Comments Add Comment

दिगम्बर झालाई फेरि दूरसञ्चार प्राधिकरणको नेतृत्व

२४ भदौ, काठमाडौं । दिगम्बर झाले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पद सम्हालेका छन् । आइतबार उनले सञ्चारमन्त्री गोकुल बास्कोटासँग पद तथा गोपनीयताको सपथ लिए । र, कार्यालय पुगेर पदबहाली पनि गरे ।

दूरसञ्चार प्राधिकरण ठूलो बजेट भएको दूरसञ्चचार नियामक निकाय हो । गत बिहीबार मन्त्रिपरिषदको बैठकले फेरि झालाई अध्यक्षमा नियुक्त गर्ने निर्णय लिएको थियो ।

यसअघि नेपाल आयल निगमको पनि नेतृत्व गरेका झाले अबको ५ वर्ष प्राधिकरणमा अध्यक्षको भूमिका निभाउनेछन् । वैशाखदेखि नै झामाथि आर्थिक अनियमितताको आशंकामा सरकारले प्राधिकरणमार्फत अघि बढाइका परियोजनाको काम गर्न रोकेको थियो ।

एक अध्ययन समिति बनाएर प्राधिकरणको काम कारवाहीबारे प्रतिवेदन पनि बनाइएको थियो । अध्ययनले प्राधिकरणमा चरम विकृति मौलाएको निश्कर्ष निकाल्दै प्रतिवेदन दिएपछि असारमा उनलाई पदबाट बर्खास्त गरिएको थियो ।

बर्खास्त भएपछि थमौतिका लागि सर्बोच्च अदालत पुगेका झाले नाटकीय ढंगले मुद्दा नै फिर्ता लिए । त्यसपछि उनलाई पुनः सीधै अध्यक्ष बनाउने प्रस्ताव मन्त्रिपरिषदुमा पुग्यो ।

विना प्रतिस्पर्धा विवादास्पद छवीका झालाई फेरि प्राधिकरणमा जिम्मेवारी दिन नहुने भन्दै अन्य मन्त्रीहरुले नै बिरोध गरेपछि सञ्चार मन्त्रालयले खुला प्रतिस्पर्धाका लागि सूचना निकाल्यो । जसमा झा पनि सहभागी भए । र, पहिले सरकारबाटै आरोपित झाले गत बिहीबार मन्त्रिपरिषदबाटै ५ वर्षे नियुक्ति हात पारे ।

नियुक्तिको निर्णयको ब्यापक आलोचना भइरहे पनि सरकारले औपचारिक रुपमा सपथ गराएर झालाई ७० वर्षको उमेरसम्मै प्राधिकरणको नेतृत्व गर्ने सुअवसर दिएको छ । झा अहिले नै ६५ वर्ष पुग्न लागेका छन् ।

२०६९ मंसिरमा उनले पहिलोपटक प्राधिकरणको नेतृत्व सम्हालेका थिए । शेरबहादुर देउबा नेतृत्वको सरकारले झालाई ६५ वर्षसम्मको उमेर हद तोकेर अध्यक्षमा फेरि नियुक्ति दिएको थियो ।

सो निर्णयलाई खारेज गरेको सरकारले अहिले झालाई ५ वर्ष पुरा कार्याकल काम गर्न सक्ने गरी नियुक्ती दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment