Comments Add Comment

बैरागी काइँला र मञ्जुलसहित ५ स्रष्टा सम्मानित

३० भदौ, काठमाडौं । शुक्रबार बागबजारमा आयोजित एक समारोहमा आधुनिक नेपाली कविता क्षेत्रका पाँच विशिष्ट काव्य साधकहरू सम्मानित भए । नेपाली वाङ्गमय परिषद्, नेपाली प्रतिभा प्रतिष्ठान बेलायत र जसराज किराती प्रतिभा प्रतिष्ठानद्वारा आयोजित ‘विशिष्ट साधक सम्मान तथा साधक सत्सङ्ग’ कार्यक्रममा विशिष्ट काव्य साधक बैरागी काइँला, तुलसी दिवस, जसराज किराती, मञ्जुल र तोया गुरुङ सम्मानित भएका हुन् ।

विशिष्ट काव्य साधकहरूलाई पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री कृपासुर शेर्पा, नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवम् जनसांस्कृतिक महासङ्घका अध्यक्ष खगेन्द्र राई र नेपाल प्रज्ञा-प्रतिष्ठानका निवर्तमान कुलपति गंगाप्रसाद उप्रेतीले माला, दोसल्ला र ताम्रपत्र सपर्मण गरी सम्मानित गरेका थिए ।

सत्सङ्ग समारोहमा बोल्दै निवर्तमान कुलपति उप्रेतीले विशिष्ट काव्य साधकहरूको सम्मानमा पृथक् ढङ्गको कार्यक्रम आयोजना गरेकोमा आयोजकको प्रशंसा गर्दै सत्सङ्ग शब्दलाई नयाँ किसिमले प्रयोग गरिएको बताए । उनले सम्मानित सबै काव्य साधक सत्सङ्गयोग्य भएको दाबी गरे । उक्त अवसरमा अध्यक्ष राईले सम्मानित साधकहरूलाई बधाई ज्ञापन गर्दै यस्ता कार्यक्रमहरू आयोजना गरिनुपर्ने धारणा राखेका थिए । सम्मानित साधकहरूको काव्य साधनाबारे बोल्दै मोमिलाले उहाँहरूमाथि बोल्नु सूर्यको अगाडि टुकी देखाउनु सरह भएको बताइन् ।

समारोहमा सम्मानित विशिष्ट काव्य साधकहरूले आˆना तीन-तीन प्रतिनिधि कविता वाचन गरेका थिए । समारोहमा आˆनो विचार राख्दै नेपाल प्रज्ञा-प्रतिष्ठानका पूर्व कुलपति समेत रहेका कवि काइँलाले भने, ‘सत्य कुरा बोल्दा यहाँ धेरैलाई मन पर्दैन, कविताले पनि सत्य कुर नै बोल्ने गर्छ । त्यसैले हिजोआज कविता वाचन गर्न मन लाग्दैन ।’

विचार राख्ने क्रममा कवि तुलसी दिवसले कवितामा आन्दोलनको आवश्यकता नभएको भन्दै आयोजित कार्यक्रम अत्यन्त फरक प्रकारको रहेको बताए । कार्यक्रममा कवि किराती, कवि मन्जुल र कवि गुरुङले पनि आफूहरुलाई सम्मानको हकदार सम्झेर सम्मान गरेकोमा आभार व्यक्त गरे ।

कार्यक्रममा गायिका बबिना किरातीले बैरागी काइँलाको कविता ‘बागमती लहरले उठेर बर्सिदेऊ’लाई गीतका रुपमा गाएकी थिइन् । उक्त गीतमा वसन्त मुकारुङले सङ्गीत दिएका थिए । कार्यक्रमको सञ्चालन परिषद्का सचिव टीका चाम्लिङले गरेका थिए ।

समारोहको उद्देश्यमाथि प्रकाश पार्दै नेपाली वाङ्मय परिषद्का अध्यक्ष शशी लुमुम्बूले अग्रज साधकहरूको सम्मानमा साधक सत्सङ्ग कार्यक्रमको आयोजना गरिएको बताए । उनले भने, ‘हामी यसलाई निरन्तरता दिने छौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment