Comments Add Comment

न्याम्सको उपकुलपतिमा तीनजना सिफारिस, डिएन शाहको सम्भावना

१ असोज, काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालको उपकुलपतिमा तीन जनाको नाम सिफारिस गरिएको छ ।

सहकुलपति उपेन्द्र यादवको संयोजकत्वमा गठित तीन सदस्यीय सिफारिस समितिले छनोटमा परेका ६ जनामध्ये कार्ययोजना प्रस्तुतिका आधारमा उत्कृष्ट तीन जनाको नाम सिफारिस गरेको हो ।

समितिले छनोटमा परेका ६ जनाको आइतबार कार्यपत्र प्रस्तुति सुनेको थियो । छनोट समिमतिले सिफारिस गरेका तीनमध्ये एक नम्बरमा डा. डिएन शाह, दोस्रोमा डा.ढुण्डी पौडेल र तेस्रो नम्बरमा डा अजित रायमाझी छन् ।

संघीय समाजवादी फोरमका अध्यक्षसमेत रहेका मन्त्री यादवको नेतृत्वको सिफारिस समितिले उपकुलपतिमा सिफारिस गरेका तीनमध्ये डा. डिएन शाह यादव निकट मानिन्छन् । यादवले उनलाई उपकुलपति बनाउन चाहेका छन् ।

प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीसँग यादवको छलफलपछि न्याम्सका अन्य पदाधिकारीको पनि भागबण्डा हुनेछ । न्याम्समा उपकुलपति सहित रजिष्टार रेक्टर पद पनि खाली भएको छ ।

तीन सदस्यीय छनोट समितिमा मन्त्री उपेन्ऽ यादव, प्रमुख विशेषज्ञ डा सुशीलनाथ प्याकुरेल र नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. धर्मकान्त बास्कोटा सदस्य छन् । उपकुलपतिको नियुक्ति सोही सिफारिस अनुसार प्रधानमन्त्री तथा कुलपति ओलीले गर्नेछन् ।

यसैबीच न्याम्सका प्राध्यापक तथा विद्यार्थीहरुले न्याम्स सेवा बाहिरको व्यक्तिलाई उपकुलपति नमान्ने भन्दै सिफारिसप्रति विरोध जनाएका छन् । सिफारिस भएकामध्ये डा. पौडेलमात्र न्याम्समा कार्यरत छन् ।

तर वीरका प्रतिष्ठान सेवाका चिकित्सक, कर्मचारीहरू भने तटस्थ छन् । उनीहरुले वीर भित्रकै कर्मचारीहरू पदाधिकारी हुँदा प्रतिष्ठानको स्वायत्तता नभएको तथा कर्मचारी व्यवस्थापन र ट्रमा सेन्टरसमेत नियम अनुसार सञ्चालन नगरेको भन्दै अस्पताल बाहिर वा सेवा अवकाश प्राप्त चिकित्सकबाट उपकलुपति नियुक्ति हुनुपर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment