Comments Add Comment

मन्त्रीज्यू ! कतार जाँदा म्यानपावरले ठग्यो, अब कहाँ जाने ?

म मोरङ निवासी एक बेरोजगार युवक हुँ । रोजगारीका लागि कतार जाने सिलसिलामा म म्यानपावर कम्पनीबाट नराम्रोसित ठगिएँ । न्यायका लागि बैदेशिक रोजगार विभाग जाँदा कर्मचारी, वकिल र म्यानपावरवालाहरुले मिलेर मलाई फस्ल्याङ-फुस्लुङ बनाई मिलापत्र गराए ।

अन्ततः मैले न्याय नपाएपछि अहिले प्रहरीमा उजुरी गरेको छु । यही क्रममा श्रममन्त्री गोकर्ण विष्टज्यूलाई पनि यसबारे जानकारी गराउँदै पत्र पठाएको छु ।

मैले कतार जाने क्रममा मिडिल ईष्ट एचआर सोलुसन प्रालिमा काम गर्ने आनन्द गिरीलाई ५० हजार रुपैयाँ दिएको थिएँ । उनले थप एकलाख रुपैयाँ चाहिन्छ भन्दै सन्तोष ढुंगानाको नाममा रकम पठाउन भने । त्यसपछि बुबा देवीप्रसाद कट्टेलले मोरङको बेलबारीबाट आइएमई गरेर सन्तोष ढुंगानाका नाममा थप एक लाख रुपैयाँ पठाइदिनुभयो ।

मिडिल ईस्ट एचआर सोलुसन प्रालिसित आर्थिक कारोबार गरेपछि मलाई अल ओभरसिज प्रालिले फर्म भराएर कतार पठाइयो । कतारमा मैले कुनै काम पाइनँ । त्यहाँ अलपत्र परेपछि साथीभाइको सहयोगमा आफ्नै पैसाले नेपाल फर्किएँ ।

नेपाल फर्किएपछि मैले अल ओभरसिजसँग आफ्नो डेढ लाख रुपैयाँ फिर्ता माग्दा उसले विभागमा २८ हजार रुपैयाँमात्रै मलाई दिएर मिलापत्रको कागजमा सही गरायो । टिकट वापत २२ हजार लागेको भन्दै २८ हजार फिर्ता दिइयो । आखिर २२ हजारमा कतार पुगिने रहेछ, तर मसँग ५० हजार लिइएको थियो । त्यसमा थप १ लाख आइएमई गरेर पठाउन लगाइएको थियो । त्यो एक लाख रुपैयाँ अहिलेसम्म मैले फिर्ता पाएको छैन ।

बुबा देवीप्रसाद कट्टेलले आइएमई गरेर पठाएको एक लाख रुपैयाँ फिर्ता माग्दा त्यो ढुंगानाले जान्दछ, कम्पनीले व्यहोर्दैन भन्ने जवाफ म्यानपावरबाट आउने गरेको छ । विभागका कर्मचारीले पनि म्यानपावरकै मानिसको कुरो सुने । वकिलहरुले पनि ‘भाइ त्यो पैसा त व्यक्तिले जान्दछ, म्यानपावरसँग तिमीले लिन मिल्दैन’ एकमुख जवाफ फर्काएका छन् ।

त्यो एकखाल रुपैयाँ उही आनन्द गिरी र सन्तोष ढुंगानासँग माग्नु भन्दै बैदेशिक रोजगार बोर्डका सदस्यहरुले अल अरबिक ओभरसिज र मिडिल ईस्ट एचआर सोलुसनलाई दायित्वबाट छुटकारा दिएकाले म ठूलो अन्यायमा परेको छु ।

जसलाई आइएमई गरेको हो, उसैलाई पुलिसमा गएर उजुरी गर्न, म्यान पावरलाई समात्न मिल्दैन भन्दै बोर्डका कर्मचारीले म्यानपावरकै पक्षमा वकालत गरेर म गाउँको सोझो व्यक्तिलाई मिलापत्रमा हस्ताक्षर गर्न बाध्य बनाएका छन् । यो सरासर ठगी धन्दा हो ।

हाल मिडिल ईस्ट एचआर सोलुसनका आनन्द गिरी कतारमा रहेको जवाफ आउने गरेको छ । कार्यालयमा कुरा गर्दा गिरीलाई हामी चिन्दैनौं भनेर पन्छिने गरेका छन् ।

आनन्द गिरी कतारमा भिसाका व्यापारी रहेछन् । उनैले आइएमईमार्फत १ लाख रुपैयाँ पठाउन लगाएका थिए । गिरी मिडिलईस्ट सोलुसन म्यानवापरबाटै मेरो सम्पर्कमा आएका व्यक्ति हुन् । र, तिनै गिरीलाई दिइएको पैसाकै आधारमा अल अरेबिया ओभरसिजले मलाई कतार उडाएको हो ।

यी सबै परिघटनालाई हेर्दाखेरि मिडिल ईस्ट र अल ओभरसिजका सञ्चालकहरुवीच साँठगाँठ रहेको स्पष्टै छ । त्यसैगरी मसँग पैसा माग्ने गिरी पनि कम्पनीसँगै सम्बन्धित छन् । गिरीले नाम दिएका सन्तोष ढुंगाना को हुन्, मलाई थाहा छैन ।

देशमा केही काम नपाएर विदेश जाने हामीजस्ता युवालाई यसरी म्यान पावरका दलाल, वकिलहरु र कर्मचारीले समेत दिनदहाडै झुक्याउने र ठग्ने काम गरिरहेका छन् । अब मैले कसरी न्याय पाउने मन्त्रीज्यू ? मैले ऋण काढेर उनीहरुलाई दिएको रकम फिर्ता हुन्छ कि हुँदैन ? अब मैले न्याय माग्न कहाँ जाने ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment