Comments Add Comment

अलिबाबाका कार्यकारी अध्यक्षद्वारा राजीनामा दिने घोषणा

२५ भदौ, काठमाडौं । अलिबाबा कम्पनीका कार्यकारी अध्यक्ष ज्याक माले पद त्याग्ने भएका छन् । आगामी एक वर्षभित्र उनले पदबाट राजीनामा दिने कम्पनीले पुष्टि गरेको छ ।

उनले अब कार्यकारी अध्यक्षको जिम्मेवारी डेनियल च्याङलाई हस्तान्तरण गर्नेछन् । च्याङले १० सेप्टेम्बर २०१९ मा अलिबाबाको जिम्मेवारी सम्हाल्ने बीबीसीले लेखेको छ ।

ज्याक चीनका धनाढ्य व्यक्तिहरुमध्येका एक हुन् । पछिल्लो पटक उनको सम्पत्ति ३६ बिलियन डलरभन्दा बढी छ । अलिबाबा विश्वकै महंगो कम्पनीमध्येको एक हो जसको शेयर भ्यालू गत वर्ष झण्डै दोब्बर भएको थियो ।

ज्याक मा पहिले अंग्रेजी विषयको शिक्षक थिए । सन् १९९९ देखि अलिबाबाको सहसंस्थापक बने । त्यसपछि अलिबाबा विश्वकै ठूलो इन्टरनेट कम्पनी बनेको थियो ।

असफलताबाट सिक्ने प्रेरणा स्रोत

पटक–पटक असफल हुँदा पनि हार नमानिकन निरन्तर प्रयास गरेर सफल बनेको उदाहरणका रुपमा रहेका छन्– चिनियाँ इ–कमर्श साइट अलिबाबाका सह–संस्थापक र कार्यकारी अध्यक्ष ज्याक मा ।

सबैतिरबाट अस्विकृत हुँदा पनि अविचलित भई अगाडि बढेका यी चिनियाँ व्यवसायीको संघर्ष र सफलताको कथा साँच्चै नै लोभलाग्दो छ ।

धेरै युवाहरुको लागि प्रेरणाको स्रोतको रुपमा रहेका ज्याक मा चीनको धनाढ्य मध्येका एक मानिस हुन् । विश्वभरको धनाढ्यको सूचीमा फोब्र्सले उनलाई २१ औं स्थानमा सूचीकृत गरेको छ ।

उनको सम्पत्ति ३८ दशमलब ६ बिलियन डलर अर्थात र ४३ खरब नेपाली रुपैंया भन्दा धेरै रहेको छ । उनले निरन्तरको मेहनतबाट लोभलाग्दो सफलता हासिल गरे ।

ज्याक मालाई धेरैले चिनियाँ व्यापारको ग्लोबल एम्बेसडरको रुपमा चिन्छन् किनभने उनले विभिन्न समरोहमा भाग लिएर युवाहरुलाई प्रेरणात्मक प्रवचनहरु पनि दिने गर्छन् ।

उनलाई फोब्र्सले विश्वका सबैभन्दा प्रभावशाली मानिसहरुको रुपमा पनि सूचीकृत गरको छ ।

सन् १९६४ सेप्टेम्बर १० मा जन्मिएका ज्याक माको वास्तविक नाम मा युन हो । उनी चीनको झेइजाङ प्रान्तको हाङजोउमा जन्मिएका थिए ।

१२ वर्षको उमेरबाट विदेशी पर्यटकहरुसँग संगत गरेका उनी अंग्रेजी सिक्न र बोल्न पाइने लोभमा हरेक दिन साइकलमा घन्टांै लगाएर यात्रा गर्ने गर्थे, उनले यसरी ८ वर्ष बिताए ।

पर्यटकहरुलाई स्थानीय ठाउँहरु घुमाउँदै हिँड्न थालेपछि उनको अंग्रेजी त राम्रो भयो नै, उनका धेरै विदेशी साथीहरु पनि भए । उनको चिनियाँ नाम उच्चारण गर्न असजिलो लागेर उनका एक विदेशी साथीले ज्याक नाम राखिदिएपछि उनी मा युनबाट ज्याक मा बने ।

युवाअवस्थामा कलेज पढ्न पनि उनले धेरै संर्घष गरे । चीनमा त्यतिखेर कलेज पढ्नको लागि इन्ट्रान्स परिक्षा वर्षको एकपटक मात्रै हुने गथ्र्यो । उनी लगातार तीन पटक इन्ट्रान्स परिक्षामा असफल भए र चौंथो वर्षमामात्रै इन्ट्रान्स पास गरेर कलेज भर्ना भए ।

त्यसपछि हाङ्जोउ नर्मल युनिभर्सिटीमा भर्ना भएका उनले सन् १९८८ मा अंग्रेजीमा बिए पास गरे । कलेजमा उनी विद्यार्थी परिषदका प्रमुख समेत भएका थिए । स्नातक सकेपछि उनले केही समय अंग्रेजी र अन्तराष्ट्रिय व्यापार पढाए ।

ज्याकले पछि बेइजिङको चेङ कोङ ग्राजुएट स्कूल अफ बिजनेसमा भर्ना भएर सन् २००६ मा त्यहाँबाट पनि स्नातक गरेका छन् ।

जागिर खोज्दा सबैतिरबाट अस्वीकृत 

पढाइ सकिएपछि ज्याक माले जागिर खोज्दा धेरै दुःख भोगेका थिए । उनले ३० विभिन्न जागिरहरुको लागि आवेदन दिएका थिए । तर, सबैतिरबाट उनी अस्विकृत भए ।

उनी एकपटक चीनको प्रहरीमा जागिर खानको लागि पनि गएका थिए । तर, लिखुरे ज्यानका मालाई देख्नसाथ छनौटकर्ताले प्रहरीको जागिरको लागि ‘तिमी योग्य छैनौ’ भनेर फर्काइदिएका थिए ।

यस्तै आफ्नो शहरमा पहिलोपटक फास्टफुड चेन केएफसीले चेन विस्तार गर्दा मा सहित २४ जनाले त्यहाँ जागिरको लागि आवेदन दिएका थिए । आवेदन दिएका २४ जनामध्ये २३ जना जागिरको लागि छनौट भए तर, उनीमात्रै अस्विकृत भए ।

त्यस्तै, उनले हार्वाड विजनेस स्कुलमा अध्ययनको लागि १० पटक सम्म आवेदन दिएका थिए तर, उनी सफल भएनन् ।

इन्टरनेटको बारेमा थाहा पाएपछि

जताततै असफलता हात पारेका ज्याक माले हिम्मत भने कहिल्यै हारेनन् । सन् १९९४ मा उनले इन्टरनेटको बारेमा केही कुरा बुझे ।

सन् १९९५ को सुरुवातमा उनी केही साथीहरुसँग अमेरिका गएका थिए त्यतिखेर उनलाई साथीहरुले इन्टरनेटको बारेमा धेरै कुरा बुझाए ।

उनले इन्टरनेटमा पहिलोपटक चीनको बियरको बारेमा खोजी गरे । तर, उनले कुनै पनि जानकारी भेटेनन् । त्यसपछि उनलाई चीनका अरु जानकारीहरु खोज्ने प्रयास गरे तर, केही पनि नभेटेपछि आश्चर्यचकित भए ।

त्यसपछि उनले साथीहरुको सहयोगमा चीन फर्केर एउटा चीन सम्बन्धी वेवसाइट बनाए । केही घन्टामै केही चिनियाँ लगानीकर्ताहरुले उनलाई सम्पर्क गरेपछि उनलाई इन्टरनेटमा धेरै सम्भावा रहेको उनले थाहा पाए ।

सन् १९९५ मा उनले श्रीमती क्याथी र अर्का एक साथीसँग मिलेर २० हजार डलर जम्मा गरेर पहिलो कम्पनी ‘चाइना यल्लो पेज’ सुरु गरे । कम्पनीले बिस्तारै आम्दानी बढाउँदै लग्यो ।

पछि उनले सन् १९९८ देखि १९९९ सम्म चीन सरकारको विदेश व्यापार तथा आर्थिक सहकार्य मन्त्रालय अन्तर्गतको चाइना इन्टरनेशनल इलेक्ट्रोनिक कमर्श सेन्टरको प्रमुख भएका काम गरे ।

अलिबाबाको सुरुवात

सरकारी जागिरबाट राजीनामा दिएर उनी हाङजोउ फर्किए र आफ्नो अपार्टमेन्टबाट १८ जना साथीको टिम सहित ‘ई कमर्स मार्केटप्लेस’ अलीबाबाको सुरुवात गरे ।

सुरुमा उनीहरुले ६० हजार डलर लगानी गरेर कम्पनी सुरु गरेका थिए । कारोबार बढाउँदै लगेपछि अलिबाबाले सन् १९९९ मा गोल्डम्यान स्याङ्क्स र २००० मा सफ्टबैंक कर्पोरेसनबाट वैदेशिक लगानी प्राप्त गर्यो ।

सन् २०१४ मा अलिबाबाले २५ अर्ब डलरको प्राथमिक सेयर निष्कासन गर्दैै न्यूयोर्क स्टक एक्सचेन्जमा सूचीकृत भयो । त्यसपछि अलिबाबा विश्वकै मुल्यवान प्रविधि कम्पनी मध्ये एकको रुपमा दर्ज भयो ।

ज्याक मा अहिले अलिबाबा ग्रुपका कार्यकारी अध्यक्ष छन् । उनको नेतृत्वमा अलिबाबा ग्रुपअन्तर्गत अलिबाबा डटकम, टाओबाओ मार्केटप्लेस, टिमेल, इटाओ, अलिबाबा क्लाउड कम्प्युटिङ, अलिपेलगायतका नौ कम्पनीहरु सञ्चालित छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment