+
+

बाजुराका पत्रकार खड्का चार दिनदेखि वेपत्ता

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ १३ गते १४:४०

१३ भदौ, काठमाडौं । बाजुरामा कार्यरत पत्रकार तेजबहादुर खड्का चार दिनदेखि बेपत्ता भएका छन् । बाजुराको बुढीनन्दा तीर्थस्थलमा जनैपूर्णिका अवसरमा लाग्ने मेलामा गएका उनी भदौ १० गतेदेखि हराएका हुन् ।

बुढीनन्दाबाट फर्किने क्रममा खड्का छाप्रेको लेकसम्म आइपुगेको जानकारी आएको र त्यसपछि सम्पर्कविहीन भएका बाजुराका प्रहरी प्रमुख डीएसपी सागर बोहराले जानकारी दिए ।

डोटी घर भएका खड्का बाजुराको बुढीनन्दा रेडियोमा कार्यरत छन् । उनी पत्रकार महासंघ डोटीका सदस्य हुन् । उनी भदौ ७ गते नै त्यस क्षेत्रमा रिपोर्टिङका लागि गएका थिए ।

करिब ४ हजार १ सय मिटर उचाइको उक्त क्षेत्र मानव बस्ती ४ घण्टा टाढा पर्छ । प्रहरीले खड्का हराएको जानकारी भदौ ११ गतेमात्रै जानकारी भएको बताएको छ । अहिले उनको खोजीका लागि ३ वटा टोली परिचालन गरिएको डीएसपी बोहराले जानकारी दिए ।

भदौ ११ गते उहाँ हराएको जानकारी पाउनेवित्तिकै दुई जना पत्रकार, उहाँको साला र एक जना प्रहरी पठाएका थियौं, त्यसपछि हिजो बिच्छ्या प्रहरी चौकीबाट पनि एउटा टोली खटिएको छ’ उनले भने ‘ आज इस्सपेक्टर लोकेन्द्र सिंह गुरुङसहित ७ जना प्रहरी र १५ जना नेपाली सेनाको टोली पनि पठाएका छौं ।’ उनका अनुसार यी टोलीहरुले खड्का जान सक्ने सम्भावित ठाउँहरुमा र उनी हराएको क्षेत्रमा खोजी गर्नेछ ।

खोजीमा गम्भीर हुन महासंघको आग्रह

नेपाल पत्रकार महासंघले पत्रकार खड्काको खोजीमा गम्भीर हुन सरकारलाई आग्रह गरेको छ । हराएको चार दिन बितिसक्दा पनि खड्काको अवस्थाका बारेमा कुनै जानकारी नभएको भन्दै महासंघले पत्रकार खोजी कार्यमा तदारुकता देखाउन सरकारलाई आग्रह गरेको हो ।

महासंघले बेपत्ता अवस्थामा रहेका पत्रकार खड्काको खोजीमा सहयोग गर्न मानवअधिकारकर्मी, नागरिक समाज, सञ्चारकर्मी र सञ्चारसम्वद्ध संघसंस्थाका साथै सबैलाई आह्वान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?