Comments Add Comment

एरोन फिन्च पहिलोपटक अष्ट्रेलियाको टेस्ट टिममा

१ असोज, काठमाडौं । सीमित ओभरको क्रिकेटमा अष्ट्रेलियाका चर्चित ब्याट्सम्यान हुन् एरोन फिन्च । अहिले उनलाई पहिलोपटक अष्ट्रेलियाले आफ्नो टेस्ट टिममा समावेश गरेको छ ।

एक सय ३५ एकदिवसीय तथा टी-२० अन्तर्राष्ट्रिय खेलिसकेपछि ३१ वर्षीय फिन्चले टेस्ट टिममा मौका पाएका हुन् । यसबाट उनी निकै उत्साहित छन् ।

अष्ट्रेलियाले अर्को महिना यूएईमा टेस्ट सिरिज खेल्दैछ । टेस्ट टिमका नियमित ओपनर डेभिड वार्नर र क्यामरोन ब्यान्क्रोफ्ट तथा सर्वाधिक सफल ब्याट्सम्यान स्टिभ स्मिथ टिममा छैनन् । उनीहरु बल टेम्परिङ प्रकरणमा मुछिएर एक वर्षे प्रतिवन्ध भोगिरहेका छन् । त्यसैले फिन्चको बाटो खुलेको हो ।

‘म टेस्ट क्रिकेट खेल्ने सपना बोकेर हुर्केको हुँ, ढिलै भए पनि सपना पूरा हुन लागेकोमा खुशी छु,’ फिन्चले भने ।

त्यसो त अन्तिम ११ मा स्थान बनाउनका लागि फिन्चलाई चुनौती नै छ, किनकी १५ जनाको स्क्वाडमा उस्मान ख्वाजा, शन मार्स र ट्राभिस हेडजस्ता ओपनर पनि छन् ।

यदि आफूले मौका पाएमा ब्याटिङ शैली परिवर्तन नगर्ने फिन्च बताउँछन् । ‘आक्रामक ब्याटिङ शैलीले गर्दा नै मैले अन्तर्राष्ट्रिय क्रिकेटमा सफलता पाएको हुँ । यदि मैले टेस्ट म्याचको प्लेइङ ११ मा स्थान बनाएँ भने पनि आक्रामक शैलीलाई नै निरन्तरता दिनेछु,’ उनले भने ।

उनी थप्छन्, ‘यदि ओपनिङका रुपमा आएँ भने आफ्नो प्राकृतिक शैलीमा खेल्नेछु । यदि मध्यक्रममा आएँ भने धेरैभन्दा धेरै स्पिन बलको सामना गर्नुपर्ने हुन सक्छ र सम्हालिएर खेल्नुपर्छ । पाकिस्तानको स्पिन बलिङ राम्रो छ ।’

फिन्चले राष्ट्रिय टिमबाट खेल्न थालेको १२ वर्ष भइसकेको छ । अब उनले ३-४ वर्ष क्रिकेट खेल्न सक्छन् । फर्स्ट क्लास क्रिकेटको रेकर्ड हेर्ने हो भने उनले ७६ म्इाच खेलेर ३६.१५ को औसतमा चार हजार ३ सय ३८ रन बनाएका छन् ।

आफूसँग अन्तर्राष्ट्रिय म्याचको प्रशस्त अनुभव भएकाले पाकिस्तानसँगको पहिलो टेस्टमा त्यसलाई सदुपयोग गर्ने बताउँछन् फिन्च । अष्ट्रेलिया र पाकिस्तानबीच ५ अक्टोबरमा पहिलो र १६ अक्टोबरमा दोस्रो टेस्ट म्याच आयोजना हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment