Comments Add Comment

प्रधानमन्त्री ओली र मोदीद्वारा पशुपतिनाथमा धर्मशाला उद्घाटन

१५ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पशुपतिनाथ क्षेत्रमा निर्माण भएको धर्मशाला उद्घाटन गरेका छन् । पशुपति क्षेत्रमा निर्माण भएको नेपाल भारत मैत्री धर्मशालाको उद्घाटन गरेका हुन् ।

धर्मशाला उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले पशुपतिनाथले नेपाल र भारतको सभ्यता र संस्कृतिलाई जोडेको बताए । उनले बागमतीलाई सफा गरेर यहाँ स्नान गरेर पशुपतिनाथको दर्शन गर्न सकिने व्यवस्था गर्ने बताए ।

बाग्मती क्षेत्रको चौतर्फी विकास गर्ने काम सरकारको प्राथमिकतामा रहेको भन्दै ओलीले पशुपति क्षेत्र ज्ञान चिन्तन दर्शनको वास्तविक उद्गमस्थल भएको बताए ।

‘जतिबेला दुनियाँमा अन्धकार थियो । यस ठाउँमा ज्ञान संग्रह थियो । यसलाई ज्ञानभूमि, तपोभूमि चिन्तनभूमि भनिन्छ । लामो समयदेखि हाम्रा पुर्खाहरुले ज्ञान विज्ञान अध्ययन अनुसन्धान गरेको ठाउँ हो’ उनले भने ‘केही वर्षयता विभिन्न कारण पछाडि परेको छ । अब समय आएको छ । अब पुनर्जागरणको आवश्यकता छ ।’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पशुपतिनाथ हिन्दु र वौद्ध धर्माबलम्बीको संगमस्थल भएको बताउँदै यस क्षेत्रको विकासमा भारतको सद्भावना र सहयोग रहने बताए । नेपाल भारत मैत्री धर्मशालाले नेपालको पर्यटन विकास र आर्थिक गतिविधिमा सहयोग पुर्‍याउने ओलीले बताए ।

भारतीय प्रधानमन्त्री मोदीले नेपाल भारत मैत्री धर्मशाला नेपाल र भारतबीचको मित्रताको स्तम्भ भएको पनि बताए । पशुपतिनाथको पाउमा बिमस्टेक सम्मेलन भएको भन्दै मोदीले नेपालका प्रधानमन्त्री ओलीको नेतृत्वमा बिमस्टेक सदस्य देशहरु सुख शान्तिको दिशामा गति लिने विश्वास व्यक्त गरे । ‘यति महत्वपूर्ण जिम्मेवारी ओलीजीले पाउनुभयो, उहाँलाई धेरै धेरै बधाइ छ’ मोदीले भने ।

कस्तो छ धर्मशाला ?

भारत सरकारको २२ करोड रुपैयाँ अनुदानमा निर्माण भएको नेपाल भारत मैत्री धर्मशालामा ४ सय बेड रहेको छ । पशुपति मन्दिर क्षेत्रको १० हजार ६ सय २५ वर्गमिटरमा निर्माण भएको धर्मशाला तीन तलाको छ । धर्मशालामा एक बेड, दुई बेड, चार बेड, १० बेड र १२ बेडका कोठाहरु रहेका छन् ।

त्यस्तै भान्छा कोठा, भोजन हल, पुस्तकालय, बहुउद्देश्यीय हल, पानी प्रशोधन केन्द्र, सोलार र जेनेरेटर पनि रहेको छ ।

सन् २०१६ को सेप्टेम्बरमा सुरु भएको उक्त धर्मशाला शुक्रबार भारत सरकारले पशुपति क्षेत्र विकास कोषलाई हस्तान्तरण गरेको हो । कोषले नै पशुपतिनाथ मन्दिर दर्शनमा आउने तीर्थालुलाई धर्मशालामा राख्ने व्यवस्था गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment