आर्थर हेनरिक रामोस डि ओलिभिरा मेलो, सामान्यतः आर्थर नामबाट चिनिने उनी स्पेनिस क्लब बार्सिलोनाका लागि नयाँ आशा हुन् । लिजेण्ड खेलाडी आन्द्रेस इनिस्टाले क्बल छाडेपछि आर्थरलाई उनको विकल्पको रुपमा बार्सिलोनाले लगेको हो ।
ब्राजिलको गोएनियामा जन्मिएका उनी ब्राजिलियन सिरि ए क्लब ग्रेमियो जानुअघि गोएनियामै फुटबलमा रमाएका थिए । ग्रेमियोमा युथ टिममा राम्रो खेलेपछि मुख्य टिममा छानिए ।
२०१६ मा पहिलो रोजाइँको टिममा परेपनि त्यो सिजन उनले एक खेलमा मात्रै मैदानमा अवसर पाए । २०१७ को मध्यतिरबाट मात्रै उनले प्लेइङ ११ मा लगातार मौका पाएका थिए । त्यसबेला नै उनलाई बार्सिलोनाले लिन चाहेका खबरहरु आएको थियो । नभन्दै नयाँ सिजनका लागि ४० मिलियन युरोमा बार्सिलोनाले उनलाई किन्यो ।
ब्राजिलको यू-१७ र यू-२० टिमबाट खेलिसकेका उनले धेरै खेलमा आफ्नो कला देखाउनुअघि नै फुटबल विज्ञमाझ चिनिएका थिए । आर्थर राष्ट्रिय टिमबाट खेल्न बाँकी नै रहे पनि बार्सिलोनाले ६ वर्षको सम्झौता गरेर ठूलो विश्वास देखाएको छ ।
२२ वर्षका आर्थर सेन्टर मिडफिल्डमा उत्कृष्ट मानिन्छन् । उनको बल पासको कला र पोस्ट प्रहार देखेरै बार्सिलोनाले इनिस्टाको ८ नम्बर जर्सी दिएको हो । उनीमाथि ठूलो अपेक्षा रहेकैले उनको भूमिका के होला भन्नेमा चासो बढेको छ ।
ग्रेमियोमा रहँदा आर्थर विशेष त डिफेन्सिभ मिडफिल्डरका रुपमा चिनिएका थिए । तर, फरवार्डसँगै अघि बढेर सेन्टर मिडफिल्डमा अट्याकिङ शैली अपनाउने क्षमता पनि उत्तिकै छ । उनी विशेष त दाहिने तिर राम्रा देखिए पनि आवश्यक पर्दा देब्रेतिरबाट पनि खेल्न सक्छन् ।
फरवार्डका लागि उत्कृष्ट पास मिलाउने, पोसेसन बनाएर गोलको अवसर मिलाउने उनको खेलको मुख्य विशेषता हो । उनी विपक्षीको डिफेन्स लाइन कटाएर चिप पास मिलाउन पनि राम्रा मानिन्छन् । पासका लागि फरवार्ड नमिलेको अवस्थामा पनि उनी बल नियन्त्रणमा राखेर प्रेसर बनाइराख्न सक्षम छन् ।
आर्थरको करिअरको सुरुवातदेखि नै देखिएको कमजोरी भनेको गोलकिपरसँग पास खेल्दा देखिने गल्ती हो । डिप एरियामा प्रेसरको समय उनको पास बिगि्रएको देखिन्छ, जसले टिमलाई कुनै पनि बेला ठूलो घाटा पुग्न सक्छ । यसमा सुधार गर्ने हो भने बार्सिलोनाका सर्जियो बुस्केट्सले इनिस्टासँग मिलाएको जस्तै तालमेल मिल्न सक्छ ।
आर्थरलाई बार्सिलोनाले डिफेन्सिभ मिडफिल्डरको रुपमा भन्दा अफेन्सिभ मिडफिल्डरको रुपमा प्रयोग गर्ने देखिन्छ । मिडफिल्डमा डि्रबल गर्दै बल बढाउन सक्ने उनको क्षमताले पनि बार्सिलोनामा उनको प्रयोग नयाँ रुपमा हुनेछ ।
ला लिगामा एलाभेस सँगको पहिलो खेलमा १३ मिनेट समय पाएका उनले भायाडोलिडविरुद्ध अवसर पाएनन् । प्लेइङ ११ मा स्थान पाउनका लागि उनले र्याकिटिक, आर्टुरो भिडाल, डेनिस स्वारेज र सर्जी स्यामपरसँग प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ ।
कोटिन्होले धेरैजस्तो खेलमा सुरुवात गर्ने भएकाले पनि उनीसँगको तालमेल र्याकिटिक र भिडालले नै राम्ररी मिलाउने देखिन्छ । किनकि बक्स टु बक्स मिडफिल्डरमा आर्थर भन्दा धेरै र्याकिटिक र भिडाल सक्षम देखिन्छन् ।
सिजन सुरु हुन अघि भएका मैत्रीपूर्ण खेलमा अवसर पाएका आर्थरले मिडफिल्डमा बल मिलाउने मात्रै होइन, गोल गर्ने र गोलका लागि अवसर बनाउने काम पनि राम्ररी नै गरेका थिए । यसैले उनका लागि प्रशिक्षक भालभर्देले केही पक्कै सोचेको हुनुपर्छ ।
आर्थरले पनि बार्सिलोना आउनु अघि स्पेन र क्याटालोनियाका बारेमा गरेको अध्ययनले उनी लामो समय क्लबमा रहन सहज वातावरण बनाउँदै छन् भन्ने बुझिन्छ । उनले केही समय त स्पेनिस सिक्न साप्ताहिक रुपमा शिक्षक नै राखेका थिए ।
अहिले आफ्नो खानपान र शारीरिक व्यायममा पनि विशेष ध्यान दिइरहेका आर्थर बार्सिलोनामा पाइने अवसर सदुपयोग गर्न चाहन्छन् । यसैले त बार्सिलोना आएको केही दिनमै उनले भनेका थिए, ‘म जाभी पनि होइन इनिस्टा पनि । म आर्थर हुँ । उनीहरुसँगको तुलनाले मलाई खुसी मिले पनि मेरो आफ्नै पहिचान बनाउन चाहन्छु ।’
प्रतिक्रिया 4