Comments Add Comment

स्ट्रबेरीभित्र भटाभट सियो भेटिएपछि अष्ट्रेलियामा आतंक

२ असोज, काठमाडौं । स्ट्रबेरीभित्र सियो भेटिन थालेपछि अष्ट्रेलियामा आतंक फैलिएको छ । गत सातादेखि विभन्न राज्यमा स्ट्रबेरीभित्र सियो फेला पर्ने सिलसिला सुरु भएको हो ।

यसलाई ‘घातक अपराध’ को संज्ञा दिँदै सरकारले नाम चलेका केही ब्राण्डका स्ट्रबेरी बेचबिखनमा रोक लगायो र छानबिनको लागि प्रहरीलाई निर्देशन दियो ।

तर, प्रहरीले स्ट्रबेरीपछि केरा र स्याउमा पनि सियो फेला पारेको जनाएको छ । प्रहरीका अनुसार सिड्नीमा छुट्टाछुट्टै स्याउ र केरामा सियो भेटिएको हो ।

अष्ट्रेलियाका स्वास्थ्यमन्त्री ग्रेग हन्टले जनमानसमा उत्पन्न भएको त्रास हटाउन देशको खाद्य नियामक निकायलाई घटनाको बारेमा छानबीन गर्न निर्देशन दिएका छन् ।

गत सातादेखि अष्ट्रेलियाको ८ मध्ये ६ राज्यमा स्ट्रबेरीभित्र सियो भेटिएका थिए । प्रहरीका अनुसार न्यू साउथ वेल्स राज्यमा मात्रै २० भन्दा धेरै स्थानमा स्ट्रबेरीमा सियो भेटिएको घटना सार्वजनिक भएका छन् ।

सबैभन्दा पहिले क्विन्सल्याण्ड राज्यमा यस्तो घटना बाहिर आएको थियो । एकजनालाई स्ट्रबेरी खाँदा सियो अडि्कएपछि तुरुन्त अस्पतालमा लगिएको थियो ।

प्रहरी अधिकारीहरुले यस कार्यमा एक जनाको मात्रै संलग्नता छ कि गिरोह नै छ भनेर भनेर छानबिन गरिरहेको बताएका छन् ।

स्वास्थ्यकर्मीहरुले अष्ट्रेलियनहरुलाई स्ट्रबेरी काटेर मात्रै खान सुझाएका छन् । प्रहरीले यस कार्यमा संलग्नलाई १० वर्षसम्म जेलमा राखिने चेतावनी दिएको छ ।

स्ट्रबेरी उद्योगलाई धक्का

स्ट्रबेरी आतंक भिक्टोरिया, अष्ट्रेलियाको राजधानी क्षेत्र, दक्षिण अष्ट्रेलिया, तास्मानिया र पश्चिमी अष्ट्रेलियामा फैलिएको छ । बिभिन्न नाम चालेका ब्राण्डका स्ट्रबेरीहरु बजारबाट फिर्ता पठाइएका छन् भने न्यूजिल्याण्डका ठूला ग्रोसरीहरुले पनि अष्ट्रेलियामा उत्पादित स्ट्रबेरीहरु बेच्न बन्द गरेका छन् ।

लभ बेरी, डोनीब्रुक बेरीज, बेरी अब्सेसन, बेरी लिसियस, डिलाइटफुल स्ट्रबेरी र ओसिस ब्राण्डका स्ट्रबेरी बेचबिखनमा रोक लगाइएको छ । क्वीन्सल्याण्ड प्रहरीले स्ट्रबेरी उद्योगको जटिल आपूर्ति प्रणालीको कारण छानबिनमा ढिलाइ भइरहेको जनाएको छ । क्वीन्सल्यान्ड राज्य सरकारले भने अपराधीबारे जानकारी दिनेलाई १ लाख अष्ट्रेलियन डलर पुरस्कार दिने घोषणासमेत गरिसकेको छ ।

अष्ट्रेलियामा एकदमै रुचाइने फल स्ट्रबेरीको मुल्यमा भारी गिरावट आएको छ । कारोबार धेरै हुने समयमा यसरी स्ट्रबेरीको बजारै ध्वस्त हुँदा उत्पादकहरु मात्रै नभई हजारौं कामदारहरुलाई समेत असर गरेको संघीय सरकारले जनाएको छ ।

अष्ट्रेलियामा वार्षिक १३ करोड अष्ट्रेलियन डलर बराबरको स्ट्रबेरीको कारोबार हुने गर्छ ।

बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment