Comments Add Comment

‘नाई नभन्नु ल ५’ को रफ्तारमा विमस्टेक सम्मेलन बाधक

विकास आचार्यद्वारा निर्देशिक फिल्म ‘नाई नभन्नु ल ५’ ले प्रदर्शनको छैटौं दिनमा आफ्नो लगानी सुरक्षित गरेको छ । फिल्मले बुधबारसम्ममा ३ करोड ४० लाखको ग्रस कलेक्सन गरेको निर्देशक आचार्यले बताए । यो फिल्म एक करोड ३० लाखको लागतमा बनेको हो ।

तर, फिल्मको व्यापारमा बिमस्टेक सम्मेलन बाधक बनेको छ । सम्मेलनमा विदेशी विशिष्ट पाहुनाहरुको आगमनका कारण काठमाडौंको यातायात प्रणालीमा बुधबारबाट जोर-विजोर प्रणाली लागू गरिएको छ । अर्कोतर्फ भिआईपीहरुको सवारीले गर्दा ट्राफिक अस्तव्यस्त बनिरहँदा त्यसको असर व्यापारमा देखिएको आचार्यको भनाई छ ।

‘फिल्मको रफ्तारमा बुधबार अलिकति ब्रेक लाग्यो,’ उनले भने, ‘बिहिबारदेखि र्शैक्षिक संस्थाहरु बन्द हुने भएकाले व्यापार बढ्ने आशा पनि छ ।’

यद्यपि, चार दिनसम्म लागू लागू हुने जोर-विजोर प्रणालीले गर्दा दर्शकहरु हलसम्म आउन भने सहज छैन । त्यसमाथि जताततै हुने ट्राफिक जामले पनि फिल्मलाई असर गरेको छ । जे होस भोलीबाट फिल्म मुनाफामा जाने छ । यो वर्ष प्रदर्शित कुनै फिल्मले नाफा कमाउन सकेका थिएनन् ।

नाई नभन्नु ल ५ ले रिलिजका दिन शुक्रबार सामान्य ब्यापार गरेको थियो । शनिबार भने व्यापार ह्वात्तै बढ्यो । शनिबार एकै दिन १ करोड १० लाख कमाएको फिल्मले आइतबार र सोमबार पनि सन्तोषजनक व्यापार गरेको थियो ।

स्वदेशी बजारमा राम्रो गरेपछि फिल्मले विदेशी बजार पनि ताकिरहेको छ । नेपालीहरुको बसोबास रहेका विभिन्न देशहरुमा फिल्म लगिने निर्देशक आचार्यले बताए । अमेरिकामा मात्रै १०० स्थानमा फिल्म देखाउने तयारी रहेको उनको भनाई छ । फिल्मको ओभरसिज राइट्स अहिलेसम्म विक्रि गरिएको छैन ।

‘ओभरसिज राइट्सका लागि विभिन्न पार्टीहरुसँग कुरा भइरहेको छ,’ आचार्यले भने । ‘नाई नभन्नु ल’ को पाचौं सिक्वेलका रुपमा बनेको यो फिल्मको सफलताले आचार्यको ट्र्याक रेकर्ड अझै मजबुत बनाएको छ । अहिलेसम्म यस ब्रान्डका कुनै पनि फिल्म घाटामा गएका छैनन् । ‘नाई नभन्नु ल’ र ‘नाई नभन्नु ल २’ सुपरहिट भएका थिए भने ३ र ४ ले लगानी उठाएका थिए । ‘नाई नभन्नु ल ३’ बलिउड अभिनेता शाहरुख खानको फिल्मसँग जुधेको थियो भने ४ लाई भुकम्पले असर गरेको थियो ।

पाचौं सिक्वेलको सफलताबाट आचार्य उत्साहित बनेका छन् । उनले चाँडै नै छैर्टाैं सिक्वेलको तयारीमा लाग्ने बताए । यद्यपि, त्यसअघि उनले बाहिरी ब्यानरको एउटा फिल्म गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment