Comments Add Comment

डा.गोविन्द केसीको प्रश्न- एम्बुलेन्समै बिरामीको मृत्यु भए को जिम्मेवार ?

१७ भदौ, काठमाडौं । डा. गोविन्द केसीले मुलुकी अपराध संहितालाई ‘बिरामीमारा कालो कानून’को संज्ञा दिएका छन् । यस्तो मुलुकी संहिता तुरुन्त फिर्ता लिन डा. केसीले सरकारसँग आग्रहसमेत गरेका छन् ।

नेपाल चिकित्सक संघको अगुवाइमा आइतबार काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरसम्म चिकित्सकहरुले मुलुकी संहिताको विरोधमा र्‍याली निकाले । र्‍यालीपछि बानेश्वरमा आयोजित कोणसभामा डा. गोविन्द केसीसमेत सम्वोधन गरे ।

मन्तव्यका क्रममा डा. केसीले मुलुकी अपराध संहितालाई बिरामीमारा कालो कानूनको संज्ञा दिँदै फिर्ता लिनुपर्ने सुझाए । उनले भने- ‘चिकित्सक र स्वास्थ्यकर्मी जवाफदेही हुनुहुँदैन भन्ने होइन, तर अहिलेको कानून बिरामीमारा छ, यो फिर्ता हुनुपर्छ ।’

नयाँ व्यवस्थाले डाक्टरलाई हतोत्साहित बनाएको र त्यसले बिरामीलाई रिफर गर्न मात्रै डाक्टरलाई प्रेरित गर्ने भएकाले यसबाट गरिव जनता नै मारमा पर्ने डा. केसीको भनाइ छ ।

‘अब डाक्टरहरुले जोखिम मोल्न खोज्दैनन् । हेल्थपोष्टले जिल्ला अस्पताल हुँदै शहरका ठूला-ठूला अस्पतालमा रिफर गर्ने अवस्था सिर्जना हुन्छ । ठूला अस्पतालले पनि अलि जोखिम लिनुपर्ने अवस्था देख्नेवित्तिकै भारतको दिल्ली वा अन्य देशमा रिफर गर्न थाल्दछन’, डा.केसीले भने,’ यो अवस्थामा पैसा हुनेले मात्रै उपचार गर्न सक्ने अवस्था हुन्छ । नेता विदेश नै गइरहेका छन् । अब पनि जान्छन् । मारमा पर्ने भनेको गरिव जनता नै हो । त्यसकारण यो कालो कानून फिर्ता हुनुपर्छ ।’

उपचार मन नपरेको अवस्थामा अहिले पनि मुद्दा गर्न सक्ने र दोषी ठहरिए कारबाही गर्ने व्यवस्था पहिले पनि भएको र अहिले पनि रहेको भन्दै डाक्टर केसीले उपचार गर्दागर्दै बिरामीको मृत्यु भएको अवस्थामा ज्यानमाराको अभियोग लगाइनु उचित नभएको बताए । डाक्टरलाई तर्साएर गुणस्तिरीय सेवा उपलब्ध हुन नसक्ने बरु डाक्टरले उपचारका लागि अन्य अस्पतालमा रिफर गर्दा गर्दै बिरामीको मृत्यु हुनसक्ने भएकाले सरकारले त्यसतर्फ सोच्नुपर्ने उनले बताए । ‘रिफर टु रिफर भइरहँदा बिरामीको एम्बुलेन्समै मृत्यु भयो भने को जिम्मेवार ? केसीले प्रश्न गरे, उपचार गर्दै गर्दै मृत्यु भएको अवस्थामा पनि उपचारमा संलग्न डाक्टर दोषी कि अस्पताल ?

भदौ १ गतेदेखि लागू भएको मुलुकी अपराध संहिता ऐनको दफा २३०,२३१,२३२ र २४० लाई संशोधन गर्न माग गर्दै चिकित्सकहरुले आइतवार राजधानी काठमाडौंसहित देशभर प्रदर्शन गरेका छन् ।

कसैले ज्यान लिने उदेश्यले गरेको अपराध र उपचार गर्दागर्दै सम्भव नभएर मृत्युको मुखमा पुग्ने बिरामीको उपचारमा संलग्न डाक्टर एकै हुन भनेर अर्‍थ्याउन नहुने चिकित्सकहरुको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment