२७ भदौ, सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतदेखि जुम्लासम्म सिधा हवाई यातायात सेवा आजदेखि सुरु भएको छ ।
कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले समिट एयरको ९ एन एकेजेट कलसाइनको जहाज चढेर सो सेवाको उद्घाटन गरेका हुन् । उनीसँगै उक्त जहाजबाट बुधबार १८ जनाले सुर्खेतबाट जुम्लाको यात्रा गरेका छन् ।
साहित्य, कला, संस्कृति र भाषालगायत क्षेत्रमा प्रदेशकै लागि अत्यन्त महत्वपूर्ण मानिएको जुम्लाको राजधानी सुर्खेतसँग सहज पहुँच कायम गर्न सिधा हवाई सेवा सुरु गरिएको मन्त्री बुढाले बताए ।
‘यो सेवाको शुभारम्भले नागरिकको सेवा र पहुँच मात्र बढ्ने छैन,’ उनले भने, ‘यसले यहाँका पर्यटन प्रर्धनमा समेत ठूलो सहयोग पु¥याउने छ ।’
सुर्खेत–जुम्ला सिधा हवाई भाडा दर तीन हजार ९६५ कायम गरिएको समिट एयर सुर्खेतका प्रबन्धक चन्द्रजङ शाहीले जानकारी दिए । प्रबन्धक शाहीकाअनुसार हप्ताको दुई दिन मङ्गलबार र शुक्रबार सुर्खेत–जुम्ला सिधा हवाई सेवाका लागि उडान गरिनेछ ।
सुर्खेत–जुम्ला सिधा हवाई उडानका लागि भने गो कर्णाली टुर्स एण्ड ट्राभल्स प्रालिसँग सम्झौतमा भएको उनको भनाइ छ ।
जुम्लाको ऐतिहासिक पर्यटकीय सिञ्जा उपत्यका, गुठिचौर र तातोपानी गाविसको हाँकुमा पर्ने गिडी दहको अध्ययन अवलोकन गर्ने बताउँदै मन्त्री बुढाले सिञ्जाको सांस्कृतिक सम्पदा, ओझेलमा परेको गिडी दह र गुठिचौरको पर्यटन प्रवद्र्धन तथा संरक्षणका लागि विनियोजित बजेट र योजनामा सहजता ल्याउनका लागि आफूले त्यसको अवलोकन गरिने जानकारी दिए ।
मन्त्रालयले गुठिचौरको पर्यटन विकासका लागि एक करोड ५० लाख, सिञ्जा उपत्यकाको विकास गर्न एक करोड तथा गिडी दह पर्यटन सडक निर्माणका निम्ति ५५ लाख वजेट विनियोजन गरिएको जनाएको छ ।
प्रतिक्रिया 4