११ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वलडाकू लेनिन विष्टलाई विमानस्थलबाटै फर्काएको घटनाबारे गृहमन्त्रालयसँग २४ घण्टे लिखित स्पष्टीकरण सोधेका छन् । ट्रमा सेन्टरबाट डाक्टरलाई गृहमन्त्रालयमा लगिएको प्रकरणमा पनि प्रधानमन्त्रीले चासो दिएका छन् ।
थाइल्याण्डमा हुन लागेको एक कार्यक्रममा जान लाग्दा पूर्व लडाकू विष्टलाई अध्यागमनले विमानस्थलबाटै फर्काएको थियो । ‘माथिको आदेश’ भन्दै विष्टलाई फर्काइएपछि नागरिक स्वतन्त्रतामा सरकारले हस्तक्षेप गरेको आरोप लाग्दै आएको छ ।
सोमबार बिहान प्रधानमन्त्रीनिवास बालुवाटारमा सम्पादकहरुसँग भएको भेटमा प्रधानमन्त्री ओलीले गृह मन्त्रालयलाई आफूले यसबारे लिखित स्पष्टीकरण सोधेको जानकारी दिए ।
प्रधानमन्त्री ओलीले भने- ‘एयरपोर्टबाट लेनिन विष्ट फिर्ता गरेको भन्ने सुनें मैले । फिर्ता गरियो भन्ने सुनेपछि मैले गृहमन्त्रालयलाई प्रधानमन्त्री कार्यालयबाट यो अलि बढ्तै भयो, यो कसको आदेशमा कसले गरेको हो, कसरी गरेको हो, २४ घण्टाभित्र लिखित स्पष्टीकरण र जवाफ दिनू भनेर मैले गृहलाई लिखित पठाएँ ।’
प्रधानमन्त्रीले अगाडि भने- ‘यस सम्बन्धमा, लेनिन बिष्टका बारेमा के भो, म हेर्दैछु अहिले । अनधिकृत ढंगले या गैरकानूनी ढंगले कुनै व्यक्तिको स्वतन्त्रताको हकमा तलमाथि पर्नेगरी केही भएको छ कि छैन, हेर्नुपर्यो भनेर मैले झिकाएको हो ।’
डाक्टरलाई किन उठाइयो ?
लेनिन विष्ट प्रकरणका साथै गृहमन्त्री राममबहादुर थापाका राजनीतिक सल्लाहकार सूर्य सुवेदी पथिकले वीर अस्पताल, ट्रमा सेन्टरमा कार्यरत डा. भोजराज अधिकारी अधिकारीलाई अपहरण शैलीमा गृहमन्त्रालय लगेर धम्क्याएको विषयमा पनि प्रधानमन्त्रीले चासो देखाएका छन् ।
मन्त्रालयकै गाडीमा लगेर डाक्टरलाई ‘द्वन्द्वकालका घाइतेहरुको अपांगताको रिपोर्ट उनीहरुको चाहनाअनुरुप बनाउन’ पथिकले दबाव दिएको समाचार बाहिर आएको थियो ।
यसबारे आफूले गृहमन्त्रालयका आधिकारिक व्यक्तिलाई सोध्दा उठाएर ल्याएको नभइ गाडी पठाएर बोलाएको जवाफ दिइएको र त्यसलाई आफूले ‘होला’ भन्ने ठानेको प्रधानमन्त्री ओलीले बताए ।
यसबारे पनि विष्ट प्रकरणमा जस्तै ‘अलि बढी नै भएको’ हुन सक्ने भन्दै प्रधानमन्त्रीले गृहसँग स्पष्टीकरण मागेको बताए ।
प्रधानमन्त्रीले अगाडि भने- ‘यस्ता स-साना इरिटेटिङ कुराहरु मलाई पनि सुरुमा थाहा हुँदैन, त्यो स्वाभाविकै पनि हो । तर, जतिबेला थाहा पाउँछु, मैले स्टेप चाल्ने गरेको छु । एक्सन लिने गरेको छु ।’
प्रधानमन्त्री ओलीले आफूले भ्रष्टाचार भएको नदेखे पनि थाहा पाउनासाथ कारवाही गर्ने बताउँदै त्यस्ता घटनाहरु थाहा पाएमा आफूलाई जानकारी दिन पनि पत्रकारहरुसँग आग्रह गरे ।
‘मेरो सचिवालयमा जुन टीम छ, शंका त गर्न पाउनुहुन्छ, तर शंका नगरे हुन्छ, कसैले गडबडी गर्यो भने म थाहा पाइहाल्छु,’ प्रधानमन्त्रीले भने- ‘कसरीले शरीरमा अत्तर दलेको छ भने बास्ना आइहाल्छ नि ।’
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4