Comments Add Comment

बिमलले जोगाएको त्यो खेल, जोगाउन नसकेको यो खेल

१९ ढाका, बंगलादेश । सन् २०१३ काठमाडौंमा सम्पन्न साफ च्याम्पियनसिप फुटबलको एउटा म्याच धेरै नेपाली फुटबलप्रेमीको स्मृतिमा ताजै हुनुपर्छ । उक्त म्याचले विमल घर्तिमगरलाई एकाएक स्टार बनाएको थियो ।

आफ्नो पहिलो उद्घाटन खेलमा बंगलादेशविरुद्ध २-० गोलको जित निकालेर पाकिस्तानविरुद्ध उत्रेको थियो नेपाल । जितको लक्ष्यका साथ मैदान छिरेको नेपाली टोलीलाई खेलको १४ औं मिनेटमा नै पाकिस्तानका हसन नविद बासिरले स्तब्ध बनाए ।

पहिलो हाफमा नेपाल १-० गोलले पछि परेको थियो । दशरथ रंगशालामा उपस्थित करिब १९-२० हजार दर्शक नेपाल… नेपाल… भन्दै चिच्याइरहेका थिए । तर, नेपालले ९० मिनेटको समयसम्म पाकिस्तानविरुद्ध गोल फर्काउन सकेन । समर्थक बेचैन बन्दै गोलका लागि हुटिङ गरिरहे ।

नभन्दै खेलको ६७ औं मिनेटमा टंक बस्नेतको स्थानमा मैदानमा छिरेका १५ वषिर्य विमलले अतिरिक्त समयमा गोल निकाले । उनको गोलमा नेपाले १-१ गोलको बराबरीमा फर्कियो । त्यो गोललगत्तै बिमलको जताततै चर्चा भयो । उनी सामाजिक सञ्जालमा छाए । आखिर वैकल्पिक खेलाडीका रुपमा प्रवेश गरेका उनको गोलले नेपाललाई हारबाट जोगाएको थियो । उनले करिब ३ करोड नेपालीको हुटहुटी शान्त गरेका थिए ।

पाँच वर्षपछिको साफ च्याम्पियनसिपमा उनै विमलले उही पाकिस्तानविरुद्ध मंगलबार फेरि बराबरी गोल गरे । तर, यसपाली गरेको गोलले नेपाललाई हारबाट जोगाउन सकेन ।

संयोग नै मान्नुपर्छ पाँच वर्ष अगाडि पनि पहिलो हाफमा पाकिस्तानका हसन नविद बासिरले नै गोल गर्दै अग्रता बनाएका थिए भने जारी साफ च्याम्पियनसिपमा पनि उनकै गोलमा पाकिस्तानले अग्रता बनाएको थियो । यद्यपि, यसपालीको गोल उनले पेनाल्टीमार्फत गरेका हुन् ।

२०१३ मा वैकल्पिक खेलाडीका रुपमा आएका विमल यसपाली प्रमुख स्ट्राइकरका रुपमा मैदानमा थिए । उनलाई पनि २०१३ को झझल्को पनि आइरहेको हुनुपर्छ त्यतिबेला । नभन्दै विमलले खेलको ८२ औं मिनेटमा वान टचमा गोल गरे । योसँगै नेपाली खेलाडी अर्को गोल थप्ने दाउमा आक्रमक खेल्दै थिए । नेपाली डिफेन्डर मध्यभाग भन्दाअघि बढिसकेका थिए । खेल अतिरिक्त समयमा प्रवेश गरिसकेको थियो ।

यही बीचमा पाकिस्तानका खेलाडीले बल छिटो रिलिज गर्दै राइट विङबाट अगाडि बढाएर दिएको पासलाई मोहम्मद अलीले हेडर गोलमा बदले । अन्तिम क्षणमा गरेको गोलले पाकिस्तानको जित सुनिश्चित गर्‍यो भने नेपाली समर्थक निराश बने ।

विमलको ७ गोल

पाकिस्तानविरुद्धको गोलसँगै विमलले राष्ट्रिय टिमबाट सात गोल पूरा गरेका छन् । बंगलादेशमा जारी साफ सुजुकी कपमा उनले गरेको गोल पाकिस्तानविरुद्ध दोस्रो हो भने, राष्ट्रिय टिमका लागि सातौ गोल हो ।

सन् २०१५ मा भारतमा सम्पन्न साफ च्याम्पियनसिप फुटबलमा विमलले आयोजक भारतविरुद्ध नै गोल गरेका थिए । त्यस्तै, सन् २०१६ मा बंगलादेशमा सम्पन्न बंगबन्धु गोल्डकपमा श्रीलंका र ब्रुनाईविरुद्ध गोल गरे । सन् २०१६ मा एएफसीले आयोजना गरेको सोलिडारीटी कपमा पनि विमलले आफ्नो खातामा एक गोल थपे । सोलिडारिटी कपमा लाओसविरुद्ध विमलले गोल गरेका थिए । यो प्रतियोगिताको उपाधि नेपालले जित्न सफल भएको थियो ।

सन् २०१७ एसियन कप छनोटअन्तर्गत ताजिकिस्तानविरुद्धको खेलमा विमलले अर्को गोल गरेका थिए । उनले अहिलेसम्म एउटै म्याचमा एकभन्दा बढि गोल गर्न भने सकेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment