाध्यमबाट मात्रै थाहा पाउने भन्ने कुरा हुँदैन भनेर आधिकारिक ढंगले मैले पार्टी अध्यक्षको हिसाबले मिटिङ बोलाएर जानकारी गराएको हो । नेपाली कांग्रेसले सरकारले राम्रो छानविन गरोस् भनेको छ । नेकपाले पनि त्यसैगरी सरकारले छानविन गरोस् भनेको हो । दलहरुले यसरी सरोकार राख्छन्, यो स्वाभाविक हो ।

विराटनगरमा गोबरग्यासको उदघाटन !

के हुन्छ भने कोही अर्को प्रोग्राममा गइराखेको हुन्छ । मन्त्री भानुभक्त ढकालको क्षेत्र त्यहीँ हो, उहाँ आफ्नो क्षेत्रको प्रोग्रामतिर जानुभएको थियो । अब प्रधानमन्त्री पुगेपछि त्यहाँ अनुपस्थित हुनुचाहिँ वाञ्छनीय भएन । अर्को मन्त्री लालबाबु त्यहीँको हुनुभो । अर्को हुनुहुन्थ्यो, उर्जामन्त्री वर्षमान पुन । खासमा त्यो प्रोग्राम नै उहाँको हो, उर्जासम्बन्धी । उहाँलाई बोलाइएको हो ।

मचाहिँ चलते चलाते जाँदाजाँदै मेरो पनि समय मिल्दाखेरि म पुगेपछि त चीफ गेष्ट मै हुने भएँ । त्यसकारण म पनि चीफ गेष्ट भैदिएको हो । त्यस्तो संयोग हो त्यो । त्यहाँ चार जना मन्त्री लाइन लागेर केही उठाउन नसकेर, बोक्न नसकेर बल पुर्‍याउन गएको होइन । त्यो यस्तै संयोगको कुरा हो । नत्र भने हामी अनावश्यक ढंगले त्यसरी किन गरिरहन्थ्यौं ?

मुलुकी संहितामा ध्यानै दिन पाइनँ

गत वर्ष हामी सबैले कानुन पास गर्‍यौं । फौजदारी देवानी संहिता पूर्वप्रधान न्यायाधीशहरुको नेतृत्वमा कार्यदल बन्यो र गत वर्ष भदौमा यो संसदबाट पारित भयो । आश्विन ३० मा लालमोहर लाग्यो । यसमा छलफल भयो, तर लोकतन्त्रै खोसिन लाग्यो भनेर यस किसिमको बहस भएन । अहिले कार्यान्वयन हुनेबेलामा बेस्सरी विरोध भयो । अरुभन्दा बढी कारण सायद सरकारको अनुहार, त्यसमा पनि प्रधानमन्त्रीको अनुहार हेरेर होला ।

पोहोर पास भएको ऐनबाट अहिले लोकतन्त्र खतरामा देखियो । उतिबेलै भनिएको थियो, अर्को वर्ष भदौ १ गतेदेखि लागूहुन्छ भनेर । यो मिति पनि अहिलेको सरकारले तोकेको होइन । बरु अहिले सरकारले सहजीकरण गरेर के भन्यो भने कहीँकतै केही नमिलेको छ भने यो कुनै धर्मशास्त्रको रचना हामीले गरेका हैनौं, संविधान, कानूनमा कहीँ कमी कमजोरी देखियो भने आवश्यकता र औचित्यका आधारमा संशोधन हुन सक्छ । तर, विरोध चर्को छ । किनभने कारण अरु नै होला । नत्रभने, कानून पोहोरै बन्यो ।

म त चुनावको क्याम्पेनमा हिँडिराखेको थिएँ । खासमा यस मामिलामा मैले धेरै भ्याइँन क्या बहसमा लाग्न । किनभने, तपाईहरुलाई थाहै छ, म चर्को घेराबन्दीमा थिएँ । त्यो घेराबन्दी मैले तोड्नुथियो ।

मैले ०७३ साल साउन १९ गते प्रधानमन्त्रीबाट राजीनामा गर्दैगर्दा भनेको थिएँ- द्वापरयुगमा कलिलो अभिमन्युलाई चक्रब्यूहमा पारेर मारेका थिए, अहिलेको अभिमन्युचाहिँ छिप्पिएको छ । चक्रब्यूहमा पस्न पनि जान्दछ र तोडेर निस्कन पनि जान्दछ भनेर त्यतिखेर भनेको थिएँ । त्यो भनेको चुप लागेर बस्दिनँ, चक्रव्यूह तोड्छु भनेको थिएँ । त्यस काममा म भोलिपल्टैदेखि लागें । त्यस काममा लाग्नु परेको हुनाले यस काममा -मुलुकी संहिताको बहसमा) मेरो संलग्नता अलिकति कमै थियो । मैले गहनरुपमा हेर्न भ्याइनँ ।

तर, यसमा केही भए हेरफेर गर्न सकिन्छ, संशोधन गर्न सकिन्छ । बिती, बिगि्रहालेको छैन । यहाँहरुले सुझाउँदा हुन्छ । यस ठाउँमा, यस दफाले यो अप्ठ्यारो पार्‍यो भन्दा हुन्छ । यसलाई सच्याउन सकिन्छ ।

माइतीघरको निशेधाज्ञाः सञ्चारमाध्यमकै कृपाले थाहा पाएको हुँ

माइतीघर मण्डलामा पहिलोपल्ट होइन, सिंगै काठमाडौंमा कर्फ्यू पनि देखियो । सिंगै नेपालमा कर्फ्यू पनि हामीले भोगेर आयौं, माइतीघर मात्रै होइन ।


त्यहाँ ८ वटा बाटा वरिपरि छन् । दुर्घटना हुने, ट्राफिक जाम हुने स्थिति भएको हुनाले गृहमन्त्रालयले त्यहाँ प्रदर्शन नगर्नू भनेको रहेछ । त्यो पनि मैले सञ्चारमाध्यमबाटै, यहाँहरुकै कृपाले थाहा पाएको हो । यो सप्पै कुरा मैले गर्नुपर्ने पनि होइन, पहिले नै थाहा पाएको वा मेरै आदेशमा गरेको पनि होइन । तर, पछि मैले थाहा पाएँ । थाहा पाएपछि मैले के भएको हो भनेर सोधें ।

त्यहाँ सयजना मान्छे जाँदा पनि जाम हुन्छ, एकतिर मान्छे गयो, सबैतिर जाम हुन्छ । फेरि अर्को मान्छे गयो, सप्पैतिर जाम हुन्छ । अर्को निस्कियो, फेरि जाम हुन्छ । सयजना मान्छे पस्दा र निस्कँदा जाम हुन्छ बेस्सरी । यो ठीक भएन, अन्त प्रदर्शन गरे हुन्छ नि त भनेर गरेको (भन्ने गृहको जवाफ आयो) ।

नेपालमा विरोध प्रदर्शनमा रोक लागेको हो र ? यति सेन्सेटिभ हुनुपर्ने गरी नि, रोकै लागेको हो र ? त्यसै सम्बन्धमा सरकारसँग कुरा गर्न पनि सकिन्थ्यो । माइतीघर मण्डला प्रदर्शनीका लागि उपयुक्त ठाउँ हो भने त ठीक छ नि । गरौं न, त्यो के भो र, हाम्रै हो । मण्डला पनि हाम्रो हो । बाटो पनि हाम्रो हो । ट्राफिक पनि हाम्रो हो । हिँड्ने पनि हामी हौं । जाम भएको पनि ठीकै छ भने के भो त ? नेपालको कल्चर हो हाम्रो । त्यो कल्चरलाई, के बिगि्रयो त ? मेरोमात्रै केके न लिनुदिनुजस्तो । त्यसमा त मेरो केही छैन नि त । गृहले त्यो जारी गरेछ । त्यो ठाउँमा चाहिँ नगर्ने भनेर ।

मैले भनें, त्यो ठीकै पनि हो । मण्डला भनेको आफैंमा एउटा पवित्रस्थल हो । मण्डलामा विरोध गर्ने, उफि्रने, कुल्चिने गरिँदैन । शान्तिपूर्ण ढंगले कहिले-कहिले साँझतिर बत्ती बाल्न, कुनै ठूलो दूर्घटना वा क्षति भयो भने दिवंगत आत्माको शान्तिको कामना गर्न, मौनधारण गर्न ।

आन्दोलनपछि हामीले त्यस्तो प्रयोग पनि गर्‍यौं । त्यहाँ शान्तिपूर्ण ढंगले बत्ती बाल्ने प्रयोग पनि गर्‍यौं । मौनधारण गर्ने प्रयोग पनि गर्‍यौं । अब यस्तो कहिल्यै नहोस् भन्ने कामना गर्‍यौं । र, त्यो ठाउँमा मेरो सम्झनाअनुसार उत्तेजक भाषण गरिएन ।

माइतीघरमा म पनि गएको छु दुईचारपल्ट दीप प्रज्वलन गर्न । त्यो पवित्र ठाउँ भएको हुनाले त्यसलाई ठूलो राष्ट्रिय झण्डा राख्ने ठाउँ पनि बनाऔं । नेपालमा त्यस्तो गरिएको छैन । एउटा खास चोक पर्छ, सेन्टर जस्तो छ, त्यहाँ एउटा ठूलो झण्डा राख्ाौं भनेर युथहरुले भनें । मैले पनि भनें ठीक छ, राष्ट्रिय झण्डा राखौं, तपाईहरुले राख्नुभो, यसपछि महानगरपालिकालाई दिऔं भनें । उहाँहरुले झण्डा फेर्ने कामचाहिँ हामी नै गर्छौं भन्नुभो । बनाउने नै भएपछि अलि अग्लो त्यहाँ बनाउनै छ ।

मलाई लाग्छ, माइतीघर मण्डला पवित्र ठाउँ हो । त्यसलाई ओमकारको प्रतीक मानिन्छ । बुद्धमार्गीहरुले बुद्धको हृदयका रुपमा मान्छन् । हिन्दूहरुले बेग्लैरुपमा । मण्डला भनेको चाहिँ एउटा पवित्र चिजका रुपमा मानिन्छ । यो एक ढंगले भन्ने हो भने शान्तिपूर्ण ढंगले ध्यान, योगाबाट विश्वशान्तिको कामना गर्ने, ज्ञानको ज्योति छर्ने ठाउँ हो । ब्रह्मचेत छर्ने भएको हुनाले मण्डला त्यसरी बनाइन्छ भनेर मैले व्याख्या पनि गरें । आजकलको जमानामा सबै कुरा इन्टरनेटमा पाइन्छ, ‘ह्वाट ईज मण्डला’ भनेर हेर्‍यो भने त्यहाँ भनिहाल्छ ।

आन्दोलनका क्रममा कहीँ त्यसका सीमाहरु मिचिएका छन् भने पनि सच्याउनुपर्छ । यसमा अन्यथा केही छैन । सम्मानित सर्वोच्च अदालतले पनि माइतीघरमा उफ्रिन कराउन उपयुक्त छ या छैन, पछि विचार गरौंला, हाललाई जे हाम्रो थिति छ, त्यो गौरवपूर्ण परम्परा कायम राख्नू भनेको हुनाले चलेकै छ अहिले । चल्दा भैगो । त्यसै गर्दाखेरि ठीकै छ भने मलाई त्यो धेरै आपत्तिको कुरा होइन ।

तर, मेरो राय भन्नुहुन्छ भने मलाई फेरि पनि भन्न अप्ठ्यारो छैन, यो विरोध प्रदर्शनका लागि उपयुक्त ठाउँ होइन । स्थानविशेषले पनि होइन, मण्डलाको हिसाबले पनि होइन । ट्राफिकको हिसाबले पनि होइन । त्यसको आकार, प्रकार, साइज, केही हिसाबले पनि यो उपयुक्त होइन । मलाई लागेको त्यत्ति हो । गृहले त्यो जारी गर्‍यो । मण्डला बुझेर गृहले जारी गर्‍यो जस्तो लाग्दैन मलाई । उसले ट्राफिक कण्डिसनलाई हेरेर जारी गर्‍यो । तर, यसमा दुईवटा पक्ष छन्ः एउटा- ट्राफिक कण्डिसनको पक्ष, अर्को-मण्डलाको पक्ष । कि त मण्डला भत्काइदिऔं ! प्रदर्शनीस्थल, कुल्चने उफ्रने स्थल बनाऔं । बक्सिङ हान्ने पनि त एउटा निश्चित ठाउँ हुन्छ नि !

मण्डला बडो विचित्रको ठाउँ हो । कसरी प्रयोग गर्ने ? साथीभाइले जे भन्नुहुन्छ, सर्वसम्मति हुन्छ । केही छैन त्यसमा । यो मण्डलाबाटै तानाशाही लगाउनुपर्ने त्यस्तो मेरो के ख्वाब छ र ?

नेपालविरुद्ध गम्भीर षड्यन्त्र भइराखेको देखिन्छ

अहिले देशको परिस्थितिको कुरो गर्दा राष्ट्रलाई शान्त रहन नदिने अनेक प्रकारका द्वन्द्वका टुसाहरु ठुल्ठुलै पलाएर पात हालिसकेका थिए, ती साम्य भए । अहिले केही तत्वहरु किनारा लागेका छन् ।

हिंसालाई खेती बनाउने लोकतान्त्रिक प्रणाली हुँदैन भन्ने कञ्चनपुरको प्रशंगमा आएको वक्तव्य हेर्नुभए हुन्छ । जनताले निर्वाचित गरेको प्रणाली हुँदैन भने के प्रणाली हुन्छ ? जनताले निर्वाचित गरेको सरकार हुँदैन भने कसले भनेको चाहिँ सरकार हुन्छ ? राजा महेन्द्रले वीपीलाई त्यही भनेका थिए । जनताले भनेर हुन्छ ? म मान्दिनँ भनेका थिए । जनताको अभिमत नमान्ने भए कसको अभिमत मान्ने ?

शान्तिपूर्ण हैन, बम पड्काएर । उदयपुरमा कांग्रेस कार्यकर्ताको खुट्टो काटिएको छ । एउटा म्यादी प्रहरीमा भर्ना भयो, उसको ज्यान गयो । अर्को ठाउँमा अर्को नेताको गाडीमा प्रहार भयो । भोजपुरमा गाडीमा प्रहार भयो । नुवाकोटमा गाडीमा प्रहार भयो । यी सबै राजनीतिक पार्टीका नाममा भएका अराजनीतिक आतंककारी क्रियाकलाप हुन् । यस्ता तत्वहरु, यिनलाई थुन्न गाह्रो छ । यिनको कहाँकहाँ सम्म पहुँछ त्यो डरलाग्दो छ । भन्न सकिँदैन । क-कसको साथ सहयोग छ, क-कसको हात छ ।

नेपालका विरुद्ध गम्भीर षडयन्त्र भइराखेको देखिन्छ । अर्कातिर खुलेआम देश टुक्र्याउँछु भनेर, यद्यपि अहिले शान्तिपूर्ण भनेको छ । तर, देश टुक्राउने कुरा गरेर, भौगोलिक अखण्डतालाई चुनौती दिएर, शान्तिपूर्ण भन्दै । माओवादीले पनि हिजो त्यही भनेको थियो ।

माओवादीले ‘यो राजतन्त्रविरुद्ध हामी होइन क्यारे’ भन्दै दरबारमा मान्छे पठाएर साँठगाँठ गरेकै थियो । सेनाविरुद्ध हामी छँदैछैनौं भनेर विभिन्न जर्नेलहरुसँग साँठगाँठ थियो । ती माओवादी खुल्ला हुनेवित्तिकै मनोनित सांसद हुन पुगेका पनि थिए । जर्नेल हुँदाखेरि ती मान्छे नेपाली सेनाको जागिर खाएर माओवादी नेताहरुलाई बोकेर कुद्थे गाडीमा ।

त्यसकारण लिंकेज कसको, कहाँ भनेर भन्न गाह्रो छ । अहिले पनि म व्यक्त गर्दिनँ यो । तपाईहरुले, न पहुँचे कवि, त्यहाँ पहुँचे पत्रकार Û तपाईहरु जान्नुहुन्छ, मेरो त्यत्रो धेरै एक्सेस छैन ।

समाजमा अपराध बढ्यो, पहिले यस्तो थिएन

अपराध कर्महरु बढिराखेका छन् । अपराध बढ्नुका पछाडि अपराधलाई बढावा दिने, एउटा राजनीतिक पार्टी हुँ भन्छ, बम, तोडफोड, अपहरण, सफाया गर्ने घोषणा गर्छ । भौतिक कारवाही गर्ने भन्छ । बिग हाउसेस पैसा तिरेर बाँचेका छन्, नत्रभनेदेखि के गर्छन्, के गर्छन् । सबैभन्दा केही पनि गर्न नसक्ने, जुँगा उखेल्ने, दाह्री लुछाउन सकिने त यही सरकार छ । कानूनमा बाँधिएको छ । लोकतन्त्रप्रति माया छ । अरुका अधिकारहरुको सम्मान गर्नुपर्छ । त्यसका लागि लडिएको छ । जिन्दगी त्यसैका लागि समर्पित गरिएको छ । त्यसकारण सबभन्दा….। कहिले-कहिले बच्चा उफि्रएर हिँड्छ, नजानेर लड्छ अनि आमाले केही गर्दिन भनेर डयाम्म आमालाई हिर्काउँछ, म लडें भनेर । त्यस्तै हो, कसले कहाँ के गर्छ, त्यसको दोष पनि सरकारलाई पोखिन्छ । यो स्वाभाविकै पनि हो ।

तर, हिंसाको प्रवृत्ति फैलाउने तत्वहरु, हिंसाको भाषा बोल्नेहरुले हिंसाको मनोविज्ञान बढाइराखेका छन् । यसमा हामीले विचार गर्नुपर्छ भन्ने लाग्छ । हाम्रो समाज सभ्यताको सुरुवात र अगुवाइ गरेर आएको समाज हो । सिभिलाइजेन यहीँबाट सुरु भएर आएको थियो । हाम्रो पृष्ठभागमा हाम्रो सनातन, हाम्रा सभ्यताका पृष्ठभूमिहरु छन् ।

हाम्रो पारिवारिक व्यवस्था, यति धेरै सुरक्षा प्रवन्ध ऐन कानूनभन्दा पनि सायद हिजो हामी शिक्षाले, नराम्रो काम गर्नुहुँदैन भनेर, भगवानले हेरिराखेका छन् भन्ने कुराले चलेका थियौं । हिजोका धर्मग्रन्थहरुमा अनौठो ढंगले शिक्षा दिइएको थियो । कसैले देखेको छैन भने भगवानले देखिराखेको भनेर कन्ट्रोल गथ्र्यो । थानामा लगेर केरकार गर्नुपर्दैनथ्यो, तामोतुलसी समातेर भाक् भनेपछि पुग्थ्यो ।

अब अहिले हाम्रो शिक्षाबाट पनि, अरुबाट पनि आपराधिक प्रवृत्ति बढ्दो छ । सरकारलाई एकछिन आलोचना गर्नु एउटा कुरा हो । तर, प्रश्न के हो भने यो दलविशेष वा सरकार विशेषको कुरा नभएर यो समाजमा बढ्दो आपराधिक प्रवृत्ति हो । यो खतरनाक छ । हामी कसैका लागि पनि यसले असुरक्षाको संकेत गर्छ ।

सरकारको तर्फबाट म यहाँहरुलाई भन्न चाहन्छु- सरकार यस्ता कुराप्रति अत्यन्तै सम्वेदनशील छ । चिन्तित छ । त्यसैले, कसैले माग नगरेको कञ्चनपुरकी पीडित बालिका निर्मला पन्तको परिवारलाई पनि सरकारले राहत दिएको छ । त्यो कसैले मागेको थिएन ।

हरेक मान्छेमा सकारात्मक मनोभावको वृद्धि गराउने भूमिका हामीले खेल्नुपर्छ । मानवीय भावको विकास गर्ने काम हामी गर्न सक्छौं । नकारात्मक प्रवृत्ति आवेश उत्तेजनाको होइन ।

तपाईहरुले हेर्नुभयो भने सञ्चारमाध्यममा कुनै पनि महिलाको इज्जत आमद नराखेर मनपरि बोल्ने कुरा त डोमोक्रेसी छ । नि । हैनभने दर्तावालाले सक्दैन भने दर्ता नभएको अनलाइन भनेर चलाइदिए भैगो । एउटा क्यामेरा लिएर एउटा टीभी अनलाइन भने भैगो । दर्ता नगरे भो । यस्तो छ । यस्ता कुराहरुमा हामीले समाजलाई अलि सकारात्मक बाटोमा लागुपर्छ कि भन्ने मेरो आग्रह हो ।

मैले योभन्दा बढी बोलें भने, यसै आरोप छ कि आफैंमात्र बोल्छ, अरुको कुरा सुन्न पनि दिँदैन, बोल्न पनि दिँदैन ।

यो पनि पढ्नुहोस्

सार्कलाई सक्रिय बनाउन सकिएन, बिमस्टेक पनि प्रभावकारी भएन : ओली 

त्यो ‘असारे भिजिट’ अखबार पढेर थाहा पाइयो : प्रधानमन्त्री 

गृहमन्त्रालयलाई प्रधानमन्त्रीको प्रश्नः लेनिन विष्टलाई किन फर्काएको ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment