Comments Add Comment

पोलिग्राफ टेस्टले कसरी झुटो बोलेको पत्ता लगाउँछ ?

निर्मला पन्तको बलात्कार र हत्याको प्रमाणहरु नष्ट गरिएको चर्चासँगै अनुसन्धान पनि अलमलमा छ । डेढ महिना बितिसक्दा पनि अपराधी फेला पार्न सकिएको छैन । संचारमाध्याम र सर्वसाधरणको एकमुष्ठ दवाव आइरहँदा पनि प्रहरी-प्रशासन अपराधीसम्म पुग्न सकेको छैन । यसले अनेक शंका-उपशंका जन्माइदिएको छ । अतः शंकाका घेरामा रहेकाहरुमाथि छानविन थालिएको छ । यसका लागि अहिले डिएनए परीक्षण र पोलिग्राफ परीक्षण बलियो आधार मानिएको छ ।

शंकास्पद एवं आरोपी व्यक्तिलाई पोलिग्राफ परीक्षण गराएर सत्यतथ्य ओकल्न लगाइन्छ । आखिर पोलिग्राफले कसरी काम गर्छ ? कसरी त्यो यन्त्रले मानिसलाई नियन्त्रण गर्छ, जसले झुट लुकाउन सक्दैन ?

पोलिग्राफ टेस्ट एक प्रकारको परिक्षण हो जसको प्रयोग आपराधिक मुद्दाहरुमा अभियुक्तबाट सत्य कुरा उकाल्नको लागि गरिन्छ ।

विश्वका विभिन्न देशका प्रहरीहरुले ठूला र अनुसन्धान गर्न जटिल आपराधिक घटनाहरुमा अभियुक्तको बयान लिन यो प्रविधिको प्रयोग गर्ने गर्छन् ।

पोलिग्राफ टेस्ट मेसिनलाई झुट समात्ने मेसिन भनिन्छ र यो ‘लाई डिटेक्टर’को नामले पनि चिनिन्छ । यसको प्रयोगबाट प्राप्त हुने नतिजाको सत्यतामा ८०-९० प्रतिशत विश्वास गरिन्छ ।

पोलिग्राफ मेसिनको खोजकर्ता अमेरिकी नागरिक जोन अगस्तस लार्सन हुन् । उनले यसको खोज सन् १९२१ मा गरेका थिए । यूनिभर्सिटी अफ क्यालिफोर्नियाबाट मेडिकल पढेका जोन बर्कले प्रहरी स्टेशनमा कार्यरत थिए ।

के हो पोलिग्राफ टेस्ट ?

पोलिग्राफ एक मेसिन हो । कुनै व्यक्तिको पोलिग्राफ टेस्ट गर्न उसलाई सेन्सरद्वारा यो मेसिनसँग जोडिइन्छ र सेन्सर कम्प्युटरसँग कनेक्ट गरिएको हुन्छ ।

त्यसपछि व्यक्तिको रक्तचाप, मुटुको धड्कन्, श्वास एवम् हृदयको गति र शरीरमा हुने गतिलाई एक ग्राफ पेपरमा रेकर्ड गरिन्छ । यो प्रक्रियालाई नै पोलिग्राफ भनिन्छ । परिक्षण गरिने मानिससँग ६ वटा सेन्सर जोडिएको हुन्छ ।

परिक्षणमा व्यक्तिको मुटुको धड्कन, रक्तचाप, श्वासप्रश्वास, पसिनाको थैलीमा पर्ने चाप र शरीरमा हुने उतारचढाव आदि रेकर्ड गरिन्छ ।

कसरी गरिन्छ ?

सुरुमा तपाईंको नाम के हो, आमा बुबाको नाम के हो, घरको ठेगाना, तपाईंका सही उमेर को हो भनेर  सोधिन्छ । त्यसपछि फेरि जुन कारणले पोलिग्राफ टेस्ट गरिएको हो त्यो मुद्दामा आएर प्रश्न सोधिन्छ ।

प्रश्नोत्तरको यो पुरै प्रक्रियामा व्यक्तिबाट आएको तरंगलाई मेसिन मुभिङ पेपर -ग्राफ) मा रेकर्ड गरिन्छ ।

प्रश्नोत्तरको प्रक्रिया पुरा हुन भन्दा पहिले र पछि पोलिग्राफ परीक्षकले ग्राफको जाँच गरेर कुन प्रश्नको उत्तरमा व्यक्तिबाट आएको तरंग परिवर्तन भएको छ भन्ने हेर्छ ।

यसमा व्यक्तिको मुटुको धड्कन, रक्तचाप, श्वासप्रश्वास, पसिनाको थैलीमा पर्ने चाप र शरीरमा हुने उतारचढावबाट व्यक्तिले झुट बोलेको वा नबोलेको पत्ता लाग्छ ।

कति विश्वशनीय छ पोलिग्राफ टेस्ट ?

पोलिग्राफको जाँच दक्ष तालिमप्राप्त परिक्षकद्धारा गराइएमा सत्य र झुटो सजिलै पत्ता लाग्छ । परीक्षक तालिमप्राप्त नभएमा यसको नतिजामा फरक पर्न सक्छ ।

यो परीक्षणको नतिजा पुर्ण रुपमा पोलिग्राफ मेसिनमा निर्भर रहन्छ । यसैले यो पोलिग्राफ टेस्टलाई पूर्ण रुपमा सत्य मान्न सकिँदैन ।

यसमा धोका दिन पनि सकिन्छ । यदि कसैलाई उसको पोलिग्राफ टेस्ट गरिँदैछ भन्ने थाहा छ भने उसले टेस्टको लागि आफूलाई तयार गरेर पोलिग्राफ टेस्ट वा लाई डिटेक्टरलाई धोका दिन सक्छ र परिक्षकले थाहै नपाउने ढंगले झुट बोल्न सक्छ ।

यसको लागि टेस्ट भन्दा पहिले व्यक्तिले आफूलाई तयार गर्छ । उसको कन्फिडेन्स बढ्छ र उसलाई उत्तर दिँदा हडबडाउने वा शरीरमा अस्वभाविक परिवर्तन हुँदैन र यस्तोमा उक्त व्यक्तिको झुट समाउन गाह्रो हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment