Comments Add Comment

कमलमणि : पटोल बाबुकै पथमा

सत्यजीत रेले लेखेको एउटा घतलाग्दो कथा छ, ‘पटोल बाबु : फिल्म स्टार ।’

बुढ्यौली जीवन बिताइरहेका पटोल बाबुलाई एक अप्रत्यासित अफर आउँछ, फिल्म खेल्ने ।

पटोल बाबु गद्गद हुन्छन् । अभिनय गर्न पाइने कुराले उनका शरीरका अवयव स्वत:स्फूर्त तङ्ग्रिन्छन् । किनकि, अभिनयको भोक उनमा सानैदेखि जागेको हुन्छ । वैंशालु उमेरमा उनले नाटक खेलेका हुन्छन् ।

फिल्म छायांकनको दिन उनी निर्धारित समयमै पुग्छन् र दिनभर पालो कुरेर बस्छन् । आफ्नो भूमिका र संवादबारे उनमा उत्सुकता जाग्छ । निर्देशकले उनलाई एउटा बेहोसी व्यक्तिको भूमिका निर्वाह गर्न भन्छन्, जुन बेहोसीमै कतै हिँडिरहेको हुन्छ । दोस्रो व्यक्तिसँग ठोक्किदा पटेलबाबुको मुखबाट निस्कनुपर्ने आवाज चाहिं बस्  यत्ति हो, ‘अहो !’

उनको भूमिका र संवाद अपेक्षाकृत एकदमै छोटो हो । तर, उनी आफ्नो भूमिकालाई कसरी प्रभावकारी बनाउने भन्नेमा खुब घोत्लिन्छन् । अन्ततः उनलाई क्यामेरा अघिल्तिर बोलाइन्छ । सानै भूमिका सही, उनले भएभरको शक्ति र सामर्थ्य  निकालेर निर्देशकले भनेबमोजिम गर्छन् । एक टेकमै उनको दृश्य चित्तबुझ्दो हुन्छ ।

नेपालीपटोल बाबु

सत्यजीत रेले रचना गरेका पटोल बाबुजस्तै लाग्छन्, चरित्र अभिनेता कमलमणि नेपाल ।

‘कमलमणि’ नाम झट्टा सुन्दा तपाईको कान त्यति  ठाडो नहोला, जति कबड्डीका दलित बाको स्मरण गर्दा हुन्छ ।

‘कबड्डी–कबड्डी’मा रक्सीले फिट्टु, दुईवटा पार्टीको झन्डा बोकी हिँड्ने, दुवैतिरबाट फाइदा खान बठ्याइँ  गर्ने मन्द बुद्धिका झ्याउसे बूढा भन्नासाथ तपाईंको मुखबाट यस्तो आवाज आउनसक्छ, ‘ए हो त, कस्तो रमाइलो क्यारेक्टर हगि ?’

फिल्म ‘हरि’मा हरिको कनिष्ठ सहकर्मी, ‘जात्रा’का डनजस्ता केही नाम फटाफट भनेपछि तपाईंको मस्तिष्कमा त्यो पात्रको सग्लो रूप ठिंग उभिन आइपुग्छ ।

कमलमणिले अहिलेसम्म केन्द्रीय चरित्र निर्वाह गरेका छैनन् । तर, जे, जस्तो भूमिका पाएका छन्, त्यसलाई खुब घतलाग्दो बनाएका छन् । कहिलेकाहीँ त यी सहायक पात्रको सामुन्ने, मूल पात्र पनि बामपुड्को लाग्नसक्छ ।

सानो, मध्यम वा छोटो भूमिकाबाटै दर्शकको मन कब्जा गर्न सक्नु उनको सौभाग्य पक्कै होइन । बरु मेहनत, लगाव, साधना वा खुबी हो ।

दर्शकको संवेदनासँग खेल्न फिल्ममा मूल पात्रको डिजाइन गरिन्छ । त्यस्तो अवस्थामा साहयक पात्रको उपस्थिति  पनि मूल पात्रलाई सशक्त बनाउनका लागि हुने गर्छ । तर, त्यही टेकोमा उभिएर कति सहायक पात्रले दर्शकको संवेदना आफूतिर तान्ने सामर्थ्य  राख्छन् । हो, ठ्याक्कै यस्तै पात्र हुन्, कमलमणि, यही रेका पटोल बाबुजस्तै ।

श्रीदेवी पुत्री जान्भी कपूरले अन्तरवार्ताको क्रममा आमालाई स्मरण गर्दै भनेको वाक्य यहाँ स्मरणीय छ । जान्भीले भनेकी थिइन्, ‘आमा भन्नुहुन्थ्यो, तिमीले फिल्ममा कस्तो भूमिका पाउँछौ, त्यसले कुनै अर्थ राख्दैन । बरु, त्यो भूमिकालाई तिमी कसरी निर्वाह गर्छौ, त्यो महत्त्वपूर्ण हुन्छ।’

कमलमणिले आत्मसात्  गरेको गुरुमन्त्र ठ्याक्कै यही हो ।

क्यारेक्टर डिजाइन कला

कथा, चरित्र या संवाद जेसुकै होस्, यसले उसलाई फरक पार्नेवाला छैन, जो आफ्नो अभिनय शिल्पमा विश्वास गर्छन् । यस्ता कलाकारको छवि र खुबीलाई फिल्मको बजार, सफलता-असफलताले कुनै ठेस पुर्याउँदैन ।

‘तपाई कसरी अभिनय गर्नुहुन्छ ?’ अनामनगरको गल्ली पार गर्दै गर्दा हामीले उनलाई सोधेका थियौं ।

कमलमणिले जवाफ दिन हतार गरेनन् । आरामपूर्वक विश्राम गरेपछि खुलाए, ‘जब मलाई स्क्रिप्ट थमाइन्छ र यो पात्रको भूमिका गर्नुपर्छ भनिन्छ, तब म त्यस्तै पात्रको खोजीमा दौडन्छु ।’

कमलमणिले पाउने पारिश्रमिक र भूमिकाभन्दा त्यो पात्रलाई प्राण दिनका लागि उनले उठाउने बोझ, जोखिम एवं लगाव बढी महंगो लाग्यो । अर्थात उनी ऋणात्मक मेहनत गरिरहेका छन् ।  के उनको क्षमतालाई निर्देशकहरूले नजरअन्दाज गरिरहेका हुन् ?

उनको भनाइमा त्यो पात्र उनीभित्रै पनि हुनसक्छ र बाहिर भीडमा पनि । त्यसपछि उक्त पात्रको रूपरंग, बोलीचाली र हाउभाउ कस्तो हुनुपर्छ भन्नेमा उनी घोत्लिन्छन् । कसरी प्रस्तुत हुँदा पात्र बढी जीवन्त हुन्छ ? भन्ने प्रश्नले उनको दिमाग र दिललाई राम्रैसँग माझ्छ ।

जब कथाले खोजेजस्तै क्यारेक्टर डिजाइन हुन्छ, तब उनी त्यसलाई घतलाग्दो बनाउन हाउभाउ तथा बोलीमा केही ट्वाक्क–टुक्क जोड्ने अभ्यास गर्छन् ।

हामीले उनको पारिश्रमिक सोध्यौं, उनले पाउने भूमिका सोध्यौं र फिल्ममा कति अफर आउँछ भनेर सोध्यौं । कमलमणिले पाउने पारिश्रमिक र भूमिकाभन्दा त्यो पात्रलाई प्राण दिनका लागि उनले उठाउने बोझ, जोखिम एवं लगाव बढी महंगो लाग्यो । अर्थात् उनी ऋणात्मक मेहनत गरिरहेका छन् ।

के उनको क्षमतालाई निर्देशकहरूले बेवास्ता गरिरहेका हुन् ?

‘नढाँटी भनौं ?’ उनका ठूल–ठूला आँखा थप तेजिला भए, ‘हाम्रोमा साँच्चैका निर्देशक नै छैनन् । एकाध निर्देशकबाहेक अधिकांश हाउडे छन्, जो लहडले एक्सन-कट भन्न तम्सन्छन् । उनीहरूलाई यो दुई शब्दबाहेक न फिल्मको प्राविधिक ज्ञान छ, न दृश्यभाषाको गुदी ।’

कमलमणिको अनुभव के छ भने, अधिकांश निर्देशक कुन पात्रलाई कसरी अभिनय गराउने भनेर भन्न सक्दैनन् । कलाकारलाई नै त्यसका लागि खुला छाडिन्छ । अर्थात् एकसरो भूमिका बताइदिएपछि कलाकार आफैले आफ्नो हाउभाउ गर्नुपर्छ । उनले केही समयअघि प्रदर्शित आफ्नै फिल्मबारे टिप्पणी गर्दै भने, ‘त्यो फिल्ममा तपाई निर्देशकको कुनै हस्तक्षेप पाउनुहुन्छ ? निर्देशकविनाको फिल्म जस्तो भयो त्यो ।’

नाटकदेखि नाटकसम्म

कुनैबेला उनी गाउँमा नाटक गर्थे ।

गाउँ मोरङको, बाहुनी । दश किलोमिटर टाढा महेन्द्र राजमार्ग । तर, ठाउँ सुगम होइन । धुलाम्मे कच्ची बाटो । ८ वर्षअघिसम्म बिजुली पुगेकै थिएन ।

अभिनेता विपिन कार्की उनका छिमेकी । विपिनका दाइ अर्जुन कार्की दौतरी । उनै दौतरीसँग मिलेर नाटक देखाइहिँड्थे कमलमणि ।

खासगरी दशैं–तिहारको छेक पारेर नाटकको तयारी गरिन्थ्यो । गाउँभरको पलङ, तन्ना जम्मा गर्थे । भएभरको पलङ जोड्थे । तीनतिर तन्नाको बेरा हाल्थे । बस्, स्टेज बन्यो । एक थान पेट्रोमेक्स (मट्टीतेल लगाएर बालिने बत्ती), माइक्रोफोन र माइक जगेडा गरेपछि मञ्च तयार, नाटक सुरु ।

गाउँभरका मान्छे भेला पएपछि नाटक हाउसफूल ।

जमलस्थित राष्ट्रिय नाचघरको प्रेक्षालय टेकेपछि बल्ल कमलमणिलाई तत्वबोध भयो- नाटक र अभिनय ‘केटाकेटीको खेल’ होइन रहेछ ।

विरेन्द्र हमाल, सुनिल पोखरेल, प्रभाकर शर्मा, हरिहर शर्मा आदिका सामुन्ने उभिंदाका ती विस्मृत हुँदै गएका दिनहरू सम्झेर उनलाई बेस्सरी हाँस्न मन लाग्यो ।

‘राष्ट्रिय नाचघरमा नाटक प्रशिक्षण लिइरहँदा मैले बुझें, अभिनय कुनै ठट्टा होइन रहेछ’, उनले भने ।

अभिनयको घनचक्कर

उनी फिल्म खेल्नुअघि नाटक खेल्थे, नाटक खेल्नुअघि कम्प्युटर सिक्थे । कम्प्युटर सिक्नकै लागि त एसएलसी पास गरेर काठमाडौं हान्निएका थिए । बुबाले दिएको पाँच हजार खल्तीमा हालेर नाइट बस चढी काठमाडौं प्रवेश गरेका उनले दुई वर्षपछि दिग्गज नाट्यकर्मीको सम्मुख पुगिएला भनेर चिताएकै थिएनन् ।

उनलाई लागेको थियो, नाटक सिक्ने भनेपछि सोझै अभिनय गर्न सिकाइनेछ । प्रशिक्षण कक्षमा प्रवेश गरे । कसरत पो गर्नुपर्ने भो !

‘कस्सम होला, पाँच दिन त ट्वाइलेट गर्नै गाह्रो भो’ कमलमणिले सम्झिए, ‘पुरै एक्सरसाइज गर्नुपर्ने रहेछ । उफ्रिने, तन्कने, उत्तानो पर्ने, खुम्चने सबै गर्नुपर्ने । कसरतसँगै विभिन्न खेल खेल्नुपर्ने ।’

त्यसबेला सौगात मल्लहरू उनका सहपाठी ।

प्रशिक्षणपछि उनी नाट्यकर्ममा डुबे । डेरा खर्च जुटाउन कहिले सहकारीमा जागिरे भए, कहिले रेडियोमा । तर, मूलकर्मचाहिं नाटक नै ।

र्शकको संवेदनासँग खेल्न फिल्ममा मूल पात्रको डिजाइन गरिन्छ । त्यस्तो अवस्थामा सहायक पात्रको उपस्थिति पनि मूल पात्रलाई सशक्त बनाउनका लागि हुनेगर्छ । तर, त्यही टेकोमा उभिएर कतिपय सहायक पात्रले दर्शकको संवेदना आफूतिर तान्ने सामर्थ्य राख्छन् । हो, ठ्याक्कै यस्तै पात्र हुन्, कमलमणि नेपाल ।

संयोगले गुरुकुल खुल्ने भयो । जग्गा हेर्ने, मिलाउने काममा उनी खटिए । गुरुकुल बन्यो । त्यस क्रममा माटो बोक्ने, इँटा बोक्ने सबै–सबै काम गरे । पछि गुरुकुलकै प्रशिक्षार्थी भएर त्यही डेरा सरे ।

अभिनेता निर्देशक सुनिल पोखरेलहरूको सानिध्यमा उनले धित् मरुञ्जेल नाटक खेले । कहिले मञ्चमा, कहिले सडकमा । अभिनयले भोको मन तृप्त हुँदैनथ्यो । बसाइको सुर्ता थिएन, खानको चिन्ता थिएन । गुरुकुलको जो बास थियो । एकदिन सुनिल पोखरेलले चक्कर लाग्ने वाक्य बोले, ‘ए केटा हो, अब आ–आफ्नो बन्दोबस्ती गर्नु, गुरुकुल बन्द हुँदै छ ।’

भनिन्छ, समस्याहरू अवसर लिएर आउँछन् । यो समस्याले लखेट्दै कमलमणिजस्ता गुरुकुलमा अश्रय लिइरहेका नाट्यकर्मीहरूलाई अवसरको ढोका अघिल्तिर पुर्याइदियो । कोही सिनेमाको हिरो बन्नतर्फ लागे, कोही निर्देशक बन्नतर्फ ।

त्यसबीचमा कमलमणिको हरिविजोग नभएको होइन । एक पटक त उनी झोलीझ्याम्टा च्यापेर गाउँ फर्कने सुरसारमा लागेका थिए । सुनिल पोखरेलले रोक्दै भने, ‘अब एक वर्ष अरू बस्नु । त्यस बीचमा पनि केही भएन भने ठीक छ, नभए यहीँ केही गर्नुपर्छ ।’

कमलमणिको पाइला रोकियो ।

अभिनयका लागि शरीरको मर्मतसंभार

‘मेरा साना दुखले आर्ज्याको मुलुक होइन’ भनेझै कमलमणिको अभिनय त्यसै माझिएको होइन । न उनलाई यो ‘गड गिफ्ट’ मिलेको हो ।

अभिनय गर्न उनले आफ्नो मन र मस्तिष्कमा लगाम मात्र कसेका छैनन्, मांसपेशी, नसा र जोर्नीहरूलाई पनि राम्रैसँग मर्मत–सम्भार गरेका छन् ।

‘तपाईं अभिनय गर्नुहुन्छ भने, तपाईंको शरीर लचिलो हुनैपर्छ । किनभने कलाकारले आफ्नै शरीरको भाषा बुझ्न र बुझाउन सक्नुपर्छ’ कुनै प्राध्यापकले प्रवचन दिएको शैलीमा उनले गुदी कुरा खुलाए, ‘जब एउटा चरित्र निर्वाह गर्न भनिन्छ, मस्तिष्कले त्यो चरित्र चित्रण गर्नुपर्छ र शरीरको भाषाले त्यसलाई व्यक्त गर्नुपर्छ ।’

उनले उदाहरण पेस गर्दै थपे, ‘असनका एक खाँट्टी व्यापारीको अनुहारमा कस्तो मनोभाव देखिन्छ, उसको शरीर कस्तो पोजिसनमा हुन्छ यो कुरा बुझेर आफूलाई त्यस पात्रमा रूपान्तरण गर्नुपर्छ ।’

कमलमणिको एउटा विशेषता के रहेछ भने, जब उनको सामुन्नेमा कुनै व्यक्ति देखा पर्छन्, उनको मनोभाव र प्रवृत्ति पढ्छन् । अर्थात ती व्यक्ति कसरी बोल्थे, के सोच्थे, शरीरलाई कस्तो ढाँचामा बदलेर कुरा गर्थे, यो कुरा उनी टपक्कै टिप्छन् । किनभने यस्तै चरित्र उनलाई सिनेमामा काम लाग्छ ।

जल शाहलाई देखेपछि…

कमलमणि आज जुन विन्दुमा उभिएका छन् यहाँसम्म आइपुग्न तथा कलाकर्मप्रति उनमा कति गहिरो चाख थियो भन्ने कुरा बाल्यकालको यो प्रसंगबाट पनि अड्कल गर्न सकिन्छ ।

गाउँनजिक आरोहण गुरुकुलले सडक नाटक मञ्चन गर्दै थियो । उनी भीडमा उभिएर रमिता हेरिरहेका थिए । थामिनसक्नु भीडले घेरा हालेको थियो । तर, आयोजकलाई भने आवश्यक तयारीका लागि समय लाग्यो । उक्त रिक्त समयमा के गर्ने ?

आयोजकले भन्यो, ‘कसैलाई केही कला देखाउन मन भए, प्रस्तुत गर्नुहोला ।’

कमलमणि अघि सरे । क्यारिकेचर गर्न थाले । दर्शकहरू बेपत्तासँग हाँसिदिए ।

अर्को पटक उनी राजमार्गतिर दौडिरहेका थिए । नजिकै पुल थियो । पुलमा आलोपालो गाडी तर्नुपर्ने । यसरी पालो पर्खेर बसेको एउटा गाडीमा उनले सुकिलो अनुहार देखे । नियालेर हेरे, अनुहार चिनेजानेकै थियो । त्यो अनुहार थियो, जल शाहको ।

१४ इन्चको ब्ल्याक एन्ड ह्वाइट टेलिभिजनमा देखेको हिरोइनलाई नाङ्गो आँखाले हेर्न पाएपछि उनमा कम्ता फुर्ती बढेन । दौडदै गाउँ पुगे र एकै सासमा साथीलाई सुनाए, ‘थाहा छ ? मैले आज जल शाहलाई देखें ।’

त्यो दिन उनले यो कुरा कतिपटक, कतिलाई सुनाए साध्य भए पो !

जसलाई भेट्यो, भनिहाल्थे, ‘थाहा छ ? आज मैले जल शाहलाई देखें ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment