Comments Add Comment

चितवनका अस्पतालको फोहर नारायणी नदीमा !

२ असोज, चितवन । अस्पतालबाट निस्किएको फोहर भरतपूर महानगरपालिकाले नारायणी नदी किनारमा फाल्ने गरेको छ । महानगरपालिको फोहरसँगै अस्पतालबाट निस्कने फोहर पनि नदी किनारामा फाल्ने गरिएको छ ।

महानगरपालिका-३ को नगरवन छेउबाट नदी किनारामा फोहर फाल्ने गरिएको हो । यसअघि महानगरले फोहर थुपारेको स्थानबाट नै अहिले नारायणीको एक भंगालो बगिरहेको देख्न सकिन्छ । अहिले वर्षका कारण नदीको वल्लो भंगालो छेउमा लगेर दैनिक फोहर फाल्ने गरिएको छ ।

स्थानीयहरुका अनुसार यहाँ अस्पतालजन्य फोहरका रुपमा क्युरेट गरिएका अन्य कारणले मरेका बच्चादेखि सालनाल, काटिएका मानव अंग, धारिला ब्लेड, प्याड लगायतका सामाग्रीहरूसमेत नदी किनारमा फाल्ने गरिएको छ ।

क्यान्सर अस्पताल बाहेकका चितवनका मेडिकल कलेज, सरकारी अस्पताल र नीजि अस्पतालहरुले दैनिक एक टन अस्पतालजन्य फोहर उत्सर्जन गर्ने गरेका छन् । ती फोहरलाई पनि महानगरपालिकाले अन्य फोहर जस्तैं गरी नदी किनारमा फाल्ने गरेको छ । भरतपुर महानगरमा दैंनिक ६५ टन फोहर निस्कन्छ ।

महानगरले अन्यत्र फोहर फाल्ने स्थान नै नभएका कारण नदी किनारमा फोहर फाल्नु वाध्यता भएको जनाउँदै आएको छ ।

धार्मिक हिसावलेसमेत पवित्र मानिएको नारायणी नदीमा बाध्यता भन्दैं फोहर फाल्दैं आएको वर्षौ वित्यो । तर, भरपर्दो विकल्पमा महानगरपालिका जान सकेको छैन ।

बल्ल महानगरपालिकाले फोहर व्यवस्थापनका लागि भन्दैं एक कोरियन संस्थासँग गत बिहीबार गुरूयोजना बनाउने सम्झौता गरेको छ ।

सम्झौता अनुसार गुरूयोजना बन्न १५ महिना अझैं लाग्ने छ । गुरूयोजना आएपछि व्यवस्थापनको लागि प्लान्ट निर्माण गर्न न्यूनत्तम २ देखि ३ वर्ष लाग्ने छ । यसको अर्थ अझैं झण्डै ४ वर्ष जति महानगरपालिकाले नारायणी नदी किनारमा नै शहरको फोहर लगेर थुपार्ने छ ।

नारायणी नदी किनारका जंगल बन्यजन्तुहरु विचरण गर्ने गर्दछन् । यहाँ दुर्लभ मानिएको एक सिङे गैंडा आउने गर्दछ ।

वडा नः ३ का वडाध्यक्ष चन्द्रमित्र पण्डितले महानगरले फोहर फाल्ने नगरवनको क्षेत्र वरपर गैंडा लगायतका जंगली जनावरहरू आउने गरेको बताए । ‘एकदिन त मेरो वडा कार्यालयमा नै आयो, यता डुलिरहन्छन्,’ वडाध्यक्ष पण्डितले भने, ‘पक्कै पनि महानगरले फालेको फोहरले ति जनावरहरुलाई असर गरेको छ ।’

भरतपुर महानगरको फोहर फाल्ने भन्दैं ल्याण्डफिल्ड साइट बनाउने चर्चा हुन थालेकै एक दशकभन्दा बढी भयो तर अझैंसम्म ठोस काम अघि बढेको देखिदैन ।

सरकारले भरतपुर महानगरपालिका वडा नः ११ को आँपटारीमा ल्याण्डफिल्ड साइट बनाउने भन्दैं जग्गा दिने निर्णय २०६८ सालमा नै गरेको हो । भरतपुरमा ल्यान्डफिल साइट बनाउन महानगरले करीव १५ बिघा जमिन पाएको छ ।

वनको जग्गामा भएका रुखहरूको फडानी गरी ल्याण्डफिल्ड साइट बनाउनुपर्ने र त्यसको स्थानमा वनको जग्गा सट्टा भर्ना गर्नुपर्ने व्यवस्था छ ।

जग्गाको खोजीमा नै महानगरपालिका भौतारीयो । बल्लबल्ल माडीको अमिलियामा जग्गा खरिद गरेको तत्कालिन भरतपुर उपमहानगरपालिका जग्गा खरिदको विषयमा विवादमा फस्यो ।

जग्गा खरिदमा बिचौलिया घुसाएर लाखौं रकम हिनामिना गरेको आरोप तत्कालिन कार्यकारी अधिकृत नारायण सापकोटालाई लाग्यो । न त अमिलियामा वृक्षरोपणको काम नै भयो, न त ल्याण्डफिल साइटको गुरूयोजना नै बन्यो ।

अहिले महानगर र निजी क्षेत्रको तत्परतामा भरतपुरको फोहोर संकलन गर्ने र नदी किनारमा थुपार्ने काम हुन्छ । भरतपुर महानगरको फोहर महानगरपालिका र महानगरले ठेक्कामा लगाएको नीजि क्षेत्र मिलेर उठाउने गरेका छन् ।

महानगरको वडा नः १ देखि ५ सम्म र वडा नः ७ देखि १२ नम्बर वडासम्मको फोहर निजी क्षेत्रले संकलन गरी नदी किनारमा फाल्ने गरेको छ ।

वडा नः १ देखि ७ सम्म ग्रीन नेपाल सिटी वेष्ट म्यानेजमेण्ट र ८ देखि १२ सम्मको वेष्ट म्यानेजमेण्ट कम्पनीले फोहर उठाउँदै आएका छन् ।

वडा नः ६ नम्बर र १३ देखि २९ नम्बर वडासम्मको फोहोर महानगर आफैंले व्यवस्थापन गर्छ भनिएको छ । तर, वडा नः २७, २८ र २९ मा अहिलेसम्म महानगर फोहर उठाउन पुगेको छैन ।

महानगरले वडा नः १३ देखि २६ सम्मका वडामा पाक्षिक वा मासिक रूपमा नकुहिने फोहर उठाउने गर्दछ ।

महानगरले फोहर उठाउने तथा व्यवस्थापनका लागि बाषिर्क एक करोड १५ लाख जति रकम खर्च गर्दै आएको इन्जिनियर बिराट घिमिरेले बताए ।

निजी क्षेत्रले घर घरमा पुगेर फोहरको शुल्क लिन्छ । उसले महिनाको १७ लाख रुपैयाँसम्म जनतासँग उठाउँछ । यसको ३० प्रतिशत रकम टोल विकास संस्थाले पाउँछन् ।

निजी क्षेत्रकोे फोहर उठाउने कम्पनीले पैसा अपुग भयो भनेर महानगरपालिकासँग मासिक ५ लाख रुपैयाँ थप लिने गरेको छ । फोहोर ओसार्न नीजि क्षेत्रका १९ वटा साधन प्रयोग हुँदै आएका छन् ।

महानगरका ४ वटा ट्याक्टर छन् । भरपर्दो र स्थायी ल्यान्डफिल साइट नबन्दासम्म यसरी नै फोहर फाल्नुपर्ने बाध्यता महानगरपालिकाको रहेको वातावरण शाखाका इन्जिनियर बिराट घिमिरेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment