Comments Add Comment

प्रचण्डले किन भेटेनन् सी जिनपिङलाई ? यस्तो छ कारण

३ असोज, काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीन भ्रमण सकेर बुधबार राति स्वदेश फर्किंदै छन् । भारत भ्रमणबाट फर्किएलगत्तै प्रचण्ड गत भदौ ३० गते चीन गएका थिए ।

चीनतिर ढल्किएको भनिएको वर्तमान सरकार र सरकारको नेतृत्वकर्ता दल नेकपा अध्यक्ष प्रचण्डको चीन भ्रमणलाई चासोका साथ हेरिएको थियो । तर, चार दिनको चीन बसाइको क्रममा उनले चिनियाँ राष्ट्रपति, प्रधानमन्त्री लगायतलाई भेटेनन् । तर स्वदेश फर्किनु अघि उनले उपराष्ट्रपतिलाई भने भेटे । अहिले जिज्ञासा यो छ कि प्रचण्डले किन भेटेनन् चिनियाँ राष्ट्रपतिलाई ?

यसको जवाफमा प्रचण्डको सचिवालयले भने चीन जानुअघि नै भेट्ने कार्यक्रम नभएकाले नभेटेको जानकारी दिएको छ । प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा (जुगल)ले भने, ‘अध्यक्ष (प्रचण्ड) को भ्रमण तालिकामै राष्ट्रपति सीसँग भेट्ने कार्यक्रम थिएन, किनभने राष्ट्रपति सी विदेश भ्रमणमा हुनुहुन्थ्यो । उहाँसँग भेट नहुने संकेत हामीलाई पहिले नै थियो । यसमा अन्यथा अर्थ लगाउनु बेकार छ ।’

प्रचण्ड नेपालबाट चीन प्रस्थान गरेकै दिन राष्ट्रपति सी रुस भ्रमणमा गएका थिए ।

प्रचण्डका प्रेस सल्लाहकार सापकोटाका अनुसार प्रचण्ड चीनको नानजिङ्गमा आयोजित अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन चीन गएका थिए । सापकोटाले भने, ‘अध्यक्ष प्रचण्डको मुख्य कार्यक्रम नै अन्तर्राष्ट्रिय शान्ति दिवसमा सम्बोधन थियो । सम्बोधन गरेर फर्किँदै हुनुहुन्छ ।’

प्रचण्ड राति सवा १० बजे काठमाडौं आइपुग्ने उनले जानकारी दिए ।

चीन बसाइको क्रममा प्रचण्डले सन् १९४५ मा चीनको येनान प्रान्तमा सम्पन्न भएको चिनियाँ कम्युनिष्ट पार्टीको सातौं महाधिवेशन स्थलको अवलोकन गरेका थिए । उक्त महाधिवेशनले नै चिनियाँ क्रान्तिलाई विजयमा पुर्‍याउने ऐतिहासिक निर्णयहरु गरेको मानिन्छ ।

येनानमा चिनियाँ जनक्रान्तिका नायक माओले पहाड खोलेर बनाएको घरमा पनि प्रचण्ड पुगेका थिए । सो स्थानमा माओले प्रयोग गरेको कोठा, पुस्तक, टेबुल, पत्रपत्रिका आदिको अध्यक्ष प्रचण्डले अवलोकन गरे । चिनियाँ जनक्रान्तिको बेला माओका लालसेनाले जापानी सेनाका लगभग १ सय जनालाई नियन्त्रणमा लिई प्रशिक्षण दिएको स्थानमा पनि प्रचण्ड पुगेका थिए ।

चीन बसाइको क्रममा प्रचण्डले चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख, येनान नगरका सेक्रेटरी लगायतसँग भेटवार्ता पनि गरेका थिए ।

हेर्नुहोस् प्रचण्डको चीन भ्रमणको कार्यक्रम तालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment