Comments Add Comment

‘रोज’मा प्रेमी प्रदिप, वकिल मिरुना, ‘मिस नेपाल’ परमिता

हतारमा सुटिङ सकेर चलचित्र ‘रोज’ को टिम पब्लिसिटी कन्सर्टका लागि भोली उपत्यका बाहिर निस्किँदै छ । त्यसअघि चलचित्रका मुख्य कलाकार प्रदिप खड्का, परमिता आरएल राणा र मिरुना मगर वुधबार पत्रकारमाझ प्रस्तुत भए ।

सामान्यतया कलाकारहरु चलचित्रको रिलिज अगाडि आफ्नो भूमिकाको बारेमा धेरै कुरा खुलाउँदैनन् । चलचित्रको कथा लिक होला भन्नेमा सचेत रहन्छन् । तर, यी तीन कलाकारले भने आफ्नो भूमिका र चलचित्रको कथावस्तुबारे बोल्न कन्जुस्याई गरेनन् ।

नायक प्रदिप खड्काका अनुसार उनले यो चलचित्रमा साइन गर्नुअगाडि धेरैपटक सोचेका थिए । आफ्नो रोमान्टिक छविलाई कतै धक्का पर्ने त होइन भन्ने चिन्ता उनमा थियो । तर, चलचित्रको बिषयवस्तुबाट सन्तुष्ट भएपछि उनी काम गर्न तयार भए ।

प्रदिपले भने- ‘कुनै पनि प्रेमीले आफ्नी प्रेमिकालाई किन मार्छ ? उसँग सबै विकल्प सकिएपछि मात्र उसले मार्ने र आफू पनि मर्ने निर्णय गर्छ । कथावस्तुमा काम गर्दा मैले यो कुरामा फोकस गरेको थिएँ । यदि, चलचित्रमा प्रेमिका मार्ने बाहेक अन्य विकल्प देखियो भने म गर्दिनँ भन्ने सोचमा थिएँ । तर, लेखकले कथावस्तुलाई त्यो विन्दुमा पुर्‍याएपछि म सन्तुष्ट भएँ ।’

आफ्नो ‘सेफ जोन’ भन्दा केही पर हटेर प्रदिपले यसपटक अभिनय गरेका छन् । त्यसैले पनि उनी दर्शकबाट कस्तो प्रतिक्रिया आउने हो भन्नेमा सचेत छन् । चकलेटी नायकले भने-‘दर्शकलाई चलचित्रको बिषयवस्तु कस्तो लाग्छ त्यो भोलीको कुरा हो । तर, मिडिया र दर्शकले मेरो कामलाई स्विकार गर्नुहुन्छ भन्ने लाग्छ । यदि, दर्शकलाई मेरो यो रोजाई मन परेन भने पनि उहाँहरुले मलाई माफ गर्नुहुने आशामा छु ।’
चलचित्रमा नायिका मिरुना मगर वकिलको भूमिकामा देखिएकी छिन् । यो भूमिका निभाउन आफूलाई सुरुमा केही गाह्रो भए पनि पछि सहज भएको उनको भनाई थियो ।

मिरुनाले रमाइलो अनुभव सुनाउँदै भनिन्-‘चलचित्रमा धेरै पटक श्रीमान् श्रीमान् भन्नुपर्दा मलाई असहज लागेको थियो । किनकी, श्रीमान् त आफ्नो लोग्नेलाई मात्र भन्छन् भन्ने लाग्थ्यो ।’

वकिल बनेकी मिरुना किन हत्यारा प्रेमीको पक्षमा अदालतमा बहस गर्छिन् भन्ने कौतुहलता दर्शकमा छ । मिरुना पनि यो कुरा नै चलचित्रको मुख्य विन्दुमा रहेको बताउँछिन् ।

नायिका परमिता आरएल राणा यो चलचित्रको शिर्ष भूमिकामा छिन् । उनकै हत्याको वरिपरी यो चलचित्र घुमेको छ । परमिताले आफू चलचित्रमा मिस नेपालको भूमिकामा देखिएको बताइन् । उनले भनिन्-‘म चलचित्रमा मिस नेपालको भूमिकामा छु । दर्शकले आफ्नै सेरोफेरोमा चलचित्र घुमेको पाउने परमिताको भनाई छ । उनले, आफ्नो रियल लाइफको पेशा र चलचित्रको भूमिका उस्तै रहेको सुनाइन् ।

‘तिजले गर्दा चलचित्र जुध्यो’
निरक पौडेल निर्देशित यो चलचित्र भदौ २२ गतेबाट रिलिज हुँदैछ । नायक प्रदिप खड्काले भदौ २२ मा नै रिलिज हुन लागेको चलचित्र ‘रामकहानी’सँग आफूहरुले रहरले चलचित्र नजुधाएको समेत बताए । उनले भने- ‘अर्को चलचित्रको टिमले मेरो कारणले चलचित्र जुधेको भन्दा मलाई दुख लाग्यो । हामीले वाध्यतावस भदौ २२ मा रिलिज गर्न लागेका हौं । तिज भदौ २७ गते पर्ने भएकाले र वुधबार चलचित्र रिलिज गर्न नमिल्ने भएकाले भदौ २२ मै चलचित्र ल्याइएको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment