Comments Add Comment

सिरिया युद्धलाई लिएर अमेरिका र रुस आमनेसामने

१३ भदौ, काठमाडौं । सिरियाको सरकारी फौजको सहयोगको लागि रुसले मेडिटेरियन समुन्द्रमा एक दर्जन युद्धपोत खटाएको छ ।

यसलाई सन् २०१५ मा सिरियाली द्वन्द्वमा रुस प्रवेश गरेपछिको रुसको सबैभन्दा ठूलो सैनिक तैनाथीको रुपमा चित्रण गरिएको छ ।

सिरियाका राष्ट्रपति वसर अल असदले रुसको सहयोगमा विद्रोहीको कब्जामा रहेको अन्तिम क्षेत्र उत्तर इदलिब प्रान्तमा ठूलो हमला गर्ने तयारी गरिरहेका छन् ।

रासायनिक हतियार प्रयोग नगर्न अमेरिकाको चेतावनी

यसैबीच अमेरिकाले मंगलबार रुस र सिरिया सरकारलाई रासायनिक आक्रमण नगर्न चेतावनी दिएको छ ।

अमेरिकी विदेश विभागका प्रवक्ता हेदर नौअर्टले भनेकी छिन्, ‘यदि इदलिब र अन्य क्षेत्रमा रासायनिक हतियारको प्रयोग गरेको पुष्टी भएमा अमेरिकाले तत्काल उचित कदम चाल्नेछ ।’

यता रुसले भने सिरियाको सरकारी फौजविरुद्ध आक्रमणको तयारीस्वरुप अमेरिकाले मध्यपूर्वमा आफ्नो सैनिक बल निर्माण गरिरहेको आरोप लगाएको छ ।

मेडिटेरियन समुन्द्रतर्फ अगाडि बढ्दै रुसी युद्धपोत

शनिबार रुसको ‘एडमिरल ग्रिगोभिच’ र ‘एडमिरल एसेन’ युद्धपोत टर्कीको बोस्फोरसबाट मेडिटेरियन समुन्द्रतर्फ जाँदै गरेको रोयटर्सको एक तस्वीरमा देखिएको थियो ।

त्यसको एक दिन अघिमात्रै पनि अन्य दुई रुसी युद्ध जहाजहरु उक्त क्षेत्रबाट मेडिटेरियन समुन्द्रतिर गइरहेका थिए भने यसै महिनाको सुरुवातमा अर्को जहाज पनि गएको थियो ।

इज्भेस्तिया अखबारका अनुसार रुसले सन् २०१५ मा असदको पक्षमा सिरियामा उपस्थिति जनाएपछि मेडिटेरियन समुन्द्रमा अहिलो आफ्नो सबैभन्दा ठूलो नौसेनाको उपस्थिति देखाएको छ ।

उसलेे १० युद्धपोतहरु समुन्द्रमा पठाएको छ भने अरु पनि पठाउने तयारी गरेको छ ।

सिरियाली सरकारी फौजले इदलिब प्रान्तमा विद्रोहीहरु लुकेर बसेको क्षेत्रमा भयानक कारवाहीको तयारी गरेको छ । त्यहाँ अलकायदा र विभिन्न सिरियाली विद्रोही समूहहरुको उपस्थिति रहेको छ ।

यो क्षेत्र टर्कीको सीमाक्षेत्र नजिकै पर्ने भएकाले आक्रमणले मानवीय र सुरक्षा विपद् आउन सक्ने धेरैले आशंका गरेका छन् ।

अलजजिराबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment