Comments Add Comment

ठमेलको ज्याठामा आगलागी, करिब १० करोड क्षति भएको अनुमान

२६ भदौ, काठमाडौं । पर्यटकीय क्षेत्र ठमेलको ज्याठामा मंगलबार बिहान भीषण आगलागी भएको छ । स्थानीय सुनीलमान स्थापितको घरबाट मंगलबार बिहान ०४ः२५ बाट शुरु आगो छिमेकको अर्को घरसम्म फैलिएको हो ।

स्थापितको पहिलो तलाबाट शुरु भएको आगो अक्सिजन ग्यास सिलिन्डर भण्डारण गरिएको भुँइतलासम्म सल्किएपछि अनियन्त्रित भएको प्रहरीले जनाएको छ । ग्यास सिलिन्डर पड्किन थालेपछि आगो नियन्त्रणका लागि पुगेका प्रहरी र अग्नी नियन्त्रकलाई अप्ठ्यारो भएको थियो । स्थानीयबासी आगलागीपछि त्रसित बनेका थिए ।

आगो नियन्त्रणको प्रयास समयमै सफल हुन नसक्दा सँगै जोडिएका गाैतम तुलाधर र अजयरत्न स्थापितकाे घरमा पनि अागाेले क्षति पुर्याएकाे छ ।

दरबारमार्ग प्रहरी वृत्तका डीएसपी दानबहादुर मल्लले पहिलो तल्लाबाट सल्किएको आगो समयमै नियन्त्रण गर्न नसक्दा चौथो तल्लासम्म फैलिएको र १० करोड बराबरको क्षति अनुमान गरिएको जानकारी अनलाइनखबरलाई दिए । ‘अागाे लागेकाे जानकारी हामीलार्इ पाैने ४ बजे अाएपछि तुरून्तै घटनास्थल पुग्याैं, १० मिनेटमै दमकल पनि अाइपुग्याे । तर, सिलिन्डर पड्किन थालेकाले अागाे निभाउन तुरून्तै सकिएन । त्यसैले बढी क्षति भयाे’, डीएसपी मल्लले भने । आगो नियन्त्रणका लागि जुद्ध बारुणयन्त्रलगायत दमकलसँगै सुरक्षाकर्मी परिचालित भएका थिए ।

आगलागीबाट भौतिक क्षति भए पनि मानवीय क्षति भने नभएको डीएसपी मल्लले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment